back
NMB ad

तरकारीमा खुद्रा व्यापारीको लुटधन्धा !

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री कार्यालयले तरकारीको बजार मूल्य अनुगमन र नियन्त्रण गर्न निर्देशन दिएको छ । बजारमा खुद्रा तरकारीको मूल्य अत्यधिक बढेपछि प्रधानमन्त्री कार्यालयले सरोकारवाला निकायलाई आइतबार यस्तो निर्देशन दिएको हो । प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा भएको छलफलमा कालिमाटी तरकारी बजारमा कायम हुने थोक मूल्यका आधारमा उपभोक्ता मूल्य कायम गर्र्नुपर्नेमा त्यो नभई व्यापारीले आफूखुसी गरेको निष्कर्ष निकालिएको छ ।

सरकारले अनावश्यक रूपमा नाफा असुल गर्ने व्यापारीलाई तल्काल कारबाही गरिने जनाएको छ । तरकारी विकास निर्देशनालयका निर्देशक हरिबहादुर केसीले तरकारीको थोक र खुद्रा मूल्यमा केन्द्रित भएर अनुगमनलाई कडा पार्न सरकारले निर्देशन दिएको जानकारी दिए ।

‘उत्पादन कम भएका कारण आपूर्ति पनि कम परिमाणमा भएकाले थोक मूल्यमा केही मूल्य वृद्धि हुनसक्छ जानकारी गरायौ’, निर्देशक केसीले भने, ‘थोक मूल्यको आधारमा उपभोक्ता मूल्यमा दुई चार रुपैयाँ तलमाथि हुन सक्छ । तर, थोक मूल्यभन्दा झण्डै दोब्बर मूल्यमा खुद्रा व्यवसायीले हरियो तरकारी बिक्री गर्दै आएको सचिवलाई जानकारी गरायौं ।’

छलफलमा सहभागी आपूर्ति विभागका महानिर्देशक कुमार दाहालले तरकारीको थोक मूल्य र खुद्रा व्यवसायीले कायम गरेको उपभोक्ता मूल्यका विषयमा कडाइका साथ अनुगमन गरिने जानकारी दिए । गत वर्षको यही महिनाको तुलनामा यो वर्ष हरियो तरकारीको मूल्य झण्डै दोब्बर बढेको छ । सरकारले तरकारीको कारोबारमा संलग्न बिचौलिया र ठूला व्यापारीलाई कानुनी दायरामा ल्याउन राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागलाई परिचालन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

गत वर्षभन्दा करिब ४५ प्रतिशत बढी मूल्यमा तरकारी बिक्री भइरहेका छन् । कालिमाटी तरकारी बजारमा कायम रहेको औसत थोक मूल्यभन्दा प्रत्येक तरकारीमा ३५ देखि ८० रुपैयाँ बढी नाफा जोडेर खुद्रा व्यवसायीले उपभोक्ताबाट चर्को मूल्य असुल गर्दै आएका छन् । फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले उत्पादन कम भएको र कम उत्पादन हुँदा आपूर्ति पनि कम भएकाले गत वर्षको तुलनामा यो वर्ष थोक मूल्य पनि अत्यधिक भएको हो ।

‘सरकारले कडाइका साथ अनुगमन नगरिदिँदा त्यसको प्रत्यक्ष फाइदा खुद्रा व्यापारीले उठाएर उपभोक्तालाई ठगेका हुन्’, अध्यक्ष घिमिरेले भने, ‘पछिल्लो पाँच वर्षदेखि थोक मूल्यका आधारमा खुद्रा पसललाई पनि अनुगमनको दायरामा ल्याउन सरकारलाई ज्ञापनपत्र बुझाउँदै आयौंं । तर कतै सुनुवाइ भएन । नियमनकारीको गैरजिम्मेवारीका कारण प्रत्यक्ष मारमा उपभोक्ता परेका छन् ।’

कालिमाटी बजारमा आइतबार थोक मूल्य प्रतिकिलो ८३ रुपैयाँमा कारोबार भएको ठूलो गोलभेंडा खुद्रा व्यापारीले एक सय १० रुपैयाँमा बिक्री गरेका छन् । गत वर्ष सोही गोलभेंडाको थोक मूल्य ४८ रुपैयाँ थियो । यस्तै कालिमाटीमा ७३ रुपैयाँ रहेको काउलीलाई खुद्रा व्यापारीले प्रतिकिलो एक सय ४० रुपैयाँमा बिक्री गरेका छन् । गत वर्ष यही काउलीको थोक मूल्य ७८ रुपैयाँ थियो । यसैगरी कालिमाटीमा प्रतिकिलो ७३ मा बिक्री भइरहेको बन्दालाई खुद्रा व्यापारीले सय रुपैयाँमा बिक्री गरेका छन् । गत वर्ष यही समयमा बन्दाको थोक मूल्य २८ रुपैयाँ थियो ।

गत वर्ष ४२ रुपैयाँमा कारोबार गरेको घिउसिमीको थोक मूल्य अहिले ७८ रुपैयाँ पुगेको छ । तर, उपभोक्ता यही घिउसिमी प्रतिकिलो ९५ रुपैयाँमा खरिद गर्न बाध्य छन् । गत वर्ष नै ५२ रुपैयाँ थोकमा कारोबार भएको भिण्डीको थोक मूल्य अहिले ७८ पुगेको छ । उपभोक्ताले भिण्डीलाई अहिले ९० रुपैयाँ तिर्दै आएका छन् । ‘प्रत्येक तरकारीमा बिचौलिया र खुद्रा व्यवसायीले थोक मूल्यभन्दा झण्डै ५० देखि ८० रुपैयाँ बढी थपेर उपभोक्ताबाट असुल गरेको छ । तर राज्य मौन छ’, अध्यक्ष घिमिरेले भने ।

किन घट्यो उत्पादन र आपूर्ति ?

कात्तिकमा उपत्यकालगायत देशभरका प्रमुख तरकारी मण्डीमा तरकारीको आपूर्ति गत वर्षभन्दा ४० प्रतिशतले कम भएको छ । आपूर्ति कम हुँदा थोक मूल्यमा वृद्धि भएको घिमिरेको दाबी छ । उनका अनुसार मकवानपुरको पालुङ, ललितपुर, भक्तपुर, धादिङ, काभ्रे चितवन र तराईका जिल्लाबाट तरकारीको आपूर्ति निकै कम परिमाणमा भएकाले थोक मूल्य वृद्धि भएको हो ।

‘गत वर्ष यही समयमा मागभन्दा बढी उत्पादन भएर अत्यधिक आपूर्ति भयो । यसका कारण तुलनात्मक रूपमा अहिलेभन्दा सस्तो थियो’, घिमिरेले भने,‘तरकारी आपूर्ति हुने जिल्लामा उत्पादन घट्दा ४० प्रतिशत कम तरकारी भित्रिने गरेको छ ।’ यसको प्रत्यक्ष असर उपभोक्तामा परेको उनको ठहर छ । कालिमाटीमा दैनिक साढे सात सय टन र बल्खु बजारमा अढाइ सय टन तरकारी भित्रिनुपर्नेमा अहिले कालिमाटीमा साढे चार सय र बल्खुमा एक सय ५० टनको हाराहारीमा मात्रै आपूर्ति भइरहेको छ ।

धादिङमा उत्पादन भइरहेको तरकारीलाई केही समयअघि परेको असिनाले नोक्सान पुर्‍याएको र काभ्रेमा तरकारी खेती हुने अधिकांश जमिनमा इँटा भट्टा सञ्चालनमा आएकाले ती दुवै स्थानमा उत्पादन घटेको हो । काभ्रेमा लगाइएको तरकारीबाली पनि इँटा भट्टाबाट निस्केको धुँवा र सिँचाइ अभावमा नोक्सानी भएको किसानको भनाइ छ ।

गत साउनमा परेको अविरल वर्षाका कारण तराईका जिल्ला र भारतीय तरकारी उत्पादन हुने क्षेत्र डुवानमा परेका कारण तरकारीको उत्पादन निकै कम भएको छ । तराईबाट अहिले तरकारी आएको अवस्था छैन भने भारतबाट निकै कम परिमाणमा र महँगोमा तरकारी आपूर्ति भइरहेको व्यवसायीले बताएका छन् । ‘गत वर्षको तुलनामा अहिले भारतबाट पनि झण्डै दुई चौथाइ कम परिमाणमा महँगो मूल्यमा तरकारी आपूर्ति भएको छ’, कालिमाटी बजारका थोक तरकारी व्यवसायी भगवान उप्रेतीले भने,‘उपत्यका वरिपरीका जिल्लामा उत्पादन भएका तरकारी राजधानीको सामान्य माग धान्दै तराईको जिल्लामा समेत जाने भएर तुलनात्मक रूपमा थोक मूल्य वृद्धि भएको हो ।’

किसान मूल्य झण्डै दोब्बर

यो वर्ष तरकारी उत्पादन गर्ने किसानले पनि गत वर्षको तुलनामा झण्डै दोब्बर भाउ पाएका छन् । काभ्रेका किसान दिनेश घिमिरेका अनुसार पोहोरको तुलनामा यो वर्ष किसानले ४० प्रतिशत बढी लागत मूल्य प्राप्त गरेका छन् । उनका अनुसार गत वर्ष ठूलो परिमाणमा तरकारी उत्पादन हुँदा किसानले निकै कम मूल्य पाएका थिए । ‘यसले गर्दा किसान ठूलो घाटा व्यहोर्न बाध्य भए । घाटा खाएका अधिकांश किसानले यो वर्ष तरकारी खेती नै गरेनन्’, घिमिरेले भने,‘यसले गर्दा यो वर्ष उत्पादन निकै कम भयो । उत्पादन कम हुँदा किसानले लागत मूल्यअनुसार यो वर्ष अघिल्लो वर्षको तुलनामा बढी मूल्य प्राप्त गरेका छन् ।’ घिमिरेको भनाइप्रति धादिङ चरौंदीका किसान हेमनाथ थपलियाले पनि सहमति जनाए । थपलियाका अनुसार गत वर्षको तुलनामा यो वर्ष झण्डै ४० प्रतिशतले उत्पादन कम भएको छ । तर भाउ भने राम्र आएको छ ।न्यूजएग्रोबाट

प्रकाशित मितिः २०७४ कार्तिक २७

वि.सं.२०७४ कात्तिक २७ सोमवार १५:४६ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...