काठमाण्डौं । नेपाल टेलिकमले प्रिपेड मोवाइलका ग्राहकलाई ‘क्रेडिट ब्यालेन्स’को सुविधा दिने भएको छ। टेलिकमले केही दिनभित्रै यो सुविधा ल्याउने जानकारी दिएको छ। ब्यालेन्स सकिएपछि तत्कालका लागि १० रुपैयाँसम्म ‘क्रेडिट ब्यालेन्स’ लिन सकिन्छ ।
पोखरा उपमहानगरपालिका–१८ स्थित छिनेडाँडामा नेपाल टेलिकमको एमएसएजी एक्सचेञ्ज सेवाको उद्घाटनको अवसरमा टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले यो जानकारी दिएकी हुन्। ग्राहकले ‘ब्यालेन्स’ हालेपछि ‘क्रेडिट’ रकम टेलिकमको सिस्टमले आफै काट्छ । यस अनुसार आपतकालीन अवस्थामा कसैसँग सम्पर्क गर्नुपरेमा सहज होस भनेर पाँचदेखि १० रुपैयाँसम्म उधारोमा लिन सकिन्छ । साथै, टेलिकमले कलर रिङव्याक टोन ९सिआरविटी० सेवालाई पनि सुचारु गर्ने भएकोछ ।
कार्यक्रममा संचभार मन्त्री राम कार्कीले नेपाललाई डिजिटल बनाउने कामको सुरुवात पोखराबाट गरिने बताए । पोखरालाई फ्री वाइफाई जोन बनाइने भएको छ। सांसद रविन्द्र अधिकारीले राखेको पोखरालाई फ्री वाइफाई जोन बनाउनुपर्ने प्रस्तावमा उनले यो धारणा राखेका हुन् । पोखराका स्थानीय, सरकार तथा टेलिकमले लगानीको खाँका बनाएर अघि बढ्नुपर्ने अधिकारीले बताए। उनले पोखराका जनताले फ्री वाइफाई जोनका लागि १० देखि १५ प्रतिशत लगानी गर्न सक्ने बताए।
२५ पुस २०७३, ११।००
वि.सं.२०७३ पुस २५ सोमवार ११:४९ मा प्रकाशित