Logo

अवको पर्यटकीय गन्तव्य ‘पृथ्वीको लागि उपहार’ क्षेत्र

पूर्व नेपालको प्रमुख पर्यटकीय गन्तव्य तीनजुरे, मिल्के, गुफा, पाथीभरा क्षेत्र प्राकृतिक हिसाबले सुन्दर भएपनि पर्यटकीय आवागमन भने कम छ । प्राकृतिक रुपमा मात्र सुन्दर नभएर यो क्षेत्र धार्मिक, जैविक, सांस्कृतिक हिसाबले पनि देशकै उत्कृष्ट गन्तब्य स्थलमा पर्दछ । यी क्षेत्रहरुको प्रचार–प्रसार, बिकास र प्रर्बद्धनका लागि ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं ले आगामी चैत २७ गते देखि बैशाख ३ सम्म तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सवको आयोजना गर्दै छ । यसै बिषयमा ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंका महासचिव वलबहादुर तामाङसंग अर्थतन्त्र डट कमले गरेको कुराकानी :

तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव किन ?

प्राकृतिक हिसाबले पूर्वी नेपालको ताप्लेजुङ आसपासका क्षेत्रहरु असाध्यै सुन्दर छन् । नेपालको दोस्रो र संसारको तेश्रो उच्च हिमशिखर कञ्चनजङघा साथै अन्य ५ वटा ८ हजार मिटर भन्दा अग्ला हिमालहरु यो क्षेत्रमा छन् । धार्मिक सांस्कृतिक रुपले पाथिभरा ,तिनजुरे, मिल्के र जलजले क्षेत्र गुराँसको राजधानी सहित विश्वमा ३८ प्रजातिका गुराँस पाइन्छन, ती मध्ये नेपालमा ३२ प्रजातिका गुरासहरु मध्ये २८ प्रजातिका गुराँसहरु पाईने क्षेत्र सिंगलिला हिमश्रृङखला क्षेत्रको प्रचार प्रसार गरेर पर्यटकीय स्थलको बिकास र प्रबद्र्धन गर्ने उद्देश्यले यो पदयात्रा महोत्सवको आयोजना गरिएको हो ।

यती राम्रो क्षेत्र छ भन्नु भयो किन पछाडी परिरहेको छ अहिलेसम्म ?

प्राकृतिक हिसाबले यी क्षेत्रहरु सुन्दर भएर पनि तुलनात्मक रुपमा पर्यटकहरुको आवागमन भने कम छ । अद्वितीय भूबनोटका कारण नेपाल सरकारले विश्व वन्यजन्तु कोषको ‘जिवित ग्रह अभियान’को समर्थनमा २९ अप्रिल १९९७ मा कञ्चनजंघा क्षेत्रलाई ‘पृथ्वीको लागि उपहार’ घोषणा गरेको छ । तर यस क्षेत्रमा सुन्दर प्राकृतिक हिसावले जति पर्यटक पुग्नुपर्ने हो त्यति पुग्न सकेका छैनन् । हामी क्षेत्रमा हवाई यातायात र सडक यातायात भरखरमात्र वामे सर्दै छ । राजधानीवाट दुरी टाढा र भौगोलिक विकटताले हामी केही पछि परौं अव हामी यी कुरा पछि परौ भनेर मात्र पुग्न छैन केही ढिलो अवश्य भयो यो क्षेत्रको विकास र प्रचार हुन अव हामी यसलाई ओझेल पर्न दिने छैनौं ।

यती ठुलो र लामो कार्यक्रमको तयारीे र व्यवस्थापन सहज छ ?

ताप्लेजुङ सरोकार केन्द्रले कार्यक्रम लागि एउटा व्यवस्थापन समिति तयार गरेको छ । यस अन्र्तगत बिभिन्न आवश्यक उपसमितिहरु निर्माण भएकाछन । विभिन्न क्षेत्रवाट उच्च ओहदामा पुगेका, यस क्षेत्रका विज्ञहरुको परामर्श समिति निर्माण भएको छ । कार्यक्रमको वारेमा जानकारी गर्ने पत्रपत्रिका, सामाजिक सञ्जाल साथै टिभि विज्ञापन पनि निर्माण गरेका छौं । हाकमिले गर्न लागेको कार्यक्रम यो पहिलो होईन यो भन्दा ठुला महोत्सवहरु,र अन्य कार्यक्रम पनि हामीले गरेका छौ । व्यवस्थापनमा कुनै समस्या हामीलाई छैन । हाम्रो यात्रामा घरान,धनकुटा,तेह्रथुम ,संखुवासभाका जनप्रतीनिधिहरुले हाम्रो व्यवस्थापनको सहजीकरण गरिदिनु हुने भएको छ ।
व्यवस्थापन समितिको वैठकको छलफल र विभिन्न क्षेत्रका साथिहरु संग सल्लाहगरी सचिवालय बाट कार्यक्रमको संयोजन तिव्र गतिमा भईरहेको छ । ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा र पाँचथर लगायतका माननीय सांसदहरु, जिल्ला समन्वय समिति र स्थानीय स्थानीय नगरपालिका÷गाउँपालिकाका जनप्रतिनिधिहरुसँग पनि समन्वय भईरहेकोछ । साथै उद्योगवाणिज्य सघ, पर्यटन व्यवसायी, पत्रकार, लेखक–कलाकार, बुद्धिजीवि, सामाजिक अभियन्ता, राजनीतिक व्यतित्व, व्यापारीहरुको पनि छलफल र सहयोग छ । र सहभागि हुने महानुभावका लागि स्वास्थ्य, सुरक्षित यात्रा र त्यहाँका साँस्कृतिक मनोरञ्जनलाई व्यबस्थित गर्न स्थानीय व्यक्ति संग समन्वय गर्दै छौं, हाम्रो तयारी तिव्र रुपमा जारी छ ।

पदयात्रा र महोत्सव दुबै भन्नु भयो, एउटै कसरी मिल्छ र सम्भव हुन्छ ?

यो सुन्दा फरक लागे पनि हाम्रो उद्धेश्य अनुरुप मिल्ने खालको खाका हामिले लिएका छौ । यो क्षेत्र हामी पर्यटन ब्यवसायीहरु र पूर्वी नेपालका आम मानिसहरुका लागी ऐतिहासिक र छुट्टै पहिचान बोकेको छ । हामीसँग धर्तीकै सुन्दर प्राकृतिक सम्पदाहरु यस क्षेत्रमा छन् । खासगरी पश्चिम नेपालका औसत पर्यटकीय स्थलहरुमा नै हजारौं पर्यटकहरु पुगिरहेका हुन्छन् । तर, यस क्षेत्रमा असाध्यै कम संख्यामा पुग्छन् । यसको मतलब हामीले यसको महत्व बुझाउन सकेका छैनौं । स्थानीयहरुले पनि कम बुझेका छन् । हामीले यसको महत्व बुझेर सबैलाई बुझाउन सके लाखौं पर्यटकरु लैजान सक्छौं । काठमाडौं बाट भौगोलिक विकटताका कारण हामीलाई यस क्षेत्रमा पुग्न केही लामो समय लाग्ने र धुम्नु पर्ने ठाउँहरु प्रशस्त भएका कारण हामी सबै विभिन्न ठाँउहरुमा विशेष कार्यक्रमहरु गर्दै र प्रत्येक ऐतिहासीक ठाँउहरुमा विशेष कार्यक्रमहरु गर्दै जाने भएको कारण यो पद यात्रा र महोत्सव दुवै नाम राखेर यो कार्यक्रमको आयोजना गरेका हौ ।

तपाईहरुको कार्यक्रम तालिका कस्तो छ ?

– चैत्र २७ गते विहान ५ः ०० बजे काठमाडौंबाट प्रस्थान ।

– चैत्र २७ गते दिउँसो धरानबाट प्रस्थान । भेडेटार दृश्यावलोकन । वसन्तपुर लालीगुराँस पार्क अवलोकन, टुटे देउरालीबाट पैदल यात्रा सुरु, तीनजुरेमा बास ।

– चैत्र २८ गते तीनजुरेबाट हिमश्रृंखलाको दृश्यावलोकन । चौकीमा खाना । चौकी–मंगलबारे–गुफा क्षेत्रको अवलोकन र साँझमा मेन्छ्यायेम डाँडाबाट सुर्यास्तको दृश्यावलोकन । गुफामा वास ।

– चैत्र २९ गते बिहान मेन्छ्यायेम हाइटबाट सूर्योदयका साथै कंचनजंघादेखि गौरीशंकरसम्मको दृश्यावलोकन । मिल्केमा ब्रेकफास्ट । मिल्के क्षेत्रमा पाइने सबैभन्दा बढी गुराँसको अवलोकन गर्दै साँघुमा लञ्च र कार्यक्रम गरी ढुंगेसाँघुमा मदन भण्डारीको जन्मघर अवलोकन पछि वास ।

– चैत्र ३० गते बिहान दोभान त्रिवेणीमा नदी अवलोकन पश्चात ब्रेकफास्ट गरी ताप्लेजुङ बजारमा खाना र कार्यक्रम, बजारबाट सुकेटार पं्रस्थान, सुकेटारको दृश्यावलोकन गरी पाथीभरा फेदीमा वास ।

– २०७५ साल वैशाख १ गते पाथीभरा डाँडाबाट सूर्योदय र त्यहाँबाट देखिने हिमश्रृंखलाहरुको दृश्यावलोकन, पाथीभरा देवीको दर्शन र नयाँ वर्ष २०७५ हर्षोल्लासका साथ मनाउने । साँझ सुकेटारमा नयाँ वर्ष सहभोजमा सामेल ।

– वैशाख २ पाँचथरको सिलौटे–पौवाभन्ज्याङ–कन्यामलगायत पर्यटकीय क्षेत्रको अवलोकन गरी श्रीअन्तुमा वास ।

– वैशाख ३ गते बिहान श्रीअन्तुबाट सुर्योदयको दृश्यावलोकन गरी उत्सवमय र रोमाञ्चकारी यात्राको सम्झना बोकेर काठमाडौंं प्रस्थान ।

यो कार्यक्रमको प्रमुख फोकस कुन क्षेत्रलाई हो ?

‘अबको गन्तव्य पाथीभरा’ हामीले यो नारा तयार पारेका छौ । हाम्रो यो पटक को कार्यक्रम आन्तरिक पर्यटकहरुलाई वढी फोकस गरेका छौं । ऐतिहासिक महत्व बोकेको क्षेत्र पाथीभरालाई नै केन्द्रमा राखेर अगाडी बढेका छौ । हामी ईटहरीवाट घरान हुदै ताप्लेजुङ ४ दिन लगाएर पुग्ने छौ । तर पछि पर्यटकहरु अन्य तिर्थ यात्रीहरु ईटहरीवाटै एक दिनमै पाथीभरा सम्म पुग्न सक्छन् । तमोर नदिको पुल अव यहि वैशाख भित्र सम्पन्न भए पछि यो बाटो थप सहज हुने छ । भ्रमणमा निस्केका पर्यटकहरुलाई धुम्ने ठाँउ प्रसस्त होस र थप धुम्ने भोक जगाउन पनि हामीले दुईवटा वाटोलाई जोडन खोजेका हौ । ईटहरी, धरान, धनकुटा, वसन्तपुर, गुफा, तिनजुरे मिल्के जलजले हुँदै पाथीभरा पुगेर पाँचथर, ईलाम, झापा हुँदैं ईटहरी जोडन सक्दा यो क्षेत्रलाई फाईदा पुग्ने हुँदा यो रुट हामी पर्मानेन्ट बनाउन खोज्दै छौ ।

तपाईहरुको पदयात्राले पाथीभरा जाने नयाँ रुट बनाउन खोजेको हो ?

यो क्षेत्रमा यसअघि पनि पर्यटकहरु गइरहेका छन् । तर, जति जानुपर्ने हो त्यति आएका छैनन् । यो वाटो पर्यटकीय रुटको रुपमा स्थापित गर्न साच्चिकै लायक क्षेत्र रहेको छ । यसलाई पर्यटकीय सर्किटको रुपमा बिकास गर्न खोजेका छौं । हामीले हाम्रो क्षेत्रमा पुग्नको लागी एउटा बाटोबाट जाने र अर्कोबाटो बाट फर्कने गरी यात्राको गोरेटो कोर्न खोजेका अवश्य हौ । ‘अबको गन्तव्य पाथीभरा’ नाराका साथ ताप्लेजुङ र आसपास (तेह्रथुम, संखुवासभा र पाँचथर) मा रहेका पर्यटकीय क्षेत्रलाई प्रचारप्रसार गरी पाथीभरा जाने पर्यटकलाई प्रेरित गर्न नयाँ पर्यटकीय गन्तव्यको विकास गर्ने र सन्देश दिने उद्धेश्यले हामी ताप्लेजुङको पाथीभरालाई केन्द्र बनाएर तीनजुरे–गुफापोखरी–पाथीभरा–सिलौटे–श्रीअन्तु टुर एण्ड ट्रेक्स सर्किटको नयाँ ट्रेकिङ सर्किटको विकास गर्न खोजेका हौं ।

यो पदयात्रा महोत्सवले के पाईदा र्पुयाउछ ?

फाईदा त अवश्य छ, मुलत त्यस क्षेत्र र स्थानीयवासीहरुलाई तर त्यो सवाल भन्दा, नेपालको समृद्धिको लागि एउटा मुख्य आधार नै पर्यटन उद्योग हो । ताप्लेजुङमा भएका प्राकृतिक, धार्मिक तथा पर्यटकीय स्थलहरुमा पर्यटक धेरै भन्दा धेरै र्पुयाउदा त्यस क्षेत्रको विकासलाई टेवा पुग्ने नै छ ।

यसका निम्ति ताप्लेजुङमा रहेका पर्यटकीय स्थलहरुको आवश्यक बिकास र प्रबद्र्धनको निम्ती सरकारले ठोस सहयोग गर्नुपर्छ । कञ्चनजङघा रुटको लागि आबश्यक भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्छ । विभिन्न सर्किट ट्रेक, टि हाउसका निम्ति पर्याप्त होटल, लज निर्माण गर्ने वातावरण र यस्ता नमुना स्थलहरु वनाईनु पर्छ ।

२०७४ चैत २६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com