back
NMB ad

एनआरएनए नवनिर्वाचित पदाधिकारीको एक स्वर: भ्रमण वर्ष सफल पार्छौं

Kumari bank ad

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले एक स्वरमा नेपाललाई समृद्ध बनाउनको लागि आफ्नो प्रतिबद्धता जनाएका छन् ।

शनिबार नवनिर्वाचित पदाधिकारीलाई रिपोर्टर्स क्लब नेपालले सम्मान तथा बधाई दिन आयोजित कार्यक्रममा बोल्दै उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । क्लबका सभापति ऋषि धमलाले नवनिर्वाचित पदाधिकारीहरुलाई खादा तथा माला लगाएर सम्मान गरेका हुन् । अध्यक्ष कुमार पन्त, उपाध्यक्षत्रय सोनाम लामा, मन केसी र अर्जुनकुमार श्रेठ, महासचिव डा. हेमराज शर्मा, सचिव आर.के. शर्मा, सह–कोषाध्यक्ष लोक दाहाल, एशिया प्यासिफिक डेपुटी रिजनल कोअर्डिनेटर खगेन्द्र न्यौपाने, अमेरिका क्षेत्रिय महिला संयोजक उमा कार्कीथापालगायतलाई धमलाले सम्मान तथा बधाई र सफल कार्यकालको शुभकामना दिएका हुन् ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कुमार पन्तले मुलुक समृद्ध बनाउनको लागि गैरआवासीय नेपालीहरुले अहम भूमिका खेल्दै आएकोले आगामी दिनमा नेपालको विकास र समृद्धिको लागि झन ठूलो योगदान पुर्याउने विश्वास दिलाए । उनले भने,‘हामी यो देशको विकासमा केही गर्छौं भनेर लागिरहेका छौं । नयाँ भिजनसहित हाम्रो फ्रेश टिम निर्वाचित भएर आएको छ । ’पन्तले आफूहरुसँग अत्यन्त छोटो समय रहेकोले आफ्नो २ वर्षे कार्यकालमा यसअघि गरेका वाचा तथा प्रतिबद्धताहरु पूरा गरेरै छोड्ने पनि स्पष्ट पारे । उनले भने,‘हामीसँग अब टाईम लिङगरिङ गर्ने छुट छैन् । यो २४ महिनामा हामीले गरेका सबै वाचा तथा प्रतिबद्धताहरु पूरा गर्नुपर्छ । हामी आजैबाट दत्तचित्त भएर लागिपरेका छौं ।’ अध्यक्ष पन्तले मुलुकमा रोजगारीको अवसर सिर्जना गर्नको लागि एनआरएनएले ठूलो भूमिका निर्वाह गर्ने पनि बताए ।

उनले भने,‘गैरआवासीय नेपालीहरुले विदेशमा हाँसिल गरेको ज्ञान, सिप, पुँजी र लगानी नेपाल भित्र्याउनेछौं । हामी यो देशको विकास र समृद्धिको लागि सामूहिक लगानी ल्याउँछौं । पछिल्लो समय हामीले नेपालमा सामूहिक लगानी सुरु गरिसकेका छौं । यसैको उदाहरण हो २७ मेगावाटको तोर्दी खोला हाईड्रोपावर, जुन हामीले निर्माण सम्पन्न गरिसकेका छौं ।’ त्यस्तै, नेपाल सरकारसँग १२ अर्व लगानी भित्र्याउने भनेर एम.ओ.यु.पनि गरिसकेको उनले सुनाए । उनले भने,‘हामीले यो प्रतिबद्धता पूरा गर्नको लागि काम पनि सुरु गरिसकेका छौं ।’ उक्त म्युच्युअल फण्डमा ९० प्रतिशत लगानी गैरआवासीय नेपालीको रहने र बाँकी १० प्रतिशतमा ५ प्रतिशत निजी क्षेत्र र अर्को ५ प्रतिशत नेपाल सरकारको रहने पनि उनले जनाए ।

अध्यक्ष पन्तले विदेशबाट ठूलो संख्यामा नेपाल आउने रेमिट्यान्स अनउत्पादनशिल क्षेत्रमा खर्च भैरहेको सुनाउँदै आगामी दिनमा उक्त रेमिट्यान्स उत्पादनको क्षेत्रमा लगानी गर्ने पनि बताए । विदेशमा श्रममा रहेका नेपालीहरुको हित र कल्याणको लागि स्थापना गरिएको श्रमिक कल्याणकारी कोषमा भएको रकम दोब्बर गर्ने भनेर बोलिएअनुसार आजैबाट काम सुरु भएको पनि उनले स्पष्ट पारे ।
उनले भने,‘आज बसेको हाम्रो नवनिर्वाचित कार्यसमितिको बैठकबाट कोषमा एक करोड ५ लाख रकम जम्मा भैसकेको छ ।’ त्यस्तै, उनले श्रमसम्बन्धी समस्या समाधानको लागि कसरी अघि बढ्ने भन्नेबारे आफूले श्रममन्त्री गोकर्ण विष्टसँगपनि छिट्टै छलफल सुरु गर्ने जनाए ।
पन्तले संघको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा निर्वाचनको भोटिङ मेशिनमा समस्या देखिएको बताए । उनले भने,‘यसपालि आलोचना हुनुको कारण भनेको भोटिङ सिस्टमले गर्दा हो । हामीले यसअघि रामलक्ष्मण दाजुभाइको कम्पनीबाट भोटिङ मेसिन ल्याएर निर्वाचन गराएका थियौं । त्यो मेसिन अन्य निर्वाचनहरुमा पनि प्रयोग भइरहेको रहेछ । त्यही मेसिन ल्याएर हामीले निर्वाचन सम्पन्न गराउन खोज्यौं । तर, प्राविधिक समस्या सिर्जना भयो ।’

उनले गैरआवासीय नेपालीभन्दा पनि बाहिरका मान्छेले निर्वाचनमा संघलाई बदनाम गराएको टिप्पणी गरे । उनले भने,‘हाम्रो संस्था गैरराजनीतिक संस्था हो । राजनीतिकरण गर्नुहुँदैन् । हामी सबै गैरआवासीय नेपालीहरु एकताबद्ध भएर बस्न चाहन्छौं । विभाजित हुन चाहँदैनौं ।’ उनले राजनीतिको नाममा आफूहरुलाई विभाजित नगरियोस भन्ने धारणा राखे ।
नेपालमा ठूला दलका ठूला नेताहरुले जबरजस्ती राजनीतिकरण गरेर निर्वाचित प्रभावित गरेकोले आगामी महाधिवेशन र निर्वाचन नेपालमा नगर्ने भनेर आफूले बोलेको पनि उनले सुनाए । उनले भने,‘आगामी निर्वाचन हामी नेपालबाहिरै गर्छौं । अनलाईन भोटिङ सिस्टम लागु गर्छौं ।’

यो पटकको निर्वाचनमा पैसाको पनि विकृति देखिएको उनको भनाई छ । उनले भने,‘मेरो दुईवर्षे कार्यकाल पूरा गर्नका लागि मैले केही ठोस योजना तर्जुमा गरेको छु । मैले नम्बर वान के भनेको छु भने विदेशमा बस्ने जति पनि नेपाली दाजुभाइ दिदीबहिनीहरु हुनुहुन्छ, उहाँहरुलाई पञ्जीकृत शुल्क हटाएर निःशुल्क सदस्यता दिलाउँछु । किनकि पैसाका नाममा हाम्रो अभियानमा केही विकृतिहरु भित्रिएका छन् । यस्ता विकृतिहरुलाई म मेरो कार्यकालमा हटाउन चाहान्छु ।’ यसको लागि आफूहरुको आज बसेको बैठकले एउटा कार्यदल गठन गरेर काम पनि सुरु गरिसकेको पन्तको भनाई छ ।

नेपाल र नेपाली जनताले संघबाट ठूलो आशा र भरोशा गरेकोले परोपकारी काममा संघ बढि केन्द्रित हुनेपनि उनले विश्वास व्यक्त गरे । उनले भने,‘च्यारिटी काम बढि गर्नको लागि फाउण्डेशन बनाएर अघि बढ्छौं ।’ त्यस्तै, उनले महिला उद्यमशिलता बढाउनको लागि आफूहरुले विशेष ध्यान दिएर काम गर्ने बताए । अहिलेको पुस्ता विस्तारै बुढो हुँदै जाने भएकोले आगामी सक्षम युवा पुस्ता तयार पार्नको लागि युथ अन्टरप्रेन्युअरसिप कार्यक्रम सञ्चालन गरिने पनि उनले जानकारी दिए ।

विश्वभरि छरिएर रहेका ८० लाख गैरआवासी नेपालीहरुले मातृभूमी नेपाल समद्ध र धनी भएको हेर्न चाहेको सुनाउँदै त्यसकै लागि काम गर्ने पनि पन्तले बताए । उनले भने,‘हामी मुलुक समृद्ध बनाउने अभियानमा होमिएका छौं । अहिले स्वर्णिम अवस्था हो । अहिलेको पुस्ताले केही नगरे आउने पुस्ताले हामीलाई धिक्कार्नेछ । हामीले अर्को पुस्ताले वाह भन्ने काम गर्नुपर्छ ।’ नवनिर्वाचित पदाधिकारी उच्च मनोबलका साथ आएकोले नेपाललाई समृद्ध बनाउनेगरि काम गर्ने र नेपालको विकसित हुने भाग्य रहेको पनि उनले बताए ।
नवनिर्वाचित उपाध्यक्ष मन केसीले आफूहरुले दिर्घकालिन योजनासहित काम गर्ने बताए । यसअघि गरिएका प्रतिबद्धताहरु कार्यान्वयन गरेरै छोड्ने पनि उनको विश्वास छ । संस्थामा बौद्धिक, उद्यमी, व्यवसायीलगायत सफल व्यक्तिहरु रहेकोले आगामी दिनमा मुलुकको विकास र समृद्धिको लागि योगदान पुर्याउनेगरि काम गर्ने पनि केसीले प्रतिबद्धता जनाए ।

नवौं महाधिवेशन भव्य रुपमा सम्पन्न भएको सुनाउँदै उनले सम्मेलनबारे अहिले जनस्तरबाट मिश्रित प्रतिक्रिया आएको बताए । उनले भने,‘चामलमा बियाँहरु देखियो भने नाङलोले फ्याँकेजस्तै, हामी पनि संस्थाभित्र देखिएका बियाँहरु फ्याँक्छौं ।’ उनले संस्थामाथि लागेका सबैखाले दाग र खोटहरु मेटाउने पनि विश्वास दिलाए ।

त्यस्तै, अर्का उपाध्यक्ष सोनाम लामाले आफूले सुरुदेखि नै दोहोरो नागरिकताको निरन्तरताको बारेमा वकालत गरिरहेकोले उक्त काम पूरा गर्नको लागि सदैव प्रयास गर्ने स्पष्ट पारे । त्यस्तै, उनले नेपाल सरकारले घोषणा गरेबमोजिम पर्यटन वर्ष–२०२० लाई सफल तुल्याउनको लागि आफूहरुले सक्दो भूमिका निर्वाह गर्ने पनि विश्वास दिलाए । उनले भने,‘नेपालमा २० लाख पर्यटक भित्र्याउनको लागि हाम्रो पनि ठूलो भूमिका र जिम्मेवारी छ । एक एनआरएनए एक विदेशी नेपाल भित्र्याउनको लागि पहल गर्नुपर्छ । यसको लागि म पूर्ण रुपले लाग्नेछु ।’ मुलुकलाई आर्थिक सम्पन्नशाली बनाउनको लागि आफूहरुको पूरा साथ र सहयोग रहने पनि लामाले बताए । उनले भने,‘यसअघि घोषणा गरिएको निर्माणाधिन मेगा प्रोजेक्टहरु जो छन्, ती पूरा गर्नको लागि हामी निरन्तर लाग्नेछौं । म भाषणमा विश्वास गर्दिन् । काममा विश्वास गर्छु ।’

कार्यक्रममा अर्का उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले अहिलेको नयाँ निर्वाचित टिमले धेरै कुरा बोल्नेभन्दा पनि बोलेका कुरा पूरा गर्ने र पूरा गर्नसक्ने कुरामात्रै बोल्ने स्पष्ट पारे । आफूहरुले गरेका वाचा तथा प्रतिबद्धताहरु समयमै कार्यान्वयन गर्ने पक्षतर्फ दत्तचित्त भएर लाग्ने उनको धारणा छ । त्यस्तै, उनले भिजिट नेपाल–२०२० लाई सफल तुल्याउनको लागि आफूहरुले ठूलो भूमिका निर्वाह गर्ने र नेपाल सरकारलाई सहयोग गर्ने बताए ।

कार्यक्रममा नवनिर्वाचित महासचिव डा. हेमराज शर्माले नवौं विश्व सम्मेलनमा निर्वाचनको क्रममा उत्पन्न समस्याका कारण संघको छविमा केही प्रश्न उठेको भएपनि त्यसलाई छिटपुट घट्नाको रुपमा चित्रण गरे । उनले भने,‘हामीले यस विषयलाई गम्भिर रुपमा लिएका छौं । निर्वाचन पद्धती र संगठनात्मक संरचनाबारे हामीले सोचेका छौं । निर्वाचन पद्धती परिवर्तन गर्नेबारे हामीले निश्कर्ष निकालेका छौं । निर्वाचनमा कसैले पनि यसरी भाग लिनुपर्दैन्, सिधै अनलाईन भोटिङ प्रणालीको व्यवस्था गर्छौं ।’ शर्माले आज बसेको कार्यसमितिको पहिलो बैठकले पनि यसबारेमा कार्यदल बनाएको सुनाए । उपाध्यक्ष मन केसीको संयोजकत्वमा कार्यदल बनाएको उनले जनाए ।
सन् २०२१ मा हुने दशौं विश्व सम्मेलनमा आफूहरु व्यवस्थित् भएर आउने पनि उनले विश्वास दिलाए । उनले अहिले नयाँ टिम निर्वाचित भएर आएको र देशको समृद्धि र विकासको लागि योगदान पुर्याउनेगरि आफूहरुले काम गर्ने पनि प्रतिबद्धता जनाए ।

कार्यक्रममा नवनिर्वाचित सचिव आर.के. शर्माले मध्यपुर्व एशियामा रहेका श्रमिक नेपालीहरुको समस्या समाधानको लागि आफूहरु सधैं लागिपर्ने बताए । नेपालको विकासमा मध्यपुर्व एशियाबाट आउने रेमिट्यान्सले ठूलो टेवा पुगेको बताउँदै आगामी दिनमा उक्त रेमिट्यान्सलाई लगानीमा परिणत गर्ने सुनाए।

त्यस्तै, सह–कोषाध्यक्ष लोक दाहालले पनि आफूहरु देशको विकास र समृद्धिमा एकजुट भएर लागिपर्ने बताए । अमेरिका क्षेत्रीय महिला संयोजक उमा कार्की थापाले विदेशमा बसेपनि आफूहरुको मन, मस्तिष्कमा नेपाल रहेको सुनाउँदै मातृभुमीको विकासमा जहिल्यैपनि जोडिने विश्वास दिलाईन् । उनले आफू समाजसेवामा सुरुदेखि नै सक्रिय रहेको सुनाउँदै आगामी दिनमा संघमार्फत मुलुकको विकासमा टेवा पुर्याउने बताईन् । नेपालमा केही विपत्त पर्दा विदेशमा बस्ने आफूहरुजस्त नेपालीहरु पनि रुने गरेको उनले नेपालको हरेक सुख, दुखमा आफूहरु पनि सँगै रहेको सुनाईन् । नेपाललाई आर्थिक रुपमा धेरै माथि उठाउन आफूहरुले भूमिका निर्वाह गर्ने कार्कीको भनाई छ ।
त्यस्तै, एशिया प्यासिफिक डेपुटी रिजनल कोअर्डिनेटर खगेन्द्र न्यौपानेले पनि श्रमिकको समस्या समाधानको लागि आफूहरुले पहल गर्ने र नेपालको विकास र समृद्धिमा टेवा पुर्याउने वचनबद्धता व्यक्त गरे ।

त्यस्तै, एसिया प्यासिफिक क्षेत्रीय संयोजक रोविन्द प्रसाद श्रेष्ठ ‘गोविन्द’ ले श्रमिकको मुद्दालाई आफूहरुले जोडदार रुपमा उठाउने र श्रमिक फण्ड बलियो बनाउने बताए । कार्यक्रममा क्लबका सभापति धमलाले नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै अध्यक्ष पन्तलाई सबै साथीहरुलाई मिलाएर लैजान आग्रह गरे । नेपालको विकास र समृद्धिमा गैरआवासीय नेपालीहरुले ठूलो योगदान गर्नसक्ने बताउँदै उनले त्यसको लागि विभाजित भएर भन्दापनि एकताबद्ध भएर अघि बढ्नुपर्ने सुझाव दिए ।

२०७६ कात्तिक ०३ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ३ आइतवार ११:४२ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...