Logo

भारतीय र चिनियाँ पर्यटक बढे, छ महिनामै पाँच लाखले भ्रमण गरे

काठमाडौँ । सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६० हजार ३०४ पर्यटकले नेपालको भ्रमण गरेका थिए ।

पर्यटकीय दृष्टिकोणले ‘अफ सिजन’ मानिने बर्खा याममा पनि पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको तथ्यांकले देखाएको छ ।

पर्यटन प्रवद्र्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले ‘अफ सिजन’मा पनि पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले विभिन्न प्रवद्र्धनात्मक अभियान चलाएको थियो ।

तुलनात्मक रुपमा कम पर्यटक आउने मौसममा पनि बाह्य पर्यटकको संख्या बढ्नुले उत्साहित बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताउनुभयो ।

“अफ सिजनमा पनि पर्यटकको संख्यामा उत्साहजनक वृद्धि भएको छ । पूर्वाधारको सीमिततामा थप पर्यटक भित्र्याउने अभियान चलाएका कारण यसमा सकारात्मक प्रभाव परेको देखिन्छ । आगामी दिनमा प्रवद्र्धनात्मक गतिविधिलाई थप प्रभावकारी बनाइन्छ”, उहाँले भन्नुभयो ।

पर्यटक वृद्धि हुनुको पछाडि निजी क्षेत्रले गरेको प्रयास सकारात्मक देखिएको छ । नेपालका व्यवसायीले भारतका विभिन्न शहरमा पर्यटन प्रवद्र्धनको काम गरेका छन् । पोखराका पर्यटन व्यवसायीले गर्मी छल्न ‘पोखरा आउनुहोस्’, ‘चलो पोखरा’ जस्ता अभियान सञ्चालन गरेका छन् ।

जुन महिनामा बंगलादेशी पर्यटकको संख्या अकस्मात् बढेको छ । विभागको तथ्यांकअनुसार सन् २०१८ को जुनमा एक हजार ८५० बंगलादेशी पर्यटक नेपाल आएका थिए  । सन् २०१७ को जुनमहा कूल तीनजना बंगलादेशी पर्यटक मात्र नेपाल आएका थिए ।

भारतीय र चिनियाँ पर्यटक बढे

पछिल्लो तथ्यांकअनुसार नेपाल आउने भारतीय पर्यटकको संख्यामा वृद्धि भएको छ । बोर्डका अनुसार पछिल्लो छ महिनामा ९६ हजार ३७२ भारतीय पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको छ महिनाको तुलनामा १९ प्रतिशतले बढी हो ।

यस्तै चीनबाट ७१ हजार हजार ३७९ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । प्रतिशतका आधारमा चीनबाट नेपाल आउने पर्यटकको संख्यामा ३४।१ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकाबाट ४३ हजार ८१६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १५।३ प्रतिशत बढी हो । जापानबाट १३ हजार ८५१ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

दक्षिण एशियाली मुलुक भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट कूल एक लाख ३१ हजार ७३० पर्यटक नेपाल भ्रमणमा आएका छन् । गत आवको सोही अवधिमा एक लाख २३ हजार ३८ पर्यटक नेपाल आएका थिए । यो गत वर्षको सोही अवधिको तुलनामा २५।३३ प्रतिशतले बढी हो ।

युरोपेली मुलुक अष्ट्रिया, बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, फ्रान्स, जर्मनी, इजरायल, इटाली, नेदरल्याण्ड, पोल्याण्ड, स्पेन, स्विडेन, स्विट्जरल्याण्ड, संयुक्त अधिराज्य बेलायत र रुसबाट पछिल्लो छ महिनामा एक लाख दुई हजार ४०४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा ती देशका ९१ हजार ३८५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो १९।६९ प्रतिशतले बढी हो ।

अष्ट्रेलिया र न्यूजिल्याण्डका १८ हजार ६७३ जनाले छ महिनामा नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा १७ हजार ३०७ जनाले नेपाल भ्रमण गरेका थिए । यो करीब ३।५९ प्रतिशतले बढी हो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरेको छ । करीब २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यसमेत राखिएको छ । त्यसका लागि भौतिक पूर्वाधारको विकास र पर्यटनमैत्री संरचनाको विकासमा ध्यान दिइएको छ । सरकारले विदेशमा रहेका कूटनीतिक नियोगलाई पनि नेपालका बारेमा प्रचारप्रसार गर्न र पर्यटकलाई नेपाल भ्रमणमा पठाउन आग्रह गरेको छ । विदेशका विभिन्न शहरमा नेपाल प्रवद्र्धनका कार्यक्रम भइरहेका छन् । गैरआवासीय नेपाली संघले समेत नेपाल प्रवद्र्धनका कार्यक्रम गरिरहेका छन् ।

होटल एशोसिएसन अफ नेपालका महासचिव विनायक शाहले पर्यटक आगमनमा वृद्धि हुनुलाई सकारात्मक रुपमा लिनुभएको छ । राजनीतिक स्थिरता, स्थिर सरकार तथा नीतिगत रुपमा गरिएका केही सुधारका कारण पर्यटक बढ्न थालेको जानकारी दिँदै उहाँले भन्नुभयो, “सन् २०१७ देखि नै पर्यटक आगमनमा वृद्धि भएको हो । यसले सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्षलाई समेत सकारात्मक सन्देश प्रदान गर्ने र सफल बनाउन लाग्नुपर्छ ।”

नेपाल वायु सेवा निगमले हालै भित्र्याएको वाइड बडी जहाज, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भारत भ्रमण र आगामी दिनमा हुने चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमणले समेत पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने उहाँको विश्लेषण छ ।

टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहालले तुलनात्मक रुपमा पर्यटकको वृद्धि हुनुलाई सकारात्मक रुपमा लिन सकिने टिप्पणी गर्नुभयो । उहाँले पछिल्लो समय धार्मिक पर्यटनमा वृद्धि भएको भए पनि पदयात्रामा जाने पर्यटक भने कमै मात्रामा नेपाल भित्रिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पर्यटन क्षेत्रमा फैलाइएको गलत अफवाहलाई नियन्त्रण गरेर स्वच्छ, मर्यादित, व्यवस्थित पर्यटन प्रवद्र्धन गर्नुपर्छ । त्यसका लागि सरकार, व्यवसायी सबैले सकारात्मक पहल गर्नु आवश्यक छ ।” रासस

२०७५ साउन ४ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com