Logo

स्वतन्त्रता खोज्दै पर्यटन क्षेत्रमा

बुबाको इच्छा बिपरित पर्यटनमा

पारिवारिक पृष्ठभूमिका आधारमा भन्ने हो भने एक नेपाली सेनाका छोरा नेपाली सेनामा नै जागीर खानुपर्ने थियो । उनको बुबाको चाहना पनि छोरो नेपाली सेनाको उच्च पदमा रहेर काम गरोस् भन्ने नै थियो । तर पनि बुबाको इच्छा बिपरित उनी खाली हात काठमाडौं छिरेर पर्यटकको भारी बोके । र आज एक स्थापित व्यवसायी बन्न सफल भएका हुन् अञ्जन कुमार थापा ।

वि.स. २०३४ सालमा धादिङ जिल्ला तत्कालिन त्रिपुरेश्वर गाविस वडा नं–६ मा जन्मिएका उनी झट्ट देख्दा अपत्यारिलो लागे पनि पर्यटन क्षेत्रमा लागेको नै दुई दशक बितिसकेको छ ।

नेपाली सेनाको जागीरे हुँदा हाई कमाण्डको आदेश मान्नुपर्ने र आफुमा स्वतन्त्रता नहुने देखेपछि उनी स्वतन्त्रताको खोजीमा बुबाको आग्रह र अनुरोधलाई अस्विकार गर्दै पत्रकार बन्ने लक्ष्यका साथ पर्यटन क्षेत्रमा आई पुगेका हुन् ।

यस कारण तुहियो पत्रकार बन्ने इच्छा !

थापाले २०५० सालमा धादिङको अचने मा.वि. खहरेबाट एसएलसी उत्तीर्ण गरेका हुन् । उनको बुबा त्यतिबेला शान्तिसेना (लेबनान) जानुपर्ने कारण उनी गाउँ नै फर्किएर एसएलसी दिएका हुन् । एसएलसी पछि खाली हात उनी काठमाडौ छिरे । र पत्रकारिता पढ्न थाले । वि.सं. २०५१÷०५२ सालमा उनले पत्रकारितामै आईए सके । पत्रकारिताको इन्टर्न (प्रशिक्षार्थी) गर्न उनी धेरै ठाउँमा धाए । त्यतिबेला पत्रकारिताको कुनै रौनक थिएन । कसैले नटेर्ने, अन्तवार्ता लिन गयो घण्टौ समय कुर्नु पर्ने लगायत बाट दिक्क भएर उनले यो दुखिया जागीर रहेछ भन्ने महशुस भएपछि पर्यटन क्षेत्र तिर आकर्षित भए ।

एसएलसी सक्किए लगत्तै बेला–बेला ट्रेकिङ जाने र बिदेशीहरुसँगको संगत बढाउने काम गरेका हुनाले उनले पत्रकारितालाई तिलाञ्जली दिएर पर्यटनमै लाग्ने निधो गरे । आवश्यक खर्चको जोहो गर्न पनि सजिलो र पर्यटनमा रमाईलो लागेपछि थापाको पर्यटन क्षेत्रप्रतिको आकर्षण बढेको हो ।

ट्रेकिङमा भारी बोक्दाको पहिलो अनुभव

जीन्दगी स्वतन्त्रपूर्वक जीउनुपर्छ भन्ने मान्यता राख्ने थापाले यहि सोचेरै बुबाको सपना (छोरालाई आर्मी बनाउने) लाई लत्याउँदै एसएलसी दिएपछि खाली हात काठमाडौ छिरेका थिए । त्यसपछि एकजना चिनजानका दाईले ट्रेकिङ जाने हो भनेर थापालाई सोधे । उनले पनि ठिकै छ जाने भनेर ट्रेकिङमा भरिया हुँदै गाईडकोे काम गर्न थाले । नयाँ ठाउँहरु देखिने र विदेशीहरुको संगतले ट्रेकिङमा उनलाई रमाइलो महशुस भयो र ओहो ! यो पेशा पो ठिक रहेछ त भनेर उनी पर्यटनमा लागेका हुन् ।

अन्नपूर्ण बेसक्याम्पमा पहिलोपटक भारी बोकेर थापा १० दिनको ट्रेकिङमा गएका थिए । दिनदिनै झोला बोकेर उकालो, ओरालो हिँड्नु पर्ने भए पनि ट्रेकिङमा प्राकृतिक सौन्दर्यता, हिमालसँग रमाउन पाउने भएकाले उनले आँट दह्रो बनाएर झोला बोकेर पर्यटनको यात्रा सुरु गरेका थिए । सेनाको छोरो पर्यटकको भारी बोकेर हिंड्ने काम दुःख नै थियो, तर पनि उनले हरेश खाएनन् । हँसिला स्वभावका थापालाई बिदेशीहरुले पनि औधी रुचाउने र अंग्रेजी भाषा पनि राम्रै जानेकाले गाउँकै एकजना दाईको सल्लाह अनुसार उनी त्यसपछि ट्रेकिङ गाइड गर्न थाले ।

उनले २ वर्ष ट्रेकिङ गाईडका रुपमा काम गरे । त्यसपछि सन् सन् २००० मा पार्टनरशीप (साझेदारी) मा हारु ट्रेक्स नामक कम्पनी खोले । त्यतिबेलासम्म उनले विश्वभाषा क्याम्पसमा जापानीज भाषा सिकिसकेका थिए । जापानीज भाषा जानेकै कारण जापानीजहरुलाई लक्षित गर्दै काम सुरु गरे । उक्त समयमा पर्यटन बजारमा प्रतिष्पर्धा थिएन । विस्तारै उनी स्थापीत युवा व्यवसायीको परिचय बनाउन सफल भए ।

पछि सन् २००४ मा आफ्नो साझेदारले कम्पनी छाडेपछि थापाले पुरानो कम्पनी बन्द गरी एकलौटी रुपमा आशाही ट्रेक संचालनमा ल्याएका हुन् । अहिले उनको आशाही ट्रेकका साथै होटेल होलिलज–ठमेल, हिमालयन योगा सेन्टर–स्वयम्भु (जहाँ नेपालमै पहिलोपटक योगा, मेडिटेसन र आयुर्वेदालाई जोडेर व्यवसायीक क्रियाकलाप सुरु गरिएको छ ।), होटेल उडल्याण्ड–दरबारमार्ग र ट्रष्ट एण्ड केयर मन्टेश्वरी संचालनमा छन् ।

anjan thapa kumar
अञ्जन थापा (कुमार) सचिव–नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन

‘नेपाल हिमाली श्रृङखलाले भरिएको पर्वतीय पर्यटनको गन्तव्यसँगै ऋषि मुनीहरुले आदि कालदेखि योग, मेडिटेसन, आराधना, साधना गर्ने ठाउँ हो । नेपाल योगा मेडिटेसनको लागि यो उर्वर भूमि हो । हिमालय पर्वतमा त्यतिखेर महादेव, ऋषिमुनी बसेर तपस्या गर्दा जे गर्थे त्यो नै आज योग हो । त्यसैले नेपालमा योग मेडिटेसनको अन्तर्राष्ट्रिय विश्व विद्यालय नै खोल्नुपर्ने आवश्यकता देखिन्छ ।’

योगा र पर्यटन संगसंगै

उनी भन्छन्, ‘नेपाल हिमाली श्रृखलाले भरिएको पर्वतीय पर्यटनको गन्तव्यको देश सँगै ऋषि मुनीहरुले आदि कालदेखि योग, मेडिटेसन, आराधना, साधना गर्ने ठाउँ हो । हिमालय पर्वतहरुको श्रृखला हुँदै महाभारत सम्म र भारत, नेपाल हुँदै माउन्ट कैलाशसम्मको ठाउँलाई हिमालयन पर्वत भनेर जोडिन्छ । त्यसको आधार क्षेत्र नेपाल भएकाले पनि योगा मेडिटेसनको लागि यो उर्वर भूमि हो । यो भूमि बाहेक योगा र मेडिटेसनको कल्पना पनि गर्न सकिन्न । किनकि हिमालय पर्वतमा त्यतिखेर महादेव, ऋषिमुनी बसेर तपस्या गर्दा जे गर्थे त्यो नै आज योग हो । उनीहरुले गर्ने उपासना आजको योग हो । थेरापी भन्ने आएको छ त्यो पनि योगकै माध्यम हो । त्यहि थेरापीले गर्दा औषधीले निको नहुने रोग निको हुन्छ ।

हिमालको काखमा प्राकृतिक आनन्द सँगै जुन योगआसन गर्न सकिन्छ, त्यो आसन, त्यो आनन्द न्यूयोर्क र वासिङग्टन डिसी त के संसारमा कहिँ पनि हुँदैन । प्रकृतिसँग अध्यात्मलाई जोडेर संगसंगै अगाडि बढाउन नेपालले मात्रै सक्नेछ । त्यसैले नेपालमा योग मेडिटेसनको अन्तर्राष्ट्रिय विश्व विद्यालय नै खोल्नुपर्ने आवश्यकता देखिन्छ ।’

yoga

पर्यटनले सोचेजति फड्को मार्न नसक्दा दुःख लाग्छ

पर्यटनमा नेपालले जति फड्को मार्न सक्दथ्यो त्यति गर्न सकेको छैन, त्यसमा दुःख लाग्छ । माल्दिभ्समा ४ लाख जनसंख्या छ, तर २० लाख पर्यटक आउँछन् । थाइल्याण्डमा १ करोड ८० लाख पर्यटक ल्याउँछन् । तिब्बतको ल्हासामा वार्षिक ५० लाख पर्यटक आउँछन् । सगरमाथा, लुम्बिनी लगायत सबै किसिमको सम्भावना भएको ठाउँमा १० लाख पर्यटक ल्याउन गाह्रो हुनु दुःखद विषय भएको उनको ठम्याई छ । सरकार, नीति निर्माणमा बस्नेहरु, हामी पर्यटन व्यवसायी अनावश्यक खिचतानीमा नफस्ने हो भने पर्यटनमा चाहेजस्तो विकास हुनसक्ने उनको दाबी छ ।

थापा पर्वतीय तथा पदयात्रा क्षेत्रको विकासमा स्थापीत छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)को पूर्व कोषाध्यक्ष पनि हुन् । उनी विभिन्न नीजि व्यवसायीक संघसंस्था र सामाजिक सेवामा पनि उत्तिकैमात्रामा सक्रिय छन् ।

(अर्थतन्त्रका लागि हरिशरण न्यौपानेसँगको कुराकानीमा आधारित)

प्रकाशित मितिः २०७४ असोज ११

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com