काठमाडौं । गत सालको तिहारमा भन्दा यस वर्षको तिहारमा मखमली र सयपत्री फूल मंहगिने भएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष फूलको उत्पादन नबढेको तर, फूलको माग गर्ने बढेका कारण यो वर्षको तिहारमा फूलको भाउ बढ्ने भएको हो ।
फूलको थुंगा र मालाको मूल्य तिहारमा सामान्यतया महँगिने गरेको छ । अहिले मखमली ४० थुँगा फूलको मालाको मूल्य प्रतिगोटा ४० देखि ५० रुपैयाँ छ । तिहारसम्म प्रतिगोटा सय रुपैयाँसम्म पुग्ने व्यापारीहरु बताउँछन् । त्यसैगरी, अहिले सयपत्री फूलको माला एक सय रुपैयाँ देखि एक सय २० रुपैयाँ बिक्री हुँदै आएको छ । तर, तिहारमा भने त्यही सयपत्री फूलको माला प्रति माला फूलको माला प्रतिगोटा १ सय ५० देखि २ सय रुपैयाँ दरले बिक्री हुने गर्दछ ।
तिहारको पाँच दिन घर, कार्यालय सजावटदेखि पूजाका लागि फूलको थुंगा र मालाको खपत उच्च हुने गर्छ । तिहारमा बढी फूल चाहिने भएका कारण विदेशबाट समेत फूलको आयात हुने गरेको छ । अन्य दिनमा स्वदेशी फूलले पुग्ने भएपनि तिहारलगायतका चार्डपर्वमा भने विदेशबाट आयात गर्नु पर्ने हुन्छ ।
तिहारमा उच्च माग हुने सयपत्रीको फूल र मालामा मुलुक नेपाल आत्मनिर्भर हुन थालेको छ । विगतका तिहारमा ३० प्रतिशतसम्म भारतबाट माला र फूल आयात भइरहेकोमा यो वर्ष बढीमा २० प्रतिशत मात्रै आयात हुने व्यवसायीको भनाइ छ । तिहारमा मात्रै खपत हुने मखमलीमा भने मुलुक आत्मनिर्भर छ ।
व्यवसायीका अनुसार यो पाँच दिनमा करिब ५ लाखवटा सयपत्रीका माला खपत हुने गरेका छन, त्यसमध्ये करिब ४ लाख स्वदेशी फूलकै माला खपत हुने व्यवसायीहरू बताउँछन् । भारतीयभन्दा नेपाली फूल ताजा भएका कारण उपभोक्ताको पहिलो रोजाइ नेपाली फूल हुने व्यवसायीको भनाइ छ । भारतबाट माला नओइलाओस भनेर चिसोमा राखेर ढुवानी गरिन्छ । जसकारण बजारमा उपलब्धमध्ये हेर्दा नओइलाएको तर छाम्दा चिसो हुने अधिकांश माला भारतबाट आयात हुने गरेको व्यवसायीको भनाइ छ ।
नेपली माला भन्दा भारतबाट आयात भएको माला तुलनात्मक रूपमा आकर्षक डिजाइनले बुन्ने भएका कारण उपभोक्ताको रोजाइमा पर्दै आएका छन् । तिहारलाई लक्षित गरि फूलहरु फुलाउने गरिएको छ । दसैँको तुलनामा तिहार मनाउनका लागि काठमाडौंमा धेरै मानिस जम्मा हुने गर्छन् । त्यसैले यो वेला काठमाडौंमा फूलको गुच्छा र मालाको माग उच्च हुने गरेको छ ।
व्यवसायीका अनुसार काठमाडौं बजारलाई लक्षित गरी चन्द्रागिरि, टोखा, रामकोट, चाँगुनारायण, दधिकोटलगायतका क्षेत्रमा व्यावसायिक सयपत्रीको खेती गरिएको छ । ‘स्थानीय किसानले आफ्नै खेतबारीमा तथा व्यवसायीले जग्गा लिजमा लिएर काठमाडौंको काँठ क्षेत्रमा सयपत्रीको खेती गरेका छन् । त्यहीँबाट तिहारको मागअनुसार आपूर्ति हुन्छ त्यस्तैगरी छिमेकी जिल्ला धादिङ, मकवानपुर र नुवाकोटबाट समेत सयपत्री आपूर्ति हुने गरेको छ । घर, कार्यालय सजावटका लागि माग बढेपछि विभिन्न नर्सरीले गमलामा सयपत्रीको बिरुवा उपलब्ध गराउन थालेको उपभोक्ताको भनाइ छ ।
२०७५ कार्तिक १२ गते प्रकाशित
वि.सं.२०७५ कात्तिक १२ सोमवार ०९:०४ मा प्रकाशित