back
NMB ad

पर्यटक आकषिर्त गर्नु पर्छ : कार्यकारी प्रमुख

Kumari bank ad

विनाशकारी भूकम्प, तराई आन्दोलन र भारतीय नाकाबन्दीले यतिबेला मुलुकको पर्यटन क्षेत्र तहस-नहस भएको छ । मुलुकको सुस्ताएको पर्यटन पुनरुत्थान गर्ने जिम्मेवारी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीको काँधमा आएको छ ।

भूकम्प र नाकाबन्दीपछि ८ लाखबाट घटेर ३ लाखमा खुम्चिएको पर्यटटक आगमन पूर्वावस्थामा कसरी फर्काउने ? यसमा जोशीको योजना छ, मुख्यतः भारतीय, चिनियाँ एवं एशियाली पर्यटकलाई आकषिर्त गर्ने अनि आइएसबाट डराएका युरोपेली पर्यटकलाई समेत नेपालतिरै तान्ने ।

सन् २००० देखि बोर्डमा अधिकृत तहबाट जागिर सुरु गरेका जोशीसँग पर्यटन क्षेत्रमा १५/१६ वर्षको अनुभव छ । पछिल्लो समय यो क्षेत्रमा देखिएका चुनौती, पर्यटन प्रवर्द्धनका ठोस योजनालगायतका विषयमा जोशीसँगको कुराकानी 

मुलुकको पर्यटन क्षेत्र तहस-नहस भएका बेलामा तपाई प्रमुख कार्यकारी अधिकृत बन्नुभएको छ । आफ्ना अगाडि के-कस्ता चुनौती देख्नुभएको छ ?

विनाशकारी भूकम्प, बन्द हडताल र आपूर्ति ठप्प भएपछि मुलुकको पर्यटन सुस्ताएको छ । सन् २०१५ मा ७० प्रतिशतले पर्यटक घट्ने अनुमान छ । पर्यटन क्षेत्रका लागि यो वर्ष सबैभन्दा निराशाजनक हुनेछ । अन्तर्राष्ट्रिय जगतमा नेपालबारे नकरात्मक सूचना प्रवाह भएको छ ।

सुस्ताएको पर्यटनलाई जीवन दिन मेरा अगाडि धेरै चुनौती छन्, जसलाई अवसरका रुपमा लिएर अगाडि बढ्छु । भूकम्प अगाडि करिव ८ लाखको हाराहारीमा पर्यटक आइरहेका थिए । एक्कासी भूकम्प आएपछि पर्यटक स्वात्तै घटेका छन् । यो वर्ष तीन लाख पर्यटक भित्रिने अनुमान छ । मैरो सबैभन्दा ठूलो चुनौती पर्यटकको संख्या पुनः ८ लाख पुर्‍याउनु हो । यो काम त्यति सजिलो छैन । किनभने विगत ३/४ वर्षदेखि देशको छवि अन्तर्राष्ट्रिय जगतमा धुमिलिएको छ ।

त्यस्तै सगरमाथामा भएको दुर्घटना, अन्नपूर्णमा आएको हुदहुद, पर्यटन बोर्डमा भएको बेथिति, क्यासिनोसम्बन्धी कचकच, उड्डयन क्षेत्रको कालोसूची, भूकम्प, बन्द-हडताल, आपूर्तिमा समस्या आदि कारणले नेपालको छवि बिगि्रएको छ । भूकम्पले नेपाल ध्वस्त भएको सन्देश पनि विश्वभर फैलिएको छ ।

भूकम्पपछि पनि नेपालका गन्तव्यहरु दूरुस्त र सुरक्षित रहेको सन्देश विश्वभर फिँजाई पर्यटकलाई आकषिर्त गर्नुपर्ने देखिएको छ । त्यसमाथि अहिले पर्यटन क्षेत्रसँग सरोकार राख्ने सबै पक्षको आत्मवल गिरेको छ । उनीहरुको गिरेको आत्मवल बढाउने र उत्साहित बनाउने मेरो अर्को चुनौती हो । निजी क्षेत्रलाई बोर्डमा अपनत्व दिलाउनु छ ।

बोर्डको धुमिलिएको छवि सुधार गर्दै कर्मचारीलाई प्रोत्साहित गरेर पर्यटन प्रवर्द्धनमा जागरुक गराउनुपर्ने मेरो दायित्व छ । यसका लागि सरोकारवाला सबैको सहयोगको अपेक्षा गरेको छु ।

पर्यटन पुनरुत्थानका लागि ठोस योजना चाँहि के-के छन् ?

पर्यटन प्रवर्द्धनको पहिलो स्टेप भनेकै बजारीकरण हो । हामीले पर्यटन पुनरुत्थान अर्थात कम्तिमा ८ लाख पर्यटक नपुग्दासम्म यसैमा जोड दिनुपर्छ ।

हामीले अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन सँगसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि जोड दिन्छौं । काठमाडौं उपत्यका, ट्रेकिङ र पर्वतारोहणका लागि विदेशी पर्यटक नै चाहिन्छन् । पोखरा, चितवन, लुम्विनी लगायतका क्षेत्रमा आन्तरिक पर्यटकले पनि केही भरथेग गर्छन् ।

हाम्रो रणनीति छिमेकी मुलुक भारत र चीनमा बढी केन्द्रित हुने छ । नेपालमा चीन र भारतबाट सबैभन्दा बढी पर्यटक भित्रिन्छन् । अन्य देशहरुमा पनि पोटेन्सियल मार्केट पहिचान गरी पर्यटन प्रवर्द्धन तथा बजारीकरण गर्छौं ।

सबैभन्दा पहिला अन्तर्राष्ट्रिय जगतमा नेपालको सकरात्मक सन्देश प्रवाह गरी पर्यटक आकषिर्त गर्ने मेरो योजना छ । किनभने हामीलाई तत्कालै ८ लाख पर्यटक पुर्‍याउनु छ । यो काममा निजी क्षेत्रलाई पनि उत्तिकै जिम्मेवार बनाएर अगाडि सार्ने छौं ।

मुलुकको सकारात्मक सन्देश प्रवाह गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने पर्यटन बोर्ड आफैं सिथिल र डिस्टर्व थियो । संस्थाको र देशको छवि सँगसँगै बोर्डको छवि बढाउने खालका कामहरु पनि गरिने छ ।

हामीलाई बजेटको पनि सीमा छ । प्राथमिकताका क्षेत्रहरु धेरै छन् । उपलब्ध स्रोत साधनलाई सिर्जनशील तथा रिजल्ट दिने काममा प्रयोग गरिनेछ । कम खर्चमा बढी रिजल्ट दिने खालका कार्यक्रम अगाडि बढाउने मेरो योजना छ । हामीले तुरुन्तै केही देखिने गरी कामहरु गर्छौं ।

Deepak-Raj-Joshi_2
प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी, नेपाल पर्यटन बोर्ड

नेपालमा सबैभन्दा बढी आउने पर्यटक भारतीय हुन् । तर, यतिबेला नेपाल र भारतबीचको सम्बन्ध चिसिएको छ नि ?

नेपाल र भारतबीचको राजनीतिक समस्या सुल्झिनासाथ अहिलेको तीतोपन बिर्सिन्छ । दुई देशका जनता राजनीतिबाट जोडिएका होइनन्, परावपूर्वकालदेखि नै हामी आपसमा एकदमै नजिक रहेका छौं ।

भारत र नेपालबीच सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, धार्मिक सम्बन्ध रहेको छ । मलाई विश्वास छ, अहिलेको टकराव धेरै लम्बिने छैन । समस्या समाधान भएपछि भारतीय नागरिकलाई नेपाल भ्रमणका लागि उत्साहित बनाउन सकिन्छ ।

भारत आर्थिकरुपमा सम्पन्न हुँदै गइरहेको छ । त्यहाँबाट ठूलो संख्यामा मानिसहरु विदेश भ्रमणमा जान्छन् । नेपालको भारतका केही ठूला शहरमा सीधा हवाई सम्पर्क रहेको छ । त्यहाँ बस्ने मानिसहरु आर्थिक र करियरमा बढी ध्यान दिन्छन् । उनीहरु राजनीतिसँग खासै सरोकार राख्दैनन् । मलाई लाग्छ, अहिले देखिएको राजनीतिक समस्याले उनीहरुलाई खासै प्रभावित बनाएको छैन ।हामीले आकर्षक प्याकेज बनाएर भारतीय नागरिकलाई नेपाल भ्रमणमा आकषिर्त गर्नुपर्छ ।

चीन र भारतको अलवा नेपालमा कुन-कुन देशबाट बढी पर्यटक भित्र्याउन सकिन्छ ?

नेपालमा दक्षिणपूर्वी एशियाली देशहरु, जस्तै- सिंगापुर, मलेसिया, थाइल्यान्ड, जापानलगायतका मुलुकबाट धेरै पर्यटक भित्राउन सकिन्छ । रसिया, कोरिया, अष्ट्रेलिया र अमेरिकनहरुले पनि नेपाललाई खुब मन पराउँछन् ।

रसियाका नागरिकहरु सबैभन्दा बढी टर्कीतिर घुम्न जान्छन् । तर, पछिल्लो समय दुई देशबीच देखिएको चिसोपनका कारण रसियालीहरु टर्की घुम्न जान डराइरहेका छन् । उनीहरुलाई नेपाल भ्रमणमा ल्याउन सकिन्छ ।

ठूलो संख्यामा पर्यटक युरोपेली मुलुकमा भ्रमण गर्न जान्छन् । फ्रान्समा भएको इस्लामिक स्टेट (आइएस)को हमलापछि मानिसहरु युरोप जान डराइरहेका छन् । युरोप भ्रमणमा जान डराइरहेका पर्यटकलाई नेपाल उत्कृष्ट विकल्प बन्न सक्छ । हामीले यस्ता मुलुकहरु पहिचान गरी आकर्षक प्याकेज दिएर पर्यटक आकषिर्त गर्नुपर्छ ।

तपाई लामो समयदेखि पर्यटन बोर्डमा कार्यरत हुनुहुन्छ । हामीले विगतमा के-कति कमजोरीका कारण ठूलो संख्यामा पर्यटक भित्र्याउन चुकेका थियौं ?

पर्यटनको विकासभन्दा पनि बजारमा कतिसम्म बिक्री गर्न सकिन्छ भन्ने मुख्य हुन आउँछ । पर्यटनमा बिक्री गर्ने कला एकदमै महत्वपूर्ण हुन्छ । यसअघि हामी सिर्जनशील पर्यटन प्रवर्द्धनमा चुकेका थियौं । हामी पर्यटनमा अब्बल हुँदाहुँदै पनि बजारीकरणको अभावले धेरै पर्यटक भित्राउन सकेनौं ।

अर्को समस्याल एउटामात्र अन्तर्राष्ट्रिय एयरपोर्ट हुनु हो । एयरपोर्टको सीमितताका कारण फ्लाइटहरु बढाउन सकेका छैनौं । भैरहवा एयरपोर्ट २०१८ मा सञ्चालन हुने भएपछि उत्साह थपिएको छ ।

सार्वजनिक निजी साझेदारी भएन भने पनि अपेक्षित उपलब्धी हासिल गर्न सकिँदैन । हिजोका दिनमा सरकार निजी क्षेत्र टाढिएका थिए । अबका दिनमा निजी क्षेत्र र सरकारबीच सहकार्य हुनेछ । सबैको पहुम्चलाई परिचालन गर्‍यो भने रिजल्ट राम्रो आउने हो । हामी त्यसैमा केन्द्रित हुन्छौं । त्यही हाम्रो मूल मन्त्र हो ।

तपाईको कार्यकालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलबाट गठित पयर्टन बोर्डमा निजी क्षेत्रले अपनत्व महशुस गर्न पाउनेछन् त ?

नेपालमा व्यवसायिकरुपमा पर्यटकीय गतिविधि सुरु भएको ५०/६० वर्ष भइसक्यो । मुलुकको पर्यटन प्रवर्द्धन तथा सञ्चालनमा निजी क्षेत्र नै अगाडि रहेको छ । निजी क्षेत्रलाई नै नेतृत्व दिने गरी सरकारले १६/१७ वर्ष अगाडि पर्यटन बोर्ड गठन गरेको हो ।

हामीले विभाजित भएर प्रवर्द्धनका कामहरु गर्न सक्दैनौं । हामी एकतावद्ध भएर अगाडि बढ्नु जरुरी छ । निजी क्षेत्रसँग कार्यगत एकता गरेर अगाडि बढ्छौं ।

सरकारले नीतिगत सुधार, लाइसेन्सिङ र मोनिटरिङ गर्ने हो । पर्यटकीय सेवा प्रदान गर्ने निजी क्षेत्रले हो । बोर्डले पर्यटकीय गन्तव्य र प्रोडक्टहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरेर धेरै पर्यटक भित्राउन भूमिका खेल्नुपर्छ । एकले अर्काका खुबीहरुलाई शीरोधार्य गरेर अगाडि बढेमा हामी गन्तव्यमा पुग्न सक्छौं । मेरो जोड पनि यसैमा हुनेछ ।

निजी क्षेत्रको प्रवर्द्धनमा बोर्डको भूमिका के रहन्छ ?

मुलुकमा पर्यटक भित्राउन निजी क्षेत्रलाई उत्साहित गर्नु एकदमै जरुरी छ । निजी क्षेत्रले बजार बुझेको छ । निजी क्षेत्रलाई थाहा छ कसरी पर्यटक भित्राउन सकिन्छ । बोर्डले निजी क्षेत्रको आइडिया लिएर काम गर्नेछ । निजी क्षेत्रलाई उत्साहित बनाएर पर्यटन प्रवर्द्धन तथा बजारीकरणमा सहभागी गराइनेछ ।

निजी क्षेत्रले तयार पारेका पर्यटकीय प्रोडक्टहरुको अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने काम पनि बोर्डको हो । यो निजी क्षेत्रको प्रोडक्ट हो, उसले नै प्रवर्द्धनको काम गर्नुपर्छ हामी भन्दैनौं । पर्यटन क्षेत्र सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने र विदेशी मुद्रा भित्राउने हुँदा निजी क्षेत्रलाई सरकारले सहयोग गर्नैपर्छ ।



Deepak-Raj-Joshiतीन लाखमा झरेको पर्यटकको संख्या ८ लाख पुर्‍याउन कति समय लाग्ला ?

मैले पर्यटन प्रवर्द्धनका लागि चारवटा रणनीति बनाउँछु । सन् २०१६ लाई ‘इयर्स अफ सर्भाइभल’ भनेको छु । सबैभन्दा पहिला मुलुकको पर्यटन बचाउनुपर्छ ।

सन् २०१७ लाई ‘एयर अफ रिभाइभल’ भनेको छु । त्यो वर्ष हामीले पुनरुत्थानका कामहरु गर्छौं ।

सन् २०१८ लाई रि-इन-रिग्रेसन भनेको छु । पुराना चिजलाई कसरी नयाँ बनाउने भन्नेमा हामी लाग्छौं । अन्तिम वर्ष २०१९ लाई ‘बिल्डिङ ब्याक बेटर’ वर्षका रुपमा मनाउने योजना छ ।

हामीले मेगा क्याम्पियन गरेर अन्तर्राष्ट्रिय मार्केटमा प्रस्तुत भयौं भने धेरै पर्यटक भित्राउन सकिन्छ । सेकुरिटी थ्रेट भएका युरोपेली मुलुक र टर्कीतिर घुम्न जाने पर्यटकलाई आकर्षक प्याकेज बनाएर नेपाल तान्न सकिन्छ । नेपालमा जनयुद्ध होस् वा बन्द हडताल, पर्यटकलाई डाइरेक्ट हिट हुनेगरी प्रहार भएको छैन । निजी क्षेत्र र बोर्ड आपसमा मिलेर अगाडि बढ्यौं भने छिट्टै आठ लाख पर्यटक पुर्‍याउन सकिन्छ ।

यसरी काम गर्न सकियो भने ३ देखि ६ महिनामा केही नतिजा हासिल गर्न सकिन्छ । पर्यटन प्रवर्द्धनका लागि शान्तिपूर्ण वातावरण आवश्यक हुन्छ । जहाँ शान्ति हुन्छ, त्यहाँ पर्यटन फस्टाउँछ । हामी शान्तिपूर्ण वातावरण तयार पार्न कोशिस गर्छौं ।

नेपालमा राजनीतिक दलहरुबाट धेरै बन्द हडताल हुन्छ । बन्द हडतालमा पर्यटक कसरी सुरक्षित महशुस गरेर भ्रमणमा आउलान् ? तपाईले दलहरुलाई कसरी जिम्मेवार बनाउनुहुन्छ ?

हामीसँग सन् २०११ को अनुभव छ । भर्खरैमात्र युद्ध सकिएको थियो । तर, बन्द हडताल निकै धेरै हुन्थ्यो । त्यतिबेला २०/२२ दलका मुख्य नेताहरुलाई एकै ठाउँमा राखेर कम्तिमा २०११ मा बन्द हडताल नगर्ने प्रतिवद्धता जनाउन आग्रह गर्‍यौं । त्यसपछि बन्द हडताल स्वात्तै घट्यो पनि ।

कतिपय बेलामा राजनीतिक दलहरुलाई पनि सम्झाउनुपर्ने हुन्छ । किनभने बन्द हडतालको पार्ने दीर्घकालीन असरबारे उहाँहरुलाई थाहा नहुन सक्छ । हाम्रो सबैभन्दा सवल पक्ष के छ भने जनयुद्धमा होस वा बन्द हडतालमा पर्यटकलाई प्रत्यक्ष असर पर्नेगरी प्रहार भएको छैन । हाम्रो सबैभन्दा ठूलो सबल पक्ष यही हो ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रवर्द्धन कसरी गर्नुहुन्छ ?

हामीले यसभन्दा अगाडि परम्परागत मिडियाबाट प्रवर्द्धनको काम गथ्र्यौं । अहिले परम्परागत मिडियाजस्तै सामाजिक सञ्जाल पनि महत्वपूर्ण भएका छन् । सामाजिक मिडिया कम लागतमा बढी प्रभावशाली देखिएका छन् । त्यता पनि हामी केन्द्रित हुन्छौं ।

अहिले गैरआवासीय नेपाली संघ (एनआरएन)को ठूलो सञ्जाल बनिसकेको छ । ७० देशमा एनआरएनको शाखा छ । हामीले एनआरएनसँग सहकार्य गरेर पर्यटन प्रवर्द्धनका कामहरु गर्छौं । त्यसैगरी एम्बेसीहरु, नेपाललाई सहयोग र माया गर्ने ठूला विदेशी संघ संस्थाहरुलाई पनि नेपालको पर्यटन प्रवर्द्धनमा क्रियाशील बनाउँछौं ।

प्याकेज पनि बनाउनुपर्ने होला नि ?

पर्यटक आकषिर्त गर्नेखालको प्याकेजहरु बनाउने व्यवसायीले हो । सरकारले पनि केही सहुलियत दिन सक्छ । हामीसँग अफ सिजन र अन सिजन हुन्छ । अफ सिजनमा बिजनेश कम हुन्छ । सिजनमा ५ सय डलरमा बेचेका होटलमा रुमहरु त्यतिबेला ७०/७५ डलरमा बेचिरहेका हुन्छन् ।

हामीले अफ सिजनमा ५० प्रतिशतको डिस्काउन्ट प्याकेज बनाएर अन्तर्राष्ट्रिय बजारमा जान सक्छौं नि । उहाँहरुले आखिर डिस्काउन्ट दिने नै हो, यसलाई बजारीकरणको माध्यम बनाउन सकिन्छ । यस्ता कुरामा हामीले विशेष ध्यान दिनुपर्छ । केही कुरा व्यवसायीलाई पनि सिकाउनुपर्ने देखिन्छ ।

पर्यटन बोर्डलाई भ्रष्टचारको अखडा भनेर चिनिन्छ नी ?

पर्यटन बोर्डमा मैले पारदर्शिता, प्रतिस्पर्धा र रिजल ओरिन्टेड भएर काम गर्छु । अहिले मुलुकको पर्यटन अत्यन्तै संकटमा छ । कर्मचारीमा जागिरको हिसाबले मात्र होइन, देशका लागि पनि केही योगदान गर्नुपर्छ भन्ने भावनाको विकास गराउँछु । भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्दै अगाडि बढ्ने हो । इमान्दार भएर काम गरेमा संस्थाको छवि सुधार गर्न सकिन्छ ।

पर्यटन प्रवर्द्धन गर्ने बोर्डको हाम्रो टीमले हो । यदि टीम बलियो भएन भने अपेक्षित नतिजा हासिल गर्न सकिँदैन । बोर्डमा ८/९ वर्ष भयो कर्मचारी नराखेको । बजारमा भएका सिर्जनशील युवा तथा विज्ञहरुलाई यहाँ ल्याउन जरुरी छ ।

अहिले नेपालमा भित्रिने पर्यटकको तथ्यांक संकलन पनि हुन छाडेको छ । तपाईको कार्यकालमा पर्यटकको डाटा संकलन गर्ने काम सुरु हुन्छ त ?

पहिला अध्यागमन विभागले तथ्यांक संकलन गथ्र्यो । अहिले हुन सकेको छैन । यो महत्वपूर्ण काम हो । अर्को कुरा, नेपाल आउने टुरिष्ट किन आएका छन, कति सन्तुष्ट भएका छन्, के मन पराएका छन, के मन पराएका छैनन् भन्नेखालको अध्ययन पनि हुन सकेको छैन ।

हामीले पर्यटकको फिडब्याक लिएर पर्यटकीय प्रोडक्टहरु तयार गर्नुपर्छ । नेपाली पर्यटनमा अध्ययनको ठूलो खाँचो देखिएको छ । हामीसँग भएका प्रोडक्टहरु पनि प्रवर्द्धन भएका छैनन । सिमित ठाउँमा पर्यटकीय गतिविधि हुन्छन्, त्यसलाई विकेन्द्रीकरण गर्नुपर्छ ।

कसरी विकेन्द्रीकरण गर्नुहुन्छ ?

हामी पर्यटकलाई गाउँ-गाउँसम्म त पुर्‍याउन सक्दैनौं । तर, जहाँ सम्भावना छ, जहाँ लाभ हुन्छ, त्यहाँ पर्यटक पुर्‍याउनुपर्छ । मैले यस्तो सोच बनाएको छु ।

शुक्लाफाँटा र बर्दियाबाट दिल्ली ६/७ घण्टाको बाटो हो । दिल्लीमा धेरै देशका मानिसहरु बस्छन्, त्यहाँको आफ्नै जनसंख्या समेत २ करोडको हाराहारीमा छ । पश्चिमका लागि त्यो ठूलो मार्केट हुन सक्छ । पश्चिमलाई दिल्लीसँग कनेक्ट गरिदिनुपर्छ ।

पूर्वलाई कोलकाता तथा अन्य शहरसँग सम्पर्क गराइदिन सकियो भने हाम्रोमा धेरै पर्यटक भित्रिन्छन् । यसतर्फ हामीले अहिलेसम्म ध्यान दिन सकिएको छैन ।

स्रोत : अनलाइनखबर

वि.सं.२०७२ माघ ४ सोमवार ०२:०३ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...