काठमाडौं । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को नयाँ नेतृत्वको लागि बर्तमान प्रथम उपाध्यक्ष सिएन पाण्डे र द्वितिय उपाध्यक्ष डिके शर्मा प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
दुई उपाध्यक्षको भिडन्तमा पुर्व अध्यक्षहरु यस अघिसम्म खुलेर लाग्ने अवस्थामा थिएनन् । चुनावको एक दिन अघिसम्म मौन देखिएका पुर्व अध्यक्षहरु विहिबार साँझ सिएन पाण्डे समूहले आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा उपस्थित भएर ऐक्यवद्धता जनाउन पुगेका थिए ।
नाट्टाको इतिहासमा नै सर्वपक्षिय सहमतिको नेतृत्व लिएर मैदानमा उत्रिएको सिएन पाण्डे समूहको पल्ला भारी देखिएको छ । नाट्टाको गत निर्वाचनमा प्रतिस्पर्धा गरेका तीन वटा प्यानल नै यस पटक चुनाव नहुने सर्तमा एउटै मोर्चामा उभिएका बेला नयाँ धार जन्मिएर मैदानमा उत्रिए पनि पाण्डे समूह नै जित्ने व्यवसायीहरु बताउँछन् ।
पर्यटन क्षेत्रमा कृयाशिल संगठनहरु र नाट्टकै पुर्व अध्यक्षहरुको समर्थन प्राप्त भएपछि पाण्डे समूहको जित पक्का पक्की भएको बरिष्ठ पर्यटन व्यवसायीहरुले बताए ।
होटेल र्याडिसनमा आयोजित कार्यक्रममा नाट्टाका वर्तमान अध्यक्ष मधुसुदन आचार्य, पुर्व अध्यक्षहरु आरएम सिंह, ध्रुव नारायण श्रेष्ठ, रामकाजी कोने, अर्जुन शर्मा, पवित्रकुमार कार्की र डिबी लिम्वु उपस्थित भएर शुभकामना र ऐक्यवद्धता जनाएका थिए ।
पुर्व अध्यक्षहरु आरआर पाण्डे, जय देवान, रवि पौडेल, अम्विका श्रेष्ठ, टेकचन्द्र पोखरेलले टेलिफोन र मेसेज मार्फत समर्थन गरेको अध्यक्षका उम्मेदवार पाण्डेले बताए । उनले भने मलाई सबै पुर्व अध्यक्षज्युहरुको समर्थन छ, कतिपय यहीं रहनुभएकाहरुले कार्यक्रममा उपस्थित भएरै शुभकामना र ऐक्यवद्धता जनाउनु भएको छ भने कतिपय स्वास्थ्य लाभ गर्दै गरेको र काठमाडौं बाहिर रहेकाले टेलिफोन र मेसेज मार्फत शुभकामना दिनु भएको छ ।
टानका सबैजसो पुर्व अध्यक्षहरु, एनएमएका पदाधिकारीहरु, सोट्टो, भिटोफका पूर्व तथा वर्तमान पदाधिकारीहरु पाण्डे समूहको समर्थनमा देखिएका छन् । सबैजसो पुर्व अध्यक्षहरुको साथ र समर्थन प्राप्त पाण्डेको समूहलाई सबै दल निकट संगठनहरु र स्वतन्त्र व्यवसायीक समूहको समर्थन प्राप्त भएको छ ।
वरिष्ठ व्यवसायी एवं टानका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद रिजाल भन्छन् फैसलाका कुरेर बसेका छौं । प्राविधिक रुपमा निर्वाचनले टुंगो लगाउने भए पनि दुई तिहाई बढी मतले विजयी हुने रिजालको दावी छ ।
पर्यटन क्षेत्रको इतिहासमा पहिलो प्रयोगको रुपमा सबैको समर्थन सिएन समूहले प्राप्त गरेको टानका पुर्व अध्यक्ष दिपक महतले दावी गरे । उनले भने गत निर्वाचनमा छुट्टाछुट्टै प्यानल बनाएर चुनाव लडेका तीन वटै समुह यसपटक एउटै मोर्चामा देखिँदा व्यवसायीमाझ हौसला मिलेको छ ।
२०७४ पुस २७ गते प्रकाशित
वि.सं.२०७४ पुस २७ बिहीवार २३:२६ मा प्रकाशित