Logo

लखपति गोठाला ‘इलामे राई’

फिक्कल । झट्ट हेर्दा सामान्य जस्तो देखिने ‘इलामे राई’ लखपति बनिसकेका छन । लेकको बसाइ, लगाएका कपडा र उनको हाउभाउले उनलाई हेर्ने जोकोहीले पनि सामान्य नै ठान्नु स्वाभाविक हो तर दुई वटा गाडी र दार्जिलिङमा घर जोडिसकेका राई हेर्दा देखेजति सामान्य छैनन ।

हुन त हाम्रो समाजमा राम्रो लगाउने र सामान्य अङ्ग्रेजी मिसाएर बोल्नेलाई इज्जत गरिन्छ । अनि ठूलै हैसियतको भन्ने ठानिन्छ । त्यसै भएर राईलाई नियाल्ने जो कोहीले पनि सामान्य ठान्ने गरेका छन । अर्को कुरा त पैसाले हैसियत र इज्जत दिन्छ भन्ने मान्यता छ हाम्रो समाजमा ।

राईलाई हालसम्मको दुःख र सङ्घर्षले नै यहाँसम्म ल्याएको छ । इलामको पुवामझुवामा जन्मिएका इलामे राईको वास्तविक नाम जगतबहादुर राई हो । तर उनको यो नाम धेरैलाई थाहा छैन ।

धेरैले उनलाई इलामे राई नै भनेर चिन्छन ।  घरमा दुःख भएपछि करिब १० वर्षकै उमेरदेखि अर्काको घरमा गोठालो बसेका राई विभिन्न ठाउँमा अर्काको काम गर्दागर्दै विसं २०५३ बाट मात्र स्थायीरूपमा बसोबास गर्न थालेका हुन ।

इलाम सूर्योदय नगरपालिका–१ को लामिधुरामा उनको स्थायी बसोबास छ । लेकको ठाउँमा गोठ पालेर बसेका उनी गाईको आम्दानीबाट नै लखपति बनेका हुन ।

“घरमा दुःख थियो, खान लाउन पनि पुग्दैनथ्यो, बाउले आलु व्यापार गर्थे तर १० रुपैयाँमा किनेको आलु आठ रुपैयाँमा बेच्थे, भारतसँगको सीमा मानेभञ्ज्याङबाट प्रतिमन १० रुपैयाँमा खरीद गरेको आलु इलामको चुरेघाँटीमा आठ रुपैयाँमा बिक्री भएपछि तनाव बढेको थियो, आफू त सानै थिएँ, बाउलाई यसो नगरौँ भन्दा मानेनन् अनि घर छोडेर हिँडे”, राईले हाँस्दै भने ।

घर छोडेपछि इलामको सुम्बेकमा पुगेका उनले वर्षको ६० रुपैयाँ पाउने गरी अर्काको घरमा गोठालो गरे । १२/१३ वर्षको उमेरमा गाईवस्तु दोइसकेपछि थला भकारा सोहोर्नु, घाँस काटेर ल्याउनु गर्दै उनको बिहानको कार्य शुरु हुन्थ्यो ।

दिउँसो पनि मेलाको काम, बेलुका पुनः गाई धन्दा नै गर्नुपर्ने राईले स्मरण गरे । अहिलेका बालबच्चालाई तुलना गर्दै राईले सो बेला आफ्नो मेहनत र दुःखका दिन सम्झे ।

करीब दुई वर्ष त्यहाँ बसेपछि पुनः इलामको जस्बिरे भन्ने ठाउँमा सरे । त्यहाँ वर्षको १६० रूपैयाँमा गोठालो गरे राईले । उनको दैनिकी यसैगरी शुरु भयो ।

करीब १५, १६ वर्षको उमेर भएपछि उनले त्यहाँ पनि छोड्ने निधो गरे । त्यसपछि नेपाल र भारतको सिमाना लामिधुरामा बसाइँ सरे ।

लेकको ठाउँ सिमसिम पानी परिरहने भए पनि त्यहीँ भविष्य खोज्ने निधो गरेर त्यहाँका चुथ्रो फाँड्न शुरु गरे । हालको सूर्योदय नगरपालिका–१ मा पर्ने लामिधुरामा उनले गोठ पालेर नै भविष्य खोज्ने निधो गरे ।

विसं २०५३ मा त्यहाँ पुग्दा कुनै बस्ती नभएको उनी बताउँछन । उनले त्यहीँ विवाह गरेर घरजम शुरु गरे । पर्यटकीय क्षेत्र र पर्यटकबाट पनि आम्दानी लिन सकिन्छ भन्ने कसैलाई सोच नै नभएको उनी बताउँछन ।

लामिधुरा पुगेका राईले आफ्नै जेठीसासूसँग तीन हजार रूपैयाँ ऋण लिएर चारमाउ गाई खरीद गरे । त्यहाँबाट तिनै गाईको सन्तान बढाउँदै गए ।

बाच्छाबाच्छी हुर्काउँदै सन्तान फैलिएर करीब २३ माउ गाईसमेत पालेका उनले सो बेला मज्जाले कमाई भएको स्मरण गरे ।
भारतसँग सीमा जोडिएको मानेभञ्ज्याङ इलामको व्यापारिक केन्द्र हो ।

भारतका व्यापारीले चामल, नून, तेल चिनीलगायत दैनिक उपभोग्य वस्तु सो बजारमा बिक्रीका लागि राख्थे । नेपालतर्फ उत्पादन भएको तरकारी सो बजारमा बिक्री हुन्थ्यो ।

तरकारी मात्र हैन नेपालको तर्फबाट अलैँची, अदुवा, कुचोलगायत पिठ्यूँ र घोडामा बोकाएर त्यहाँ बिक्रीका लागि लगिन्थ्यो । नेपालका बजारमा भन्दा बढी मूल्य त्यहाँका व्यापारीले दिने भएपछि इलामका विभिन्न क्षेत्रमा उत्पादन भएको बस्तु त्यहाँ पुर्याइन्थ्यो ।

राईले पनि उत्पादन भएको घ्यु सोही बजारमा पुर्याउँथे । उबेला छुर्पी खासै बिक्दैनथ्यो । मोही फटाएर बनाएको सेर्गेम भने राम्रो मूल्यमा बिक्री हुन्थ्यो । पछिपछि गएर छुर्पी पनि बिक्न थाल्यो ।

उनले पनि घरमा नै डेरी जोडे । डेरीमा दूध प्रशोधन हुन थालेपछि सहज पनि हुन थाल्यो । राई परिवारले गाई पालेर घ्यु र छुर्पी बेचेर नै आफ्नो गुजारा चलाउन थाल्यो ।

आफूले औपचारिक शिक्षा नलिएको बताउने राई हिसाबकिताब गर्न अझै पनि क्यालकुलेटर नचाहिने बताउँछन । तर गोठालो गर्दा नै काठमा रातो माटोको धुलो छरेर त्यसमा नै औँलाले क, ख सिकेको उनले बताए ।

लामो समयमा मात्र घ लेख्न सिकेका उनले हिसाब पनि उसैगरी सिकेको बताए ।  आफ्नो गुजारा जेजसरी चले पनि एक छोरा र एक छोरीलाई राम्रै शिक्षा दिएको उनी बताउँछन ।

हाल उनका दुवै छोराछोरी जागिरे भइसकेका छन् । छोरा भारतीय सेनामा छन भने छोरी पनि दार्जि्लिङमा नोकरी गर्छिन ।
औपचारिक शिक्षाको महत्व हाल पनि धेरै शिक्षितलाई नहुन सक्छ । तर उनी औपचारिक शिक्षाको महत्व अरुलाई राम्रोसँग बयान गर्छन ।

शिक्षाले नै मानिसलाई विश्व चिनाएको, नयाँनयाँ कुराको खोजी र आविष्कार भएको भन्ने राईले आफ्ना सन्तानलाई पनि राम्रो शिक्षा गोठमा गाई पालेर नै दिएको बताए ।

लेकमा अन्य खेती खासै हुँदैनथ्यो उ बेला । आजकल पनि उनको पेसा उही नै हो । तर पहिला जस्तो धेरै गाई छैनन् राईको गोठमा । पाँच माउ मात्र गाई पालेका छन । तर उनले अर्को व्यवसाय भने थपेका छन ।

राई बसेको लामिधुरा विश्व प्रख्यात पर्यटकीयस्थल सन्दकपुर जाने मूल सडक हो । उनले त्यहाँ आएका पर्यटकलाई सन्दकपुरसम्म लैजाने काम गर्छन ।

पर्यटक घुमाउनकै लागि दुई वटा गाडी जोडेको उनले बताए । मौसममा दुई वटा गाडी खाली हुँदैनन राईका । राईकी श्रीमतीले पर्यटकलाई नै खान र बस्नका लागि होटल र लज सञ्चालन गरेकी छन ।

होटल, लज, पर्यटन व्यवसायले गर्दा गाई घटाएको उनी बताउँछन । गाई पाल्दा पनि बिहान बेलुका मात्र खट्नुपर्छ । गोठमा पालिएका गाई बिहान दोहिसकेपछि चरणमा जङ्गल पस्छन ।

बेलुका भएपछि मात्र घर आउँछन । बिहान बेलुका खोले दिन र दुहुन मात्र समय लाग्ने भएकाले केही गाई गोठमा अझै पनि राखेको उनले बताए ।

हाल उत्पादन भएको घ्यु प्रतिकिलो ५५० र छुर्पी प्रतिकिलो ९०० देखि एक हजार रूपैयाँसम्ममा बिक्री गर्ने गरेको उनी बताउँछन ।

राईले आफ्नो मात्र हैन अरुले उत्पादन गरेको घ्यु छुर्पी पनि खरीद गरेर बजार लगेर बेच्ने गर्छन । पहिला सानो छँदा अर्काको घरमा गोठालो बसेको र हाल आफ्नो व्यवसाय सम्झिएर उनी खुशी देखिन्छन् ।

तर दुःखका साथ परिश्रम गरे पैसा कमाउन विदेश जान नपर्ने उनको भनाइ छ । -रासस

२०७६ भदौ ०९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्


कार्यालय : लाजिम्पाट २, काठमाडौँ
नेपाल

© 2018 All Right Reserved Arthatantra News
DEVELOPED BY appharu.com