Logo

नेपालमा पर्यटकीय संघ संगठनहरुको महत्व

  • घनेन्द्र श्रेष्ठ-

नेपालको पर्यटन उद्योगको अभ्यास धेरै लामो समय नभएतापनि देशमा पर्यटकहरुलाई सेवा उपलब्ध गराउन विषयगत उद्योगहरुको स्थापना भएका छन् । प्राकृतिक सौन्दर्यताका साथसाथै सांस्कृतिक तथा जैविक विविधताका कारणले समेत विश्वभरीबाट विभिन्न शिर्षकमा भ्रमणमा आउने पर्यटकहरुको संख्या दिनानुदिन बढोत्तरी हुदै गईरहेको छ । प्रत्यक्ष हिसावले मुलुकलाई महत्वपुर्ण योगदान नपुर्याएतापनि पर्यटनले नेपालको यूवाहरुलाई रोजगारीको अवसर प्रदान गरेको र नेपाली किसानले उत्पादन गरेका कृषि उत्पादनलाई खपत गर्न मद्दत पुर्याएको देखिन्छ । नेपालको पर्यटनको गतिविधिहरु प्रायः जसो दुर्गमक्षेत्रमा हुने पदयात्रा तथा हिमाल आरोहण भएकाले समेत देशलाई प्राप्ति हुने आय आर्जनमा सेवाप्रदायकहरुको सरकारसँगको निकायमा दर्ता नभएको कारणले राष्ट्रिय आयमा असर परेको हुनसक्दछ । मुख्यगरी पर्यटन क्षेत्रमा परम्परागत रुपमा अध्ययन गर्दा होटल संघ नेपाल (हान), ट्रेकिङ्ग एजेन्टस् एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ ट्राभल्स एण्ड टुर्स एजेन्टस् (नाट्टा), प्यासिफिक एसोसिएसन अफ ट्राभल्स एजेन्टस् (पाटा), नेपाल एसोसिएसन अफ र्याफ्टिङ्ग (नारा) र नेपाल पर्वतारोहण संघ (एनएमए) जस्ता संगठनहरुले देशको समग्र पर्यटन व्यवसायीहरुको प्रतिनिधित्व गरीरहेका छन् ।

देशमा भएको राजनैतिक परिवर्तन सँगसँगै व्यवसायीहरुमा समेत जागरण भएको चेतनाको विकासले पर्यटकीय संघ संगठनहरुमा समेत टुट फुट र संगठनहरुको विस्तार तथा नयाँ सँगठनहरुको जन्म भएका छन् । मुलकमा एउटै प्रकृतिको पेशा गर्ने ट्राभल्स र टुर्स व्यवसायीहरुको मात्र ४ वटा भन्दा बढि संगठनहरु कार्यरत रहेको पाईन्छ । त्यसैगरी होटलसंघ नेपाल जस्ता थुप्रै अन्य संगठनहरुले संगठित भएरकार्य गरिहेका छन त्यस्तै कतिपय संगठनहरुले देशको मुल उद्योग वाणिज्य महासँघको सदस्यका रुपमा कार्य गर्ने गरेका छन भने कतिपय स्वतन्त्र संगठनको रुपमा राष्ट्रिय मान्यताका साथ प्रभाव जमाएका छन् । यसरी नेपाल जस्तो सानो मुलुकमा जहाँ १० लाख पर्यटककहरु भित्र्याउनलाई धौ धौ भईरहेको छ यहाँ यत्रा संगठनहरुको आवश्यकता किन भयो होला भन्ने प्रश्न उठ्न थालेका छन् । हुनत लोकतन्त्रमा संघ संस्था खोल्न, संगठित हुन र गतिविधिहरु सञ्चालन गर्नलाई प्रोत्साहित नै गरीन्छ तर त्यस्ता संस्थाहरुले मुलुकको पर्यटनलाई कति मात्रामा योगदान दिन सक्षम हुन सक्छन भन्ने विषयमा छलफल गरिन आवश्यक छ ।

विद्यमान परम्परागत ढंगले सञ्चालन हुने संगठनहरुले नयाँ व्यवसायमा प्रवेस गर्ने व्यवसायीलाई संस्थामा प्रवेश निषेध गर्ने संगठनमा प्रवेश गरीसकेपछि लामो समयसम्म पदमा आसिन हुने प्रवृत्ति तथा केहि स्वार्थ समुहहरुको मात्र वकालत गरी मुलत व्यवसायीक हक र हितमा कार्य संपादन नगर्ने परिपाटीका कारणले समेत पहिचान बनाउनलाई संगठनहरु खुल्ने गरेको यथार्थता पाउन सकिन्छ । यसरी सँघसँस्थाहरुको बढोत्तरीले मुलुकलाई प्रवर्धन गरेको छकि फेसवुक र पत्रपत्रिकामा आफ्ना फोटो छपाएर लोकपृयतावादी हुनेमात्र कार्य गरेका छन भन्ने अव चासोको विषय बनेको छ । एउटै खालका व्यवसायका दसथरी संगठन बनाउने र नेता बन्ने प्रचलनले नत बुद्धिको विकास हुन्छ न व्यवसायीक गुणात्मकता नै थपीन सक्दछ केवल अनावश्यक र फजुल खर्च बढ्ने अवस्थाको सृजना हुन्छ । प्रत्येक बर्षको सम्मेलन तथा साधारणसभा र निर्वाचन जस्ता प्रकृयामा हुने खर्चको हिसाव गर्ने हो भने कति नेपाली जनताले स्वच्छ खानेपानी तथा शौचालयको निर्माण तथा विकास गर्न सक्ने थिए होलान् । निर्वाचनका नाउँमा व्यक्तिहरुले गर्ने गरेको खर्चलाई हिसाव गर्ने हो भने संसदीय निर्वाचनलाई विर्साउने खालको देखिन्छ । त्यसैगरी सरकारी तथा गैर सरकारी निकायहरुले त्यस्ता संघ संगठनहरुलाई गर्ने लगानीलाई कसरी व्यवस्थित गर्ने भन्ने समेत गहन प्रश्नहरु उठ्ने गरेका छन् । आगामी दिनमा यस्ता सँघ सँस्थाहरुको संख्यामा वृद्धि हुँदै जान थालेमा आवश्यकता भन्दा व्यक्तिहरुमा निरासा पैदा हुने र उद्देश्य अनुरुप कामयावी नहुन सक्दछ । यो आलेख मार्फत नेपालको पर्यटन उद्योगमा स्थापित भएका केही पर्यटन संगठनहरुको प्रस्तावना र उद्देश्यहरुमा चर्चा गरी एक अर्कामा ठोस फरक के छ भन्ने अध्ययन गर्न खोजिएको छ ।

नेपाल जस्तो सानो मुलुकमा जहाँ १० लाख पर्यटककहरु भित्र्याउनलाई धौ धौ भईरहेको छ यहाँ यत्रा संगठनहरुको आवश्यकता किन भयो होला भन्ने प्रश्न उठ्न थालेका छन् । देशको पर्यटन विकास, विस्तार तथा प्रवद्र्धनमा लागिरहेका संस्थाहरुको योगदानलाई नकार्न सकिदैन । तथापी एउटै व्यवसायको प्रतिनिधित्व गर्ने धेरै संस्थाहरुको आवश्यकतालाई सकारात्मक मान्न सकिन्न ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन ( पाटा) नेपाल च्याप्टर : जसलाई नेपाली भाषामा प्रशान्तक्षेत्र एशिया यात्रा संघ नेपाल शाखा भन्ने गरिन्छ । यस संस्थाको विधान २०६१ को प्रस्तावनामा प्रशान्त क्षेत्र तथा एशिया भित्रका विभिन्न मुलुकहरुमा अन्य बाहिरी मुलुकहरुबाट हुने, त्यस क्षेत्र भित्रबाट अन्य बाहिरी मुलुक तर्फ हुने तथा क्षेत्र भित्रै आपसी रुपमा आदान प्रदान हुने यात्रा व्यवसाय प्रवद्र्धन तथा आपसी सहजताका लागि सन् १९५१ मा स्थापित अन्तरराष्ट्रिय संगठन हो, प्रशान्त क्षेत्र एशिया यात्रा संघ आफ्ना सदस्यहरुका लागि व्यापार प्रवद्र्धन, ब्राण्ड निर्माण, मानव स्रोत विकास, सञ्जाल विस्तार, सोधकार्य तथा तथ्यांक प्रकाशन, पर्यटकीय संपदाको विकास, प्राचिन संपदाको संरक्षण जस्ता कार्य मार्फत सदस्य संस्थाहरुलाई सहयोग  पु¥याउने अन्तरराष्ट्रिय संस्थाको भावना अनुरुप नेपाल शाखाको रुपमा रही सरकार तथा पर्यटन क्षेत्रका अन्य संघ संस्थासँग समेत सहकार्य गर्दै नेपाली पर्यटन उद्योगको विकासका लागि समन्व्यकारी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ, प्रशान्त क्षेत्र एशिया यात्रा संघ नेपाल शाखाको विधान दर्ता ऐन २०३४ को अधिनमा रहि तर्जुमा गरिएको छ ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सको प्रस्तावना : नेपाल राज्यभर टुर्स एण्ड ट्राभल्स सव्वन्धि कार्य गर्ने नर्गे उद्देश्य राखि कम्पनी, फर्म, एजेन्सी आदि खोली व्यावसाय गरीआएका व्यावसायीहरुका विचमा आपसी हित, व्यावसायीक उन्नती र सामूहिक प्रयत्नवाट पर्यटन व्यावसायको विकास गरी देश विकासको काममा थोरैभएपनि योगदान युर्याउन सकिन्छ भन्ने उद्देश्यवाट प्रेरित भई नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स तत्काल प्रचलित संघसंस्था ऐन २०१६ अन्तरगत स्थापना भई संस्था ऐन २०३४ बमोजिम संचालन भई विभिन्न मितिमा संसोधन भई जारी गरीएको छ ।

नेपाल एसोसिएसन अफ टुर अपरेटर्सको प्रस्तावना : देशको संविधान र कानुनको परिधि भित्र रही नेपाल एसोसिएसन अफ टुर अपरेटरर्स ले संस्थागत रुपमा संगठित भई पर्यटन व्यवासयका विविध क्षेत्रलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपले प्रभाव पार्ने खालका सामाजिक कार्य गर्न आजको संर्दभमा आवश्यक भएकोले यो विधान वनाईएको छ ।

सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो नेपाल) को प्रस्तावना : नेपालको सेवामुलक पर्यटन उद्योग अन्तरगत ट्राभल तथा टुर व्यावसायीहरुलाई देशका अन्य विविध उद्योग पेशा र व्यासायमा संलग्न नागरिकहरु सरह नयाँ नेपाल निर्माणको अभियानमा लामवद्ध हुन र त्यसको लागी समग्र पर्यटन उद्योगको सम्भावीत विकास तथा योगदानलाई बढी ससक्त र उत्तरदायी बनाउने गम्भिर दायीत्वबोधबाट प्रेरितभई व्यवसायमा सदाचार, नैतिकता, हकहित, कर्तव्य र दायित्वप्रति सचेत, सजग र जागरुक बन्ने विशुद्ध सामाजिक भावनाबाट ओतप्रोत भई राष्ट्रको यूगीन परिवर्तनको जारी महान अभियानमा सहभागी हुन उत्प्रेरणा मिलेकाले स्थानीय अधिकारीको पूर्व स्वीकृति लिई सामाजिक संघसंस्था दर्ता ऐन २०३४ अन्तर्गत यो विधान निर्माण गरिएको छ । यो संस्था कुनै राजनीतिक विचारधाराबाट प्रेरित नभएको गैर मुनाफा मूलक, विशुद्ध सामाजिक, पर्यटन तथा यस सँग सम्वन्धित र यसका विचारमा चासो दिने, सम्वद्र्धन र प्रवर्धन गर्न समर्पित व्यक्ति एवं ट्राभल टुर्स व्यवसायीहरुको साझा संस्था हो ।

नेपाल पर्वतारोहण संघको प्रस्तावना : तत्कालिन समयमा संस्था रजिष्ट्रेशन ऐन २०१६ अन्तर्गत स्थापित भई विभिन्न समयमा विधान संशोधन भएर हाल लागू भएको विधानको प्रस्तावनाले कीर्तिमानी, पेसागत र खेलकुद जनित आरोहण गतिविधिहरुलाई राष्टिय र क्षेत्रिय स्तरमा अभिरुची जगाँउदै यसको श्रीवृद्धि गर्ने, पर्वतारोहण सम्वन्धि सिप र दक्षताको विकास गर्ने, पर्वतारोहण क्षेत्रको पेसागत तथा व्यवसायीक हक, हित र अधिकारको संरक्षण गर्दै पर्वतीय क्षेत्रको प्राकृतिक सौन्र्दय र वातावरणको संरक्षण गर्ने कार्यमा अग्रसर रहँदै विदेशी पर्वतारोहण तथा पर्यटकहरुलाई आकर्षित गर्ने, पर्वतीय गतिविधिहरु सँग सहकार्य गर्ने, पर्वतारोहण सम्वन्धी क्रियाकलापहरुको समन्वय गर्ने र पर्वतारोहण कार्यको सम्बद्र्धन र अभिवृद्धि गर्न सम्वन्धित निकायलाई सहयोग र सल्लाह प्रदान गर्नेगरी सहकार्य गर्ने, आन्तरिक र बाह्य पर्यटनको विकास अधिवृद्धिको लागि संघलाई अझ बढि सुसंगठित, सक्षम, सुदुढ र क्रियाशील बनाई नेपाललाई विश्वकै पर्वतारोहण एवम् पर्यटकीय गतिविधिमा अग्रणी राष्ट्रका रुपमा स्थापित गर्ने महत्वपुर्ण उद्देश्यका साथ संघको गतिशिलता, पारदर्शिता, निष्पक्षता र सामुहिकतालाई अक्षुण्ण राख्ने प्रतिवद्धता सहित यो प्रस्तावना तयार गरी विधान जारी गरीएको छ ।

होटल संघ नेपाल : होटल संघ नेपाल, नेपालको पर्यटन उद्योगमा आधा शताब्दी पुरानो संगठन भएको र यस संघठनले देशको पर्यटन उद्योगको प्रवर्धन, विकास र रोजगारीको सिर्जनामा महत्वपुर्ण योगदान पुर्याएको भन्ने दावी गरेको देखिन्छ । यस संघठनको विधानको प्रस्तावनामा खासै कुनै ठोस विषयहरुलाई उजागर नगरेतापनि उद्देशयहरुमा होटल उद्योगहरुलाई कानुन बमोजिम प्राप्त हुने अधिकारको संरक्षण गर्ने, गुणस्तरीय रोजगारीको सिर्जना गर्ने एक आपसमा सहकार्य तथा समझदारीको विकास गर्ने , होटल प्रसासनलाई एकरुपता कायम गर्ने, सदस्यहरुको विचमा उत्पन्न हुने विवादहरुलाई समाधान गर्ने, अन्तरराष्ट्रिय सम्वन्ध कायम गरी सझदारीको सिर्जना गर्ने, पर्यटन उद्योगलाई सुहाउदो कानुनको विकास तथा समयानुकुल संशोधन गर्नलाई खवरदारी गर्ने जस्ता कुराहरु विधानको उद्देश्यमा पररेका छन् ।

ट्रेकिङ्ग एजेन्टस् एसोसिएसन अफ नेपाल (टान) को विधान २०३५ संशोधन २०६५ को प्रस्तावना : पदयात्रा र हिमाल आरोहण लगाएत पर्वतीय पर्यटनका गतिविधिहरुको व्यवसाय संचालन गरी स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आवश्यक सेवा प्रदान गर्ने । ट्रेकिङ्ग एजेन्सीहरुको हक, अधिकार र हितको संरक्षण र सम्वद्र्धन गर्दै साहसिक तथा पर्वतीय पर्यटनको सेवाहरुलाई अझ व्यवस्थित र विस्तारितरुपमा देश विदेशमा प्रवद्र्धन गरी राष्ट्रको दिगो पर्यटन विकासको कार्यकमा नेपाल सरकारलाई आवश्यक सहयोग पु¥याउने साथै वर्तमान गनतान्त्रिक नेपालको स्थापना २०६२÷६३ मा भएको जनआन्दोलन–२ र विगतका वर्षहरुमा भएका जनयूद्धको अह्म उपलब्धी भएको कुरालाई मध्यनजर गरी नेपाली जनताको चाहना र आवश्यकता अनुरुपको व्यवसाय संचालन गरी समृद्ध नयाँ नेपालको निर्माणले मात्र ती तमाम ज्ञात अज्ञात शहिद प्रति साँचो अर्थमा सम्मान पुग्ने कुरा प्रति हामी आम पर्यटन व्यवसायीहरु सहमत हुँदै आगामी दिनमा राष्ट्र र समाज प्रति उत्तरदायी र जिम्मेवार पर्यटन व्यवसायको स्थापना गर्ने भन्ने प्रस्तावनामा उल्लेख गरिएको छ ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको विधानको प्रस्तावना : देशको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको माध्याम पर्यटन ब्यवसाय मार्फत गर्न सकिन्छ भन्ने कुरालाई हृदयगंमगरी यस क्षेत्रलाई उन्नत स्तरमा विकास, विस्तार, र प्रवर्धन गराउने उद्दश्यले पर्यटन क्षेत्रमा लामो समय व्यवसायीक क्षेत्रमा लाग्नु भएका, यसैक्षेत्रमा अध्ययन अनुसन्धानमा रहनुभएका र पर्यटन विज्ञको रुपमा परिचित हुनभएका ब्यक्तिहरुले पर्यटन क्षेत्रको अध्ययन अनुसन्धान गर्न र नेपालमा भएका प्राकृतिक साधन, श्रोत र संस्कृतिलाई विश्व समक्ष परिचित गरार्ई सम्पूर्ण पर्यटन व्यवसायीहरुको हक, हित र स्वार्थलाई सुरक्षित गर्ने लक्ष्य राखि यो नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन नामक संस्था नेपाल कानुन संस्थादर्ता ऐन २०३४ को अधिनमा रहि यो विधान तर्जुमा गरिएको छ ।

यसरी एउटै क्षेत्रमा कार्यगर्ने व्यवसायीहरुको संगठनहरु निर्माण भएका छन् । यी संगठनहरुका उद्देश्यहरुलाई अध्ययन गर्ने हो भने मुलत सवै संघसंस्थाहरुले आफ्ना सदस्यहरुको हरुको हक, अधिकार र हितको संरक्षण गर्ने कुरालाई जोड दिएका छन । साथ साथै देशको पर्यटनलाई प्रवद्र्धन तथा विकासमा सहयोग पुर्याउने कुराको उल्लेख गरिएको छ । यी मध्ये पाटा नेपाल च्याप्टरको उद्देश्य भने अलि भिन्न छ जसले देशको पर्यटनक्षेत्रलाई अन्तराष्ट्रिय स्तरसम्म प्रचार प्रसार गर्ने र पर्यटन व्यवसायी र सरकारको विचमा पुलको रुपमा कार्य गर्ने रहेको देखिन्छ । यो संगठनको संरचनालाई समेत राज्यको पर्यटन प्रवर्धनका महत्वपुर्ण निकायहरुलाई समेत आफ्नो संगठनको सदस्यता लिनुपर्ने गरी संगठन वनाएको देखिन्छ । कामको आधारलाई हेर्ने हो भने पाटा नेपाल च्याप्टरलाई मात्रै सशक्त पारेर सम्पुर्ण ट्राभल व्यवसायीहरुलाई एउटै संगठनको रुपमा विकास गर्न सकिने छ तर व्यवसायीहरुको विविधताका कारणले एउटै संगठनमा बसेर कार्य गर्ने परम्परा देखिएको छैन । देशको राजनैतिक परिवर्तन सँगसँगै पर्यटन क्षेत्रका संघ संस्थाहरुमा समेत देखिएको नेतृत्वको जडता देखि उग्रतासम्म पाउन सकिन्छ । शुरुवातीका दिनमा खुलेका संघ संस्थाहरुलाई तत्कालिन शासकहरुको आसेपासे देखि ढोकेपालेहरुले मात्र देशको पर्यटन व्यवसाय सञ्चालन गर्न सहजता हुने भएकोले त्यसवेलाको पर्यटन क्षेत्रका संघसंस्थाको भूमिकामा सोहि वर्गकोमात्र हालीमुहाली भएको देख्न सकिन्छ । लोकतन्त्रको पुर्नवहाली भएपछिको समयमा लोकतन्त्रवादी र अधिनायकवादी विचार राख्ने व्यवसायीहरुका विचमा टकरावको कारणले पर्यटन क्षेत्रमा च्याउ उम्रेजस्तो गरी पर्यटन क्षेत्रको विकास, विस्तार र प्रवर्धन गर्ने नाउँमा संघसंस्थाहरु खोल्ने कार्य जारी छ ।

एउटै खालका सेवा प्रदायकहरुको संगठनलाई एकरुपता कायम गरी प्रतिनिधत्व गराउन आवश्यक देखिन्छ । यदि हामीले यस व्यवस्थापनलाई कानुनीरुपमा नियमित गर्न सकेनौ भने मोफसलमा अनेकौं संगठनहरु जन्म लिने र भविश्यमा शक्ति र पहुँचलाई माध्याम वनाएर भाँडा थाप्नेहरुको संख्यामा वृद्धि भई हामीले परिकल्पना गरेको गुणात्मक पर्यटनको प्रतिफल प्राप्त गर्न सकिन्न ।

हाल सम्मको पर्यटकीय संघ संस्थालाई मुल्यांकन गरेर हेर्ने हो भने होटल संघ नेपालले देशको पर्यटनमा गरिएको होटलहरुको लगानी तथा प्रवर्धनमा गरिएका क्रियाकलापहरु निकै प्रभावकारी भएको विश्लेषण गर्ने गरेको छ । त्यस्तै नाटा र टान जस्ता संगठनहरुले समेत व्यवसायीहरुको हक, हित र पर्यटन प्रवर्धनको लागि महत्वपुर्ण भूमिका निभाएको दावी गर्दछन् । एनएमए भन्ने पर्यटन उद्योगमा देखिएको संस्थाले केहि हद सम्म राज्यका अन्य निकायलाई समेत समावेशी गरी संगठन निर्माण गरेको देखिन्छ जसमा पर्यटन व्यवसायी, पर्यटन श्रमिक र सरकारको समेत संलग्नता भई संगठित भएको संस्थााको रुपमा विद्यमान छ । जसले पर्वतीय पर्यटनको विकासमा उललेख्य योगदान गरेको छ र यो संस्थाले संसारका पर्वतीय संघ संस्थाहरु सँग सहकार्य गरी देशको पर्यटनलाई परिचित गराउने कार्य गरेकको छ । तथापी यस्ता संस्थाहरुको कार्य केहि शहर तथा केहिस्थानहरुमा मात्र सिमित भएकोले आम पर्यटन व्यवसायीहरुले आफ्नो प्रतिनिधित्व हुने गरी संघ संगठनहरु निर्माण भएको महसुस गर्न सकेका छैनन । नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन नेपालको पर्यटन क्षेत्रको उत्तरआधुनिकवादको शैलीमा स्थापित भएको छ जसले पर्यटनक्षेका सम्पुर्ण विधाहरुलाई समेट्ने कोशिश गरेको छ । यस संगठनले व्यवसायीमात्र नभएर पर्यटनक्षेत्रमा अध्ययन, अनुसन्धान, अध्यापन तथा लामो समय सरकारी तथा गैर सरकारीक्षेत्रमा महत्वपुर्ण जिम्वेवारी लिएर कार्य गरिसकेका व्यक्तिहरुलाई समेत समेटेर विशाल संगठनको निर्माण तर्फ अग्रसर रहेको छ । आफ्नो स्थापनाको छोटो समयमा नै देशको ७ वटै प्रदेशमा सञ्जालहरुको गठन गरी पर्यटनको गन्तव्यस्थानहरुको पहिचान र चुनौतिका विषयमा नेपाल सरकारलाई ठोस सुझाव पेश गरेको छ । जसको सहि कार्यान्वयन भएमा देशको पर्यटन उद्योगले काँचुली फेन सक्ने अवधारणाहरु समेटिएका छन् । यस संगठनले यहि हिसावले अगाडि कार्य गर्दै जाने हो भने नेपालको पर्यटनको संगठनहरुको नेता संगठनको रुपमा कार्य गर्न सक्ने निश्चित देखिन्छ ।

प्रायजसोले देशको पर्यटन विकासलाई टेवा पुर्याउने मूल उद्देश्य राखेर खोलिएका यी संघ संस्थाहरुले आफु नेता वन्ने नाउँमा व्यवासायीहरुका समय, साधन र श्रोतको दोहन गरीरहेका छन भन्दा कुनै आपत्तीहोला जस्तो लाग्दैन । राज्यले पर्यटनक्षेत्रमा गर्ने कार्यहरुमा कुन संस्थासँग सम्वन्ध राखेर प्रवद्र्धानात्मक कार्य सम्पन्न गर्ने भन्नेमा समेत दुविधा सिर्जना भएका छन् । नेता देखि मन्त्री सम्मको तोक आदेश लिएर राज्यका विभिन्न निकायहरुका पदाधिकारीहरुलाई कार्यक्रम तथा बजेट व्यस्थापन गरिदिन भनि अनुरोध गर्नेको भिडभाड नै हुने गरेका छन् । त्यसकारण राज्यले यस्ता व्यवसायीक संघ संस्थाहरुलाई खासगरी एउटै उद्देश्य भएका तथा एउटै प्रकृतिका व्यवसाय भएका संघसंस्थाहरुलाई एकिकृत हिसावले सम्पर्कमा रहनेगरी नीति वनाईन आवश्यक देखिन्छ ।

संसारको पर्यटन उद्योगको विकास, प्रवर्धन तथा विस्तारको महत्वपुर्ण भूमिका निजीक्षेत्रको सक्रियतामा नै भएको देखिन्छ । हरेक मुलुकका सरकारले पर्यटन प्रवर्धनको लागि आवश्यक संरचनाहरुको विकास र आवश्यकीय नीतिहरुको तर्जुमा गरेको देखिन्छ । त्यसकारण पर्यटन कानुनमा समेत निजीक्षेत्रको सहभागितालाई साझेदारीकोरुपमा अंगिकृत गरेको पाईन्छ । पर्यटनको महत्वपुर्ण गन्तव्यहरु जस्तो थाईल्याण्ड, सिंगापुर, मलेसिया, दक्षिण कोरीया, साउथ अफ्रीका, केन्या, तान्जानिया, कम्वोडिया, जस्ता देशहरुले निजीक्षेत्रका पर्यटन व्यासायीहरुको राष्ट्रिय संघठनहरुका प्रतिनिधीहरुलाई मुलुकको पर्यटन प्रवर्धन तथा बजारीकरणको लागि प्रत्यक्ष संलग्नता गराएको देखिन्छ । केन्याको पर्यटन ऐन २०११ को दफा ३२ को १ को (f)(i)ले केन्याको पर्यटन वोर्डमा २ जना मनोनयन गरी सिफारिस गर्नलाई व्यवस्था गरेको छ जसले निजीक्षेत्रको व्यवसायीहरुको संगठनलाई मान्यता दिएको देखिन्छ । त्यसैगरी दक्षिण कोरीयाको पर्यटन प्रवद्र्धन ऐनको दफा ४१ र४२ ले पर्यटन संघ सम्वन्धित व्यवसायीहरुको संगठनलाई पर्यटन मन्त्रालयमा दर्ता गर्नु पर्ने व्यवस्था गरेको छ । नेपालको संर्दभमा हेर्दा नेपाली पर्यटन व्यवसायीहरुलाई महत्व दिई ऐन कानुनमा समेत व्यवस्था गरी निजी तथा सार्वजनिक व्यवस्थापनको अवधारणामा नेपाल पर्यटन वोर्ड ऐन वनाईएको छ । पर्यटन प्रवर्धनका सवालमा समेत निजी क्षेत्रका पर्यटन व्यवायीहरुको संगठलाई प्राथमिकतामा राखि विभिन्न समारोहहरु तथा नीति निर्माणमा सहभागिता गराईएको पाईन्छ ।

तर नेपालको सन्र्दभमा कुन संगठनलाई प्राथमिकता दिने भन्ने सन्दर्भमा अझै ठोस नीति निर्माण भएको छैन । संगठनहरुलाई मन्त्रालयमा दर्ता गर्नु पर्ने र एउटै प्रकृतिका व्यवसायका अन्य संगठनलाई मन्त्रालयले दर्ता बाट रोक लगाउन आवश्यक देखिन्छ । नेपालमा पहुँच र शक्तिका आधारमा संगठनहरु निर्माण गरिने र कुनै संगठनका मापदण्ड नभएकाले जस्तो संगठनले पनि सहज पहुँच बनाउन सक्ने परम्परा रहेको देखिन्छ र केहि व्यक्तिहरुले संधै पर्यटन प्रवर्धनको ठेक्का लिई राख्ने गरी समाजलाई भ्रम सिर्जना गरेको समेत पाईन्छ । त्यसकारण समेत एउटै खालका सेवा प्रदायकहरुको संगठनलाई एकरुपता कायम गरी प्रतिनिधत्व गराउन आवश्यक देखिन्छ । यदि हामीले यस व्यवस्थापनलाई कानुनीरुपमा नियमित गर्न सकेनौ भने मोफसलमा अनेकौं संगठनहरु जन्म लिने र भविश्यमा शक्ति र पहुँचलाई माध्याम वनाएर भाँडा थाप्नेहरुको संख्यामा वृद्धि भई हामीले परिकल्पना गरेको गुणात्मक पर्यटनको प्रतिफल प्राप्त गर्न सकिन्न । राज्यले कुनै संगठनसँग साझेदारीमा कार्य गर्ने हो भने त्यस्ता संगठनहरुको सदस्यता, खर्च गर्न सक्ने क्षमता, कार्ययोजना, सक्रियता तथा निरन्तरता जस्ता कुराको कार्यविधि निर्धारण गरिन आवश्यक देखिन्छ ।

अन्त्यमा, देशको पर्यटन विकास, विस्तार तथा प्रवर्धनमा लागिरहेका संस्थाहरुको योगदानलाई नकार्न सकिदैन । तथापी एउटै व्यवसायको प्रतिनिधित्व गर्ने धेरै संस्थाहरुको आवश्यकतालाई सकारात्मक मान्न सकिन्न । लोकतान्त्रिक मुलुकमा संघ संस्था खोल्ने, सञ्चालन गर्ने र विस्तार गर्ने कार्यलाई सकारात्मक मान्न सकिन्छ तर व्यवसाय गर्ने व्यक्तिहरुले कुनै संस्थाको सदस्यता लिईरहँदा संस्थाको क्षमता, कार्य र सक्रियतालाई भने ध्यान दिन आवश्यक देखिन्छ । मोफसलमा खुलेको संगठनहरुको सदस्यता लिएर केहि सिमित व्यक्तिहरुको स्वार्थलाई काम गरिदिने मात्र हुन सक्दछ र यस्ता संगठनले वास्तविक रुपमा पर्यटनको विकास प्रवर्धन गर्न सक्दैन । आउदाँ दिनमा नेपालको पर्यटनक्षेत्रको नियमनकारी निकायले समेत पर्यटनसँग सम्वन्धित संघसंस्थाहरुको विषयमा गहन अध्ययन गरी व्यवसायीहरुको संख्याको आधार निर्धारण गरिनु र यथार्थ मूल्यांकन गरी साझेदारीका अवधारणाहरुलाई अघि लैजान आवश्यक छ ।

 २०७५ असार ३ गते प्रकाशित 

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com