काठमाडौं । माथिल्लो तामाकोशीको सेयर तीन हप्ता भित्रै नेपाल स्टक एक्चेन्ज (नेप्से)मा सूचीकृत हुँदैछ । त्यसपछि सहज रुपमा उक्त कम्पनीको सेयर खरिद बिक्री गर्न सकिने छ ।
अहिले तामाकोशीको सेयर खरिद गरेका लगानीकर्ताले उक्त सेयर कतिमा कारोबार होला ? भन्दै एक अर्कालाई सोध्न थालेका छन् । सेयर बजार निरन्तर घटेकाले माथिल्लो तामाकोशीको सेयर पनि धेरै माथि नजाने केही लगानीकर्ताको तर्क छ । तर, अर्काथरी लगानीकर्ता भने राष्टिय गौरवको नेपाली लगानीमा निर्माण हुन लागेको देशकै ठूलो आयोजना भएकाले सेयर मूल्य अन्य साना तिना कम्पनीको भन्दा निकै माथि हुने आँकलन गरेका छन् ।
अहिलेको बजारमा पनि तामाकोशीको सेयर प्रतिकित्ता पाँच सय भन्दा तल नहुने केही लगानीकर्ताको भनाइ छ भने अर्काथरी लगानीकर्ता प्रतिकित्ता तीनसय सम्ममा किनबेच हुन सक्ने बताउँछन् । तर, सेयर ब्रोकरहरु भने प्रतिकित्ता चार सय भन्दा तल किनबेच नहुने जिकिर गर्दै आएका छन् ।
माथिल्लो तामाकोशीको सेयर आइपिओबाट प्राप्त गरेका लगानीकर्ताले अहिले कति मूल्यमा किन बेच होला ? भन्नेमा नै आफ्नो ध्यान केन्द्रीत गरेका छन् । प्रतिकित्ता चार सयमा बिक्री गर्दा पनि चार गुणा फाइदा लगानीकर्तालाई हुन्छ । ४० कित्ता खरिद गर्दा चार हजार तिर्नु परेका लगानीकर्ताले बिक्री गर्दा १६ हजारमा बिक्री गर्न पाए भने १२ हजार त फाइदा हुने भयो नै ।
त्यो पनि छोटो समयमा नै । अन्य क्षेत्रमा भन्दा बढी नाफा कमाउन सकिने भएकाले नै सेयर बजारप्रति धेरैको ध्यान जाने गरेको छ । तर, पछिल्लो समयमा सेयर बजार निरन्तर घट्दै गएकाले लगानीकर्ताको ध्यान अन्यत्र मोडिएको छ ।
तामाकोशीको सेयर सञ्चयकोषका बचतकर्ता, ऋणदाता संस्थाका कर्मचारी, आयोजना प्रभावित र सर्वसाधारणले खरिद गरिसकेका छन् । उक्त सेयर खरिद बिक्रीका लागि भने अझै तीन साता कुर्नु पर्ने आयोजनाको भनाइ छ ।
२०७५ मंसिर १६ गते प्रकाशित
वि.सं.२०७५ मंसिर १६ आइतवार ०९:३२ मा प्रकाशित