back
NMB ad

निर्दाेष जीवन को कथा संग्रह “मैयाँ“ बाट शीर्ष कथा

Kumari bank ad

 

 निर्दाेष जीवन 

मैयाँलाई कतिखेर घर पुगुलाँ र आमालाई आफू कक्षा सातमा प्रथम भएको खुसीको खबर सुनाउँला भन्ने लागिरहेको थियो । मैयाँ खुसीले अघिपछि भन्दा छिटो घर आइपुगी । उफ्रिँदै र बुर्कुसी मार्दै । ऊ घर आइपुग्दा आगनमा मान्छेको भीड थियो । भीड देखेपछि मैयाँको मुटु जिरिङ्ग ग¥यो । डर लागे जस्तो भयो । के भएको हो भन्ने जिज्ञासा पाल्न थाली उसले ।

पन्चमीका पाइला गन्दै मैयाँ घरको ढोकामा के पुगेकी थिई, ऊ एक्कासी चिच्याउन थाली । उसको मुखबाट झर्झराउँदो आवाजमा ‘आमा’ शब्द निस्कियो । जसलाई खुसीको खबर सुनाउन उफ्रँदै मैयाँ घर आएकी थिई, उही मान्छे हात फालेर पिँढीमा लडिराखेको देखी । त्यो मान्छे, मैयाँकी आमा थिइन् ।

आफू प्रथम हुँदा कति खुसी भएकी थिई मैयाँ । यो खबर सुनेर आमा पनि खुसीले उफ्रिनुहुन्छ भन्ने सोचेकी थिई । तर, अब मैयाँको उफ्राइले कुनै अर्थ राखेन । ऊ फतलक्क गली । हातगोडा लुला भइगए । अब आमा शब्द र सम्झनामा सीमित भएकी थिइन् । तस्बिर र हृदयमा रहने बनिन् । ‘बाउ मरे सूरा, र आमा मरे टुहुरा’ भनेझैँ भई मैयाँ ।

मृत्युचेत मैयाँमा पसिसकेको थिएन । मात्र उसलाई मान्छे जन्मेपछि मर्छ भन्ने थाहा थियो । त्यसमाथि खाँदाखाँदैको गास जस्तो अवस्थामा छोडेर आमाले यति चाँडो आफूलाई छोडेर जानुहोला भन्ने उसलाई लागेकै थिएन ।

आमाको शोकमा मैयाँ विह्वल बनेर रोई । ऊ आफू मात्रै रोइन, उसको कोमल गलाबाट रूँदारूँदा सुकिसकेको रूवाइले अरुलाई पनि रूने बनाई । त्यहाँ सबैभन्दा बढी रूने पनि उही नै थिई । आमाका गोडा छेउमा बसेर मैयाँले धेरैथोक सोची ।

उसको रूवाइले सबैलाई द्रवित बनायो । छिमेकीले पिँढीबाट उठाएर वर ल्याए । र पनि ऊ रून छोडिन । सुकेको गला र आवाजले मैयाँ अझै पनि हिक्कहिक्क गर्दै रोइरही । आमाको वियोगमा रोइरहेकी मैयाँले अब बालाई सम्झन थाली । बा, मैयाँका लागि विश्वास कम र डर बढी थिए ।

आमा नै नभएपछि भविष्यकी एक अर्की आमा अर्थात् मैयाँले सुरक्षित महसुस गर्न सक्ने वातावरण भएन । बा जहिल्यै रक्सी पिएर, जुवातास खेलेर ढुनमुनाउँदै घर आउँथे । नानाथरि गाली बक्थे । हुँदो नहुँदो बोल्थे । मैयाँको आफ्नै अस्तित्व संकटा पर्दै गयो ।

केही समयमै बाले दोस्रो बिहे गरे । सामान्यतया दोस्रो बिहे गर्दा छोराछोरी दुःखी हुन्छन् । तर, मैयाँ खुसी भई । उसलाई अब आफू एक्ली नभएको र बालाई सम्हाल्ने कान्छीआमा भएकोमा थोरै भए पनि खुसी जनाई । तर, आमा गुमाउनुको मूल मर्म छातिमै थियो, बिचरीको ।

कान्छी आमा आउनासाथ घरको वातावरण पूरै फेरियो । फेरियो भन्दा पनि सासन चल्न थाल्यो । त्यसको मारमा परी मैयाँ । उसले पढेकोदेखि खाएको, लाएको, हिँडेकोसम्म कान्छी आमाले रिस गर्थिन् । तर, बालाई ठेगानमा राख्ने कान्छीआमाको शक्ति देखेर ऊ आंशिक खुसी पनि थिई ।

मैयाँको सीप कसैका अघिल्तिर चल्दैन । आफ्नो बाबुको अगाडि होस् या कान्छीआमाको अगाडि । कापी–कलम र किताब समाउने मैयाँका हातले अब हँसिया, डोको, नाम्लो समाउने भए । आफ्नै घरको अघिल्तिरबाट साथीसँगी स्कुल गएको देख्दा उसको मन गाँठो पथ्र्यो । घरकै कामधन्दा, गोबर फाल्ने, चुहोचौको गर्ने, घाँस–दाउरा अनि कुँडो–पराल गर्न उसलाई लगाइयो । कामले पढाइ खाइदियो । दुःख त बिचरीलाई त्यतिबेला लाग्थ्यो, जतिबेला मरिमेटेर घरको कामधन्दा गर्दा पनि कान्छीआमाबाट जस मिल्दैनथ्यो ।

कान्छीआमालाई देख्यो मैयाँलाई चुल्ठो समाएर लछारपछार पार्दिउँझैँ हुन्थ्यो । तर, एकछिनमा आफैँलाई सम्हाल्न पुग्थी । यदि आफूले कान्छीआमासँग यस्तो व्यवहार गरेको खण्डमा घरबाट निस्कनुपर्छ । अनि निस्केर कतै जाने ठाउँ पनि छैन भन्ने उसलाई भलिभाँती थाहा थियो । त्यसैले ऊ चुपचाप सहन सक्नेसम्म सहँदै गरी ।

‘मैयाँ’ सुरिलो आवाजमा कसैले मैयाँलाई बोलायो । ऊ यताउति फर्केर हेरी ।

‘यता के यता’ उसले आफू यहाँ छु भनेर मैयाँलाई देखाई । बल्ल देखी मैयाँले ।

एकछिन तलमाथि हेरिरही । आवाज बिल्कुल चिनेको जस्तो लाग्यो । तर, पहिरनले अलमल्ल परी मैयाँ ।

‘चिनिनौ र मैयाँ’ आफूलाई चिनाउ खोजी अर्कीले– ‘म झुमा के त । हामी सँगै पढेको होइन सातसम्म ’

‘ए झुमा पो’ मैयाँ झल्याँस्स भई । फेरि एकपटक उसलाई शिरपाउ हेरी । आखिर, झुमा नै हो रहिछ ।

मैयाँ सम्झिन्छे, कुनैदिन झुमा र ऊ सँगै स्कुल जान्थे । सँग घर फर्किन्थे । सात कक्षासम्म सँगै उनीहरुले पढेका थिए । बीचैमा झुमालाई उसका काकाले सहरको कुनै रेस्टुरेण्टमा जागिर लगाइदिए । त्योसँगै छुटेको थियो दुवैको साथ ।
मैयाँले झुमालाई आफ्नो जीवनको अँध्यारो पाटो बताई । मैयाँका कुरा सुनिसकेपछि झुमाले उसलाई भनि– ‘मैयाँ यदि अप्ठ्यारो मान्दिनौ भने हिँड उतैतिर जाम । रेस्टुरेण्टमा कमाइ पनि राम्रै हुन्छ । मलाई खान, लाउन पुगेकै छ । गाउँमा भन्दा त कति हो कति सुख हुन्छ सहरमा । बरू म आफ्नो साहुलाई भनेर मैले नै काम गर्ने रेस्टुरेण्टमा काम लगाइदिन सहयोग गर्छु ।’

सहर र पैसा सुनेपछि मैयाँको अनुहारमा हराएको खुसी फर्कियो । ऊ खुसी भई । उक्त खुसी लामो समयसम्म कायम राख्न एकरात मैयाँ घरबाट निस्किई । ऊ निस्केको कसैले थाहा पाएनन् । अनि मैयाँ र झुमा एकसाथ सहर पुगे ।

सहर आएपछि केहीदिन मैयाँ झुमाको डेरामा बस्न थाली । झुमा बेलुका रेस्टुरेन्ट जाने गर्थी भने मैयाँ घर कुरेर बस्थी । बिहान मात्र झुमा घर आउँथी । । झुमाको जस्तै प्रगति गर्ने मैयाँको रहरले मुना हाल्न थालिसकेको थियो ।

केहीदिन बिते । झुमाले साथी मैयाँलाई आफूले काम गर्ने रेस्टुरेन्टमा काममा लगाइदिई । सुरू–सुरूमा त मैयाँलाई रेस्टुरेन्टको काम गर्न साह्रै अप्ठ्यारो भयो । बिस्तारै झुमाको सहयोगले गर्दा ऊ छिट्टै रेस्टुरेन्टको वातावरणमा घुलमिल भई । काम सिक्दै र गर्दै गई । यसरी मैयाँले काम गरेका वर्षदिन भइसक्दा पनि सोचे जस्तो पैसा कमाउन भने सक्दिन । तर, झुमाले कसरी कमाइ होला पैसा भनेर ऊ छक्क पर्न थाल्छे ।

एकदिन अचम्म भयो । रेस्टुरेन्टमा एकजना ग्राहकले मैयाँलाई शारीरिक सम्पर्कको निम्ति प्रस्ताव राख्यो । ऊ रिसले चुर भई । अनि ग्राहकको गालामा कसेर एक थप्पड लगाइदिई । यो कुरा उसले आफ्नी साथी झुमालाई सुनाउँदा, झुमा मूच्र्छा परी–परी हाँसी । किनकि, झुमाको जीवनमा पनि यस्ता घटना घटिरहेका थिए । सुरू–सुरूमा त झुमाले पनि मैयाँले जस्तै कैयौ“ ग्राहकको गालामा थप्पड लगाएकी हो । तर, सहरको जीवन, त्यसमाथि पनि सहरको महँगाइको कारण झुमालाई आफ्नै पेट पाल्नसमेत साह्रै गाह्रो प¥यो । त्यसपछि नै जीवनयापनको निम्ति बाध्य भएर झुमाले यस्तो काम गर्न थाली । पैसासँग आफ्नो इज्जत साट्न मन्जुर भई ।

जब मैले शरीर बेच्न थालेँ, कमाइ पनि राम्रो हुन थाल्यो’ झुमाले निर्धक्क मैयाँलाई सुनाई– ‘यहाँ पैसा भएपछि नै प्रगति भएको मानिन्छ । तर, यसमा मलाई कुनै पश्चाताप छैन । सहरमा सुखमय तरिकाले बाँचेकै छु क्यारे ।’

झुमाका कुरा सुनेर मैयाँ आश्चर्यचकित भई । एकोहोरो हेरेको हे¥यै भई । कुरा एक मन त झुमाको कुरा ठीक हो जस्तो पनि लाग्यो मैयाँलाई । आखिर भोको पेट लिई बाँच्न पनि त सकि“दैन भन्नेसम्म ऊ पुगी । ‘बाँच्नका लागि केही न केही त गर्नैपर्छ’ मुटु दह्रो गरी ।

मैयाँ अब सहरमा शरीर बेच्न राजी भई । मोलतोल गरेर ऊ ग्राहकसँग बस्न थाली । उसका लागि ग्राहक अब देवता बन्न थाले । मीठो खान, राम्रो लाउन सक्ने भई हेर्दाहेर्दै । जे होस्, मैयाँले छोटो समयमा राम्रो प्रगति गरी । उसलाई जे कुराको अभाव थियो, त्यो पाउन थाली । उसको शरीर नै उसको परिवर्तन र प्रगतिको कारक बन्न पुग्यो । आफैंलाई धन्यवाद दिई ।

एकदिनको कुरा हो, मैयाँ रेस्टुरेन्टबाट छिट्टै घर फर्किई । उसको शरीर एकदमै थकित र गलित थियो । उसलाई बेसरी ज्वरो पनि आइरहेको थियो । अनुहार रातो थियो । चिटचिट पसिना पनि आइरहेको थियो ।

‘के भयो मैयाँ ’ झुमाले आफ्नो हात उसको निधारमा राख्दै भनि– ‘तिमीलाई त ज्वरो आएको जस्तो छ । हिँडिहाल अस्पताल ।
झुमाले उपचारका लागि मैयाँलाई अस्पताल लैजान्छे । सबै जेकचाँज हुन्छ । तर, रिपोर्टमा भने मैयाँलाई एचआइभी भएको संकेत देखिन्छ ।

‘मैयाँ लौन यो के गरिस् तै“ले ? रिपोर्ट आएपछि झुमा मैयाँलाई अँगाल्दै रून थाल्छे । ऊ आफैँ छाँगाबाट खसेझैँ बन्छे । झुमा आफू पनि त्यही काममा संलग्न रहेकोमा कतै मलाई पनि एचआइभी त भएको छैन भन्ने प्रश्न उसको दिमागमा घुमिरहन्छ । टाउको दुख्न थाल्छ ।

मैयाँ पनि रून थाली ।

‘हेर मैयाँ, अब रोएर केही हुनेवाला छैन, जे नहुनु थियो, त्यो भइसक्यो । आफूलाई सम्हाल्ने कोसिस गर् मैयाँ । तै“ले त पैसा कमाएर राम्रो लाउने, मीठो खाने अनि मैलेजस्तै सुखी जीवन बिताउने सपना देखेकी थिइस् । तर, आफ्ना सपना सबै आफ्नै कारणले चकनाचुर पारिस् । पैसाका लागि आफ्नो जिन्दगीलाई नै बर्बाद पारिस् । अब तै“ले कमाएका यी सबै पैसाको अब के काम ? झुमाले रोइरहेकी मैयाँलाई आफ्नो अँगालोमा राखेर सम्झाई ।

‘अब म बाँच्दिन’ मैयाँलाई यस्तो लाग्यो ।

अब मैयाँको कथा सार संक्षेपमा यसरी पढ्न सकिने भयो–

मैयाँलाई आमाले छोडेर गएपछि ऊ टुहुरी भई । बाले कान्छीआमा ल्याए । कान्छीआमा र बा दुवैले मैयाँलाई सताए । उसले त्यो सहन सकिन । स्कुल पढ्दाकी आफ्नी साथी झुमा गाउँ गएको मेसोमा पैसा कमाउने रहरले उसँगै सहर आई । रेस्टुरेन्टमा काम सुरू गरी । बिस्तारै शरीर बेच्न थाली । मनग्य पैसा कमाइ पनि गरी । तर, पैसा कमाउने लोभमा उसले अर्को कमाइ गरी, एचआइभी एड्स ।

अब मैयाँ जति बाँच्छे, त्यो बोनसको जीवन हुनेछ ।

वि.सं.२०७५ भदौ १८ सोमवार १४:५९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...