काठमाडौं : राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको नेप्सेको १७ लाख २९ हजार ९८९.५० कित्ता सेयरका लागि बोलपत्र आह्वान गरेको छ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर मंगलबार (असार ३१ गते) देखि लिलामीमा ल्याएको हो । यसमा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
नेप्सेमा राष्ट्र बैंकको ३६.६०५ सेयर छ । सोही सेयर बेच्ने प्रक्रिया थालिएको हो । केन्द्रीय बैंकले प्रतिसेयर न्यूनतम मूल्य १ हजार ३२ रुपैयाँ तोकेको छ । लगानीकर्ताले सोही मूल्यलाई न्यूनतम आधार मानेर आफूले खरिद गर्न चाहेको सेयरको दररेटसहित बोलपत्र पेश गर्नु पर्नेछ । लिलामीमा भदौ २ गतेभित्र नेपाल राष्ट्र बैंक, वित्त व्यवस्थापन विभाग, बालुवाटार पुग्ने गरी आवेदन दिनु पर्नेछ । केन्द्रीय बैंकले नेप्सेको सेयर प्रिमियम भाउमा बेच्न लागेको हो । सेयर बेचेर राष्ट्र बैंक नेप्सेबाट बाहिर खोज्दैछ । यसैगरी, नेप्सेमा नेपाल सरकारको ५८.६६, एनआइडीसीको ६.१२५ र सेयर ब्रोकरहरुको ०.६२५ सेयर स्वामित्व रहेको छ ।
२०७६ असार ३१ गते प्रकाशित
वि.सं.२०७६ असार ३१ मंगलवार १२:३५ मा प्रकाशित