back
NMB ad

जुठा भाँडा माझेर शिक्षा कमाएका मोहन करोडको मालिक यसरी बने !

Kumari bank ad

मोहन कटुवाल, संस्थापक अध्यक्ष, ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल

मेहनत गर्नुपर्छ र इमान्दारिताका साथ जीवनमा अगाडि बढियो भने सफल भईन्छ भन्ने मान्यता बोकेका मोहन कटुवालको जन्म २०२३ भदौ २३ गते झापामा भएको हो । उनको बाल्यकाल साह्रै दुःखदायी थियो । दुःखको कुरा उनी ६ वर्षको हुँदा उनको आमाको निधन भयो । त्यससँगै उनका बुबा पनि बिरामी परे । एक जना भाई र एक बहिनीको स्याहार सुसार सहित जानेर वा नजानेरै ६ वर्षको कलिलो उमेरदेखि नै उनले घर व्यवहारलाई सम्म्हाल्नुपर्यो । उनका बुबा एक प्रशिक्षण केन्द्रको सामान्य जागिरे थिए । त्यहि बुबाको जागीरबाट पढ्ने र घर व्यवहार धान्न सहयोग पुग्दथ्यो । तर बुबाको सामान्य जागीरले उनीहरुको घर चलाउन साह्रै मुश्किल थियो ।

अरुको घरमा जुठा भाँडा माझेर पढें

मैले बाल्यकालमा निकै संघर्ष गरें । पढाईकोक्रममा अन्य बिद्यार्थीहरुलाई ट्युसन पढाएं । पढ्नै पर्छ भनेपछि अरुको घरमा गाईबस्तु हेर्न पनि हिंडे । यतिसम्म कि कसैको घरमा खाना बनाईदिएर, जुठा भाँडा माझेर पढ्ने गर्दथें । म खाना बनाईदिएर स्कूल जान्थें । त्यो घरका मानिसले खाना खाएर बाहिरतिर कतै जाने गर्दथे । अनि स्कूलबाट फर्केपछि ती बिहानका सबै जुठा भाँडा माझेर खाना बनाउने लगायत घरको सबै काम सकिन्थ्यो । अनि रात साँझ गरेर दुःखका साथ पढाइलाई अगाडि बढाउँथें ।

जागीरका लागि काठमाडौको यात्रा

स्कूले जीवन झापामै सक्काएपछि पाटन कलेज हुँदै आरआर क्याम्पसबाट बिए सम्मको अध्ययन सक्काएको छु । २०४२ सालमा झापाबाट एसएलसी सकेर जागीर खान भन्दै पहिलोपटक काठमाडौ आएको थिएं । त्यतिबेला सिन्धुपाल्चोकमा शिक्षकका लागि विज्ञापन खुलेको छ भनेर काठमाडौसम्म आईपुगें तर पनि त्यस स्थानसम्म पुग्ने बाटो खराब छ, अप्ठ्यारो छ र पहिरो गईरहन्छ भन्ने सुनेपछि काठमाडौमा नै रोक्किएं ।

बिहान कलेज पढ्ने, दिउँसो ग्रीलको काम र बाथरुमको धारा बनाउथें

त्यसपछि पाटनमा ग्रील एवं स्टिल सम्बन्धी काम र बाथरुमका धाराहरु बनाउने सम्बन्धी काम सिकें । बिहान–बिहान कलेज पढ्दथें,  दिउँसो ग्रीलको काम गर्दथें ।

काठमाडौ पुग्छु भन्ने कल्पनामै थिएन

हरेस खानुहुँदैन, मेहनतमा विश्वास गर्नुपर्छ, इमान्दारिता छोड्नुभएन, यसो गरियो भने लक्ष्य अवश्य नै प्राप्त हुन्छ भन्ने सँधै सोच्दथें । मैले काठमाडौसम्म आउने कल्पना पनि गरेको थिईन । म २०३८ सालमा सोच्दथें कि जीवनमा कुनैदिन काठमाडौ पुग्न सकिन्छ कि सकिन्न ? मेरा साथीहरुले अझैपनि मलाई काठमाडौ जान पाउँछु कि पाउँदिन भन्ने मानिस अहिले काठमाडौमा सम्पन्न भएर बसेको छन् भनेर जिस्याउँछन् ।

चाहेर पनि जीवनमा जागीर खान पाईन

म अहिले खुसी छु । काठमाडौ देख्छु कि देख्दिन भनेको ठाउँमा एउटा कर्म गरेर जिम्मेवारी निर्वाह गरिरहेको छु । व्यवसायबाट सन्तुष्ट छु । जीवनमा जागीर खान पाईन भन्ने मनमा रहिरह्यो । मेरा साथीहरु मन्त्रालयका सहसचिवसम्म भईसकेका छन् । साथीहरुले जागीरभन्दा आफ्न्नो व्यवसाय गरेको ठिक छ भन्दा मलाई सुखी लाग्दछ । तर जागीर खान काठमाडौ आएको मानिसले ज्यालादारी काम त गरें  । तापनि एउटा जागीर पनि खान नसक्दा भने सँधै खल्लो लाग्दछ ।

ग्रीलमा लागेको २५ वर्ष

अब २ वर्ष काम गर्छु भन्दा भन्दै अहिले करिब २५ वर्ष भयो ग्रीलमा काम गरेको पेशा परिवर्तन गरिएन । खुसी कहाँ छु भने मैले त्यस्ता मानिसलाई काम सिकाएं जो पढ्न पनि सकेनन्, कहिँपनि काम पाउँदैनथे । त्यस्ता मानिसहरु अहिले एक करोडभन्दा बढिको घरहरु बनाएर बसेका छन् । बच्चाहरु पढाएका छन्  । उनीहरु जहिले पनि म सँग खुसी साट्छन् । त्यसमा म सबैभन्दा खुसी बन्छु । यो दौरानमा आफ्नो जीवन जति कष्टकर बनेपनि आफ्ना बच्चाहरुलाइ भने असल संस्कार र शिक्षा दिनुपर्ने रहेछ भन्ने सिकेको छु ।

जापानीज कुल्लीले सिकायो, काम गर्दा कुल्ली र बाहिर हिंड्दा बाबुसाहेव !

तीस वर्ष पहिले म जापानीजहसँग बस्दथें । म जापानीजलाई नेपाली सिकाउँथें भने जापानीजहरु मलाई जापानीज भाषा सिकाउँथे । त्यतिबेला जापानीजले गरेको कुल्ली काम र उनीहरुको मेहनत देखेर नै काम सानो ठूलो हुन्न रहेछ भन्ने लाग्दथ्यो । र काम गर्दा कुल्ली बन्नुपर्ने रहेछ, अरु बेला बाबुसाहेब बनेर हिंड्नुपर्ने रहेछ भन्ने पनि लाग्दथ्यो ।

छामेर आँखाबाट आँसु झार्दै वेल्डिङ गर्दथें र कलेज पढ्दथें

समयक्रमसँगै मेरो बुबा काठमाडौ, किर्तिपुरमा रिकाष्ट सर्भिसमा सरुवा हुनुभयो । किर्तिपुरमा एकजना रिकाष्टको ड्राइभर र मेरो बुबाले संयुक्तरुपमा एउटा कोठा भाडा तिरेर हामी बस्ने गर्दथ्यौं । म भने खाना बनाएर हिँडेर पाटन कलेज पढ्न आउँथें । कलेजको पढाइ सक्काएर दिनभर वेल्डिङको काम गर्दथें । तर दुःखको कुरा वेल्डिङ गर्दा आँखा रातो हुन्थ्यो । म छामेर आँसु झार्दै वेल्डिङ गर्न हिड्नेगर्थें ।

Mohal Katuwal,Greel (2)

ढलान फोड्दा धेरैचोटी धुरुधुरु रोएको छु

त्यस्तै ढलान फोड्नुपर्ने हुन्थ्यो । ढलान फोड्दा छिनोले धेरैचोटी हातमा हिर्काएको छ । सुन्निएर हात धेरै ठूलो हुन्थ्यो । काम गर्दाखेरी मेरो भाग्य नै यस्तो भनेर चित्त बुझाउँथे । यसक्रममा म धेरैचोटी धुरुधुरु रोएको छु । घनले छिनामा हान्दा चिप्लेर हातमा लाग्दथ्यो । हातमा फोका फोका हुन्थ्यो । कैयौं पटक त्यस्तो भयो । तर के गर्ने आवश्यकताले काम गर्नै पर्दथ्यो ।

घन ठोकेर पढें

मैले घन ठोकेरै पढें । महिनाको १ सय पचास रुपैंया देखि काम गरें । ३५० रुपैंया तलब पुग्यो र आवेशमा आएर काम छोडे । त्यतिबेला बिरामी पर्दासमेत साहूले आफूलाई किन काममा नआएको भनेर तथानाम गाली गरेपछि अरुको काम छोडेर  ग्रील व्यवसायतर्फ लागें । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट बाथरुमको धारा बनाउँदै ठेकेदारसँग ज्यालामा काम गर्दै पछि लागेको दिनलाई सम्झिएँ र अरुको प्रेरणासँगै व्यवसायलाई अगाडि बढाएँ ।
 
दुःख सँगै सहानुभूति पाएँ

काम गर्ने क्रममा काठमाडौ, बागबजारमा सेतेकाजी तन्डुकारलाई भेटें । उनले पढ्दै, काम गर्दै गरेको देखेपछि मलाई माया गरेर दुःख सँगै सहानुभूति र माया दिए । सेतेकाजी एक ठेकेदार थिए । उनले तिमीले काम गरेको रकम कटाएर म मेसिन दिन्छु व्यवसाय गर भनेपछि म व्यवसायको चक्करमा अगाडि बढें ।

५ सय ऋण सापट लिएर व्यवसाय सुरु गरें

सुरुमा ५ सय रुपैंया सापट लिएर ग्रील व्यवसाय सुरु गरेको हुँ । एक रुपैंया पनि पैतृक सम्पति प्रायोग गरेको छैन । त्यतिबेला तन्डुकारकोमा काम गरेर मेसिनको पैसा कटाएर ७० हजार रकम पनि हात पारें । र उनैको मेसिन लिएर २०४५ सालबाट व्यवसाय अगाडि बढाएँ ।  त्यतिखेर म कलेज पढ्दै थिएं । यता बुबाको सर्भिस पनि सक्कियो । बुबाले पनि उद्योगमा सहयोग गरिदिनुभयो । मैले हिम्मत हारिन । मेरो हातमा शिप थियो । ऋणसापटीसँगै व्यवसाय अगाडि बढाउँदै गएँ । भाँडा माझेर पढाई सुरु गरेको भएपनि निरन्तरको संघर्ष र मेहनतको फल म एक उद्यमी बन्न सकें जस्तो लाग्छ ।
Mohal Katuwal,Greel (1)

सन्ततीलाई सम्पति भन्दा पनि शिक्षा र संस्कार

अहिले म बाट काम सिकेर ४ सय भन्दा बढि मानिस बाहिरिसकेका छन् । कतिले उद्योग खोलेका छन् । यसक्रममा मैले बिएसम्मको अध्ययन सक्काएँ । श्रीमती र बच्चा बच्चीलाई राम्रो शिक्षा र संस्कार सिकाएँ । छोरी पिएचडी गर्दैछिन्, छोरा चार्टड एकाउन्टेन्ट भए । सन्ततीलाई सम्पति भन्दापनि शिक्षा र संस्कार राम्रो दियो भने पछि उनीहरुलाई सजिलो हुन्छ भन्ने लाग्दथ्यो । त्यहि हिसाबले पढाए ।

लाखौंको कारोबार गर्दछु

अहिले मैले वार्षिक ५० लाखभन्दा बढिको कारोबार गरिरहेको छु । विभिन्न ठाउँमा लगानी गरेको छु । ८/१० वर्ष यता मेरो जिम्मेवारी पनि थपियो । म ग्रील तथा स्टिल व्यवसायी महासंघ नेपालको जिम्मेवारीमा छु । २०६२ साल जेठ दुई गते कोटेश्वरमा ग्रील इकाई समितिबाट संयोजकमा प्रवेश गरेसँगै ग्रील व्यवसायी संस्था नेपालको सचिव र त्यसको ६ महिना भित्रमै अध्यक्ष बनेर काम गरें । अहिले महासंघको संजाल ५४ जिल्लामा विस्तार भएको छ । २०० जना सदस्य बढेर ६ हजार नाघिसकेका छन् । म महासंघको संस्थापक अध्यक्ष हुँदै हाल कार्यरत नै छु ।

५०० सापटीबाट बाट सुरु गरेको व्यवसाय अहिले करोडमा !

म सँग घर, मोटर छ । मैले आफ्नो व्यवसायबाट धेरैलाई रोजगारी दिएर खुसी दिन सकें । धेरैले उन्नती गरेका छन् । सबैले घर बनाएका छन् । बच्चा बच्चीलाई शिक्षा दिएका छन् । धेरै व्यवसायीलाई ग्रील क्षेत्रका बारेमा सिकाएँ आफुले पनि अरुबाट धेरै सिकें । अहिले नेपाल चेम्बर अफ कमर्सको राजश्व समितिको सह सभापति, घरेलु तथा साना उद्योग महासंघको वस्तुगत उपाध्यक्ष, ग्रील महासंघ र विभिन्न सहकारीहरुमा आबद्ध छु ।

Mohal Katuwal,Greel (3)

महत्वकाँक्षी व्यक्ति बन्ने होईन तर राम्रो काम गर्न महत्वकाँक्षी बनौं

अन्त्यमा सबैलाई शिप सिकेर लगनशील र इमान्दार ढंगले काम गरौं काममा सफल भईन्छ भन्न चाहन्छु । मेहनतमा विश्वास गरौं । महत्वकाँक्षी व्यक्ति बन्ने होईन तर राम्रो काम गर्न महत्वकाँक्षी बनौं भन्न चाहन्छु ।

(अर्थतन्त्रका लागि हरिशरण न्यौपानेसँगको कुराकानीमा आधारित)

प्रकाशित मितिः २०७३ कार्तिक १०

वि.सं.२०७३ कात्तिक १० बुधवार १६:३१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...