Logo

अष्ट्रेलियाबाट नेपाल घुम्न जाने र फर्कनेलाई फ्रीमा नेपाली खाना खुवाउँछु

प्रस्तुत छ, अष्ट्रेलियाका लागि अवैतनिक पर्यटनदुत नील थपलिया र अर्थतन्त्रका प्रधान सम्पादक रामेश्वर कार्कीबीच भएको संवादको सम्पादित अंश :

यहाँको परिचय ?

मेरो नाम नील थपलिया । जन्म चितवनको भन्डारा । भन्डारा माध्यमिक विद्यालयबाट १० कक्षासम्मको अध्ययन । म गाउँको मध्यम वर्गिय परिवारमा हुर्र्किएको मान्छे हुँ । एक साधारण किसानको छोरो, घरायसी काम गर्दै हुर्किएँ । जब कलेज जाने बेला आयो तब पढ्नको लागि देश बाहिर जाने परम्परा बसेका थियो चितवन जिल्लामा ।

पढाइकै शिलसिलामा सन् १९९८ मा सिंगापुर गएँ । ३ वर्ष फुड एण्ड वेभरेज अध्ययन गरेर नेपाल फर्किएर काठमाडौंको पुतली सडकमा सिङगापुरबाटै आएका केही साथीभाईहरु मिलेर एउटा रेस्टुरेन्ट खोलेँ । ४-५ महिना ब्यापार राम्रै चल्यो । त्यस बेला मुलुकमा चर्किएको द्वन्दले माहोल राम्रो लागेन र बेलायत गएँ । २००८ सम्म ७ वर्ष बेलायत बसेँ । २००८ मै विवाह गरेर डिपेन्डेन्ट भिषामा विद्यार्थीको रुपमा अष्ट्रेलिया गएको हुँ । हाल गुर्खाज नेपाली रेष्टुरेण्ट नामबाट नेपाली स्वाद दिलाउन रेष्टुरेन्ट ब्यवसायमा संलग्न छु । यही वर्ष नेपाल पर्यटन बोर्डबाट अवैतनिक पर्यटन दुतको रुपमा नेपाल चिनाउने अवसर पाएको छु ।

किन जानु भयो अष्ट्रेलिया, के काम गर्नु भयो ?

त्यतिबेला अष्ट्रेलिया जाने भनेको प्राय त विद्यार्थी भिषा नै हो । बसाइँसराइ गरेर जाने कमै थिए त्यतिबेला । १० हजार जति मानिसहरु थिए होला त्यतिखेर । हामी पनि विद्यार्थी भिषामै गएको हो पढ्ने माध्यम बनाएर । तर, इन्टेन्सन त त्यहाँ पढ्ने भन्दा पनि हामीलाई स्ट्याब्लिश हुनु थियो । व्यावसाय गर्नको लागि राम्रो ठाउँ खोजिरहेका थियौँ । विद्यार्थी भिषालाई एउटा मध्यम बानाएर जाँदा अस्ट्रेलियाले थोरै सहज वातावरण बनाइदियो ।

पहिला श्रीमतीले पढिन् । श्रीमतिको डिपेन्डेन्ट भिषामा म गको हुँ । मेरो हस्पिटालिटी पहिला देखिकै प्यारो विषय भएकाले सिंगापुर र बेलायतमा पनि पढ्न जान्थें । त्यहाँ मैले कोकरी भन्ने विषय ज्वइन्ड गरेँ । ६-७ महिनासम्म बिज्नेस प्लानदेखि सबै कुरा सिक्ने मौका पाएँ । नान्दोज भन्ने कम्पनीमा स्टोर म्यानेजरको काम गर्थें । त्यहाँ पनि धेरै कुरा सिक्ने मौका पाएँ । त्यसपछि म आफैं केही गर्न सक्छु भनेर रेष्टुरेण्ट व्यवसाय सुरु गरेँ ।

सुरुवातमै रेष्टुरेण्ट शुरु गर्नुभयो ?

हजुर मैले सुरुवात नै रेष्टुरेण्टबाट गरेँ । सन् २०१२ मा पर्थको मुख्य सहरमा व्यवसाय सुरु गरेँ । मैले ८-९ लाख डलर लगानी गरेको छु । लगानी र फाइदा भन्दा पनि मलाई गर्व केमा छ भने सात समुन्द्र पारी गएर २०–३० जान नेपालीलाई रोजगारी दिन पाएको छु । मेरा लागि त्यो नै ठूलो कुरा हो । त्यो ठाउँमा बसेर गर्वका साथ गुखार्ज नेपाली नामको रेष्टुरेन्ट खोलेको छु । जसले नेपालीलाई एकदमै नजिकबाट चिनाउँछ ।

कति छन नेपाली अष्ट्रेलियामा ?

डाटा भन्दा बाहिर कति छन् त थाहा छैन । तर ९० हजार देखि १ लाख जति नेपालीहरु स्ट्याब्लिश नै भएर बसेका छन् ।

कस्तो छ नेपालीहरुको अवस्था ?

Nil thapaliya 1राम्रो छ । हाल अष्ट्रेलिया अन्य मुलुकको तुलनामा सुरक्षित छ । अलि कति गर्मी ठाउँमा बस्नेहरुका लागि त्यहाँको वातावरण ठिक छ । साथै हातमा सीप लिएर जानेहरुको लागि अष्ट्रेलिया धेरै राम्रो छ । तर सीपबिना विद्यार्थी भिषामा रुखै पैसा टिप्छु भन्नेहरुका लागि भने गाह्रै छ ।
जस्तै शेष घलेलाई हेर्ने हो भने उहाँ पनि अष्ट्रेलिया आउनु भएको धेरै भएको छैन । १८–२० वर्ष अघि आउनु भएको हो । उहाँले नेपालीको निकै राम्रो पहिचान बनाएर बस्नुभएको छ । उहाँ मात्रै नभएर अरुले पनि धेरै प्रगति गर्नु भएको छ । म पनि अस्ति भर्खरै अष्ट्रेलिया आएको हो । मैले पनि नेपालबाट केही लगेको होइन । यहीँ दुःख गरेँ, संघर्ष गरेँ, मेहेनेत गरेँ, धैरे गरेँ । गर्नेहरुको लागि राम्रो अवसर छ अष्ट्रेलिया ।

तपाईं त नेपाल पर्यटन बोर्डको अवैतनिक पर्यटन दुत पनि हुनुहुन्छ, पर्यटन प्रवद्र्धनको लागि के गर्दै हुनुहुन्छ ?

म नेपाल सरकारबाट कोडभएको एक वर्ष पुग्दै छ । मलाइ के लाग्छ भने हामीलाई जुन पद दिइएको छ, वि आर राइट पर्सन, किनभने हाम्रो हप्तामा ५ हजार पर्यटकहरुसँग कुराकानी हुन्छ । ती मध्ये सबैसँग त फुर्सद नहोला तर पनि मैले मेरा स्टाफहरुलाई तालिम दिएको छु । हरेक भित्ताको टिभिहरुमा नेपालका डकुमेन्ट्रिहरु राखेको छु । मैले भर्खरै मेन्युमा पनि एकापट्टी खाना राखेर अर्कोपट्टी नेपालको पर्यटकिय स्थलहरुको दृष्यहरु राखेको छु । जसले गर्दा उनीहरुले हेरेर पल्टाउँछन् वाउँ नेपाल भन्छन् । उनीहरु सबैलाई नेपालको बारेमा थाहा न भएको भए पनि थाहा पाउँछन् । मैले जो मान्छे मेरो सम्पर्कमा नेपाल आउन खोज्छन्,उनीहरुलाई सबैलाई एक छाक खाना फ्रीमा खुवाउने घोषणा गरेको छु । नेपाली खानासँग घुलमिल गराउनलाई, चिनाउनको लागि मैले निःशुल्क खाना खुवाउँछु । उनीहरु नेपाल आउँछन् घुम्छन् र फेरी फिडब्याक लिनको लागि निःशुल्क खाना खुवाउँछु । उनीहरुले भोगेको दुःख–सुख, सम्बन्धित निकायसम्म पु¥याउन सहयोग पुर्याउँछु ।

डकुमेन्ट्री देखाउँछु भन्नु भयो अलि प्रष्ट गरिदिनुस न ?

मैले लगभग ३ वा ४ घण्टाको डकुमेन्ट्रि नेपालबाट मगाएको छु । त्यस्तै विदेशीहरुले आएर आफैँले पनि बनाएको डकुमेन्ट्रिहरु पनि मिलाएर कहिले हिमाल, कहिले पहाड त कहिले तराई कहिले चितवन, कहिले बुद्घहरुको फेरीफेरि देखाउने गरेको छु । लगभग हप्तामा ३ वा ४ वटा परिवर्तन गरेर देखाइ रहेको छु । सँधै एउटै खालको डकुमेन्ट्री देखिरने ग्राहकहरुलाई अल्छि लाग्छ भनेर यसो गरेको हो ।

Nil thapaliya restro.jpg 2 Nil thapaliya restro

विदेशमा बसेर पनि आफ्नो  देशका निम्ति जे गरिरहनुभएको छ, यस्तो कामबाट कस्तो प्रतिकृया पाउनु भएको छ ?

मैले धेरै राम्रो प्रतिकृया पाउने गरेको छु । अष्ट्रेलियनहरुको लागि बेस्ट पर्यटकीय गन्तब्य नेपाल बन्दै आएको छ । किन भने नेपालसँग उनीहरु धेरै नजिक छन् । घरमा खाना खाएर राती २ बजेको फ्लाइट लिइयो भने बिहान १२ बजे लन्च खान नेपाल आइपुगिन्छ । यति मिलेको फ्लाइट अष्ट्रेलिया लाई बाहेक अरु छैन । नेपालमा जस्तो प्रकृतिक चिजबिचहरु अन्त गएर पाइँदैन । त्यसैले उनीहरुको लागि नेपाल बेस्ट डस्टिनेसन हो । त्यो कुरा उनीहरुले पनि भन्छन् । त्यसैले पनि उनीहरुलाई पहिलो पटक नै प्रभाव पार्नको लागि रेस्टुरेन्टले सानो सानो कुरामा पनि ख्याल गरेर सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।
मैले सबैलाई यदी तिमीहरुलाई नेपाल मन परेन भने म सबैको पैसा फिर्ता दिन्छु भन्ने गरेको छु । तिमीहरु डेफिनेट्ली खुशी भएर आउने छौ भनेको छु । पछि कोही कोहीले त उल्टै मलाई उपहार लिएर आउने गरेका छन् । त्यसैले धेरै राम्रो र सकरातमक फिडब्याक छ ।

पर्यटन दुत भैसकेपछि नेपालीहरुबाट कत्तिको गुनासे सुन्नु पर्छ ?
सहि प्रश्न गर्नु भयो । केही छन् त्यस्ता अबुझहरु जो यति ठुलो विकसित राष्ट्रमा आएर पनि ढुंगे युगको व्यवहार गर्छन् । सर्व प्रथम त के हो यो पर्यटनदुत भनेको र के देखेर कस्तो प्रकारको मान्छेलाई दिने भन्ने कुरो बुझ्दैनन् । तलव नै खाएर बसेको जस्तो हचुवामा बोल्छन् । तर मलाई राम्रोसंग थाहा छ मेरो जिम्मेवारी के हो र कसरी बहन गर्नु पर्छ भनेर । त्यसैले यस्तो अबुझहरुको पछाडी लाग्दिन र मसंग समय पनि छैन त्यो बाटो हिँड्नलाई ।

Nil thapaliya 4

Nil thapaliya 5

त्यहाँ बसेर नेपालको पर्यटन प्रवद्र्धन गर्नका निम्ति अरु के के सोच बनाउनु भएको छ ?

त्यस्तो ठुलो योजना छैन । किनकी हामी भोलेटरी बेसमा काम गर्ने हो । मैले भर्खरै लगभग २ हजार डलर खर्च गरेर आफ्नै लगानीमा आफ्नो व्यवसायीक गाडीमा नेपाल झल्काउनेदेखि अरु विभिन्न पोष्टरहरु बनाएँ । मैले आफ्नो व्यस्त समयको बावजुद पनि परिवार र व्यवसायबाट समय निकालेर विभिन्न स्कुलहरुमा जाने र नेपाल घुम्न जान आग्रह पनि गरिरहेको छु । फेरि अहिले हाम्रो नवनियुक्त राजदुत लक्की शेर्पा भर्खरै जानु भएको छ । निकट भविष्यमा राजदुतावास र नेपाल पर्यटन बोर्डसंग सहकार्य गर्दै काम गर्ने योजना बनाएको छु । तर पर्यटन प्रवद्र्धन भने मेरो दैनिकी जस्तै हो । मेरो व्यवसायीक गाडी दिनमा ४–५  सय किलोमिटर पर्थको विभिन्न भागमा गुड्छ । अनि मेरो रेष्टुरेन्टमा आउने झण्डै २–३ सय गोराहरुसंग दिनदिनै प्रत्यक्ष कुराकानी हुन्छ । जुन पर्यटन प्रवद्र्धनको लागि उनीहरुलाई कन्भिन्स गर्ने उपयुक्त पाटो हो भन्ने मैले पाएको छु । त्यो साथ साथै मैले अघि नै भनें, रेष्टुरेण्टमा भएका विभिन्न किसिमका नेपाल झल्काउने चिजदेखि लिएर नेपाली खाना मःमः, छोइला, भटमास लगायत चिजहरुले अझै प्रेरित बनाउँछ गोराहरुलाई । यसले उनीहरुलाई पर्यटन प्रवद्र्धन प्रति सकारात्मक अनि नेपाल जाउँ जाउँ लाग्ने महत्वपुर्ण सहयोग पुग्छ जस्तो लाग्छ मलाई ।

तपाईहरुले त्यहाँ बसेर नेपाल जाऊ–जाऊ भनेर मात्र पनि पर्यटन प्रवद्र्धन खासै नहोला, यहाँ आइसकेपछि सरकारी तवरबाट कस्तो खालको आकर्षण गर्नु पर्ला ?

Nil thapaliya 2

वास्तवमा हामीले मात्र पर्यटन प्रवद्र्धन गरेर केही हुनेवाला छैन । नेपाल सरकारले पनि केही व्यावस्था गरिदिनु पर्यो । एयरपोर्टका ट्वाइलेटदेखि शुरु भएर वातावरण सरसफाइहरु गरिदिनु पर्यो । हामीहरु ८० जना जति छौं हामीलाई समन्वय गरेर केही जिम्मा दिनुस् । राज्यले पैसा दिन सक्दैन भने हामीलाई जिम्मा दिनुस केही दिनु पर्दैन मात्र ३ महिना समय भए पुग्छ । हामी एउटा सिस्टम बनाएर जान्छौँ ।
भएको चिजलाई व्यवस्थापन मात्र गर्ने हो भने अबको दश वर्षसम्म नेपाललाई चाहिने भन्दा धेरै पर्यटकहरु आउँछन् । नेपालमा धेरै चिज छ तर व्यवस्थापन भएन । जस्तै वासरुम, ट्रली, लगेजहरु आउने चिजहरु, एयरर्पोटबाट बाहिर निस्किँदा वेइटिङ, ट्याक्सिहरुको व्यवस्थाहरु हुनुपर्यो । किन भनेँ मानिसहरुको अट्रयाक्सन पहिला झर्ने बित्तिकै हुन्छ ।
यदि स–साना कुराहरुमा ख्याल गरिदियो भने पर्यटकहरुले त्यस्तो ठूलो इस्यु बनाउँदैनन् । सबैलाई थाहा छ नेपाल गरिब देश हो भनेर ।
त्यति ठूलो स्रोत साधनको उनीहरुले आशा पनि गरेका हुँदैनन् । थोरै पैसामा घुमघाम गर्न, होलीडे मनाउनको लागि भनेर आएका हुन्छन् । उनीहरुले पनि अमेरिका, बेलायतको जस्तो खोजेर त पाउँदैनन् । तर पनि उनीहरुलाई होलीडे मनाउन आउनको लागि नेपालमा पर्याप्त ठाउँ छ ।

Nil thapaliya restro with guest

नेपालमा लगानीको वातावरण चाहीं कत्तिको उपयुक्त छ ?

लगानीको कुरामा त सरकारले वातावरण पनि बनाउनु पर्छ । एनआरएनए भनेको सबै भन्दा धनी संस्था पनि हो । यति धेरै पैसा छ तिनीहरुसँग, यति आतुर छन् मान्छेहरु नेपालमा लगानी गर्न । मलाई पनि लगानी गर्न मन छ तर मुख्य कुरा सुरक्षाकोे व्यवस्था हुुनु पर्छ । यदि नेपालले लगानीको सुरक्षामा ख्याल गर्यो भने नेपाल विकास हुन धेरै बेर लाग्दैन । निकट भविष्यमा नै मेरो नेपालमा पाँच तारे होटेल खोल्ने योजना छ ।

प्रकाशित मिति : १० साउन २०७४

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com