नारायण ढुंगाना,रत्ननगर, । चितवन चितवनको कालिका नगरपालिका वडा नं ३ पदमपुरका बाबुराम केसीले एउटा झुप्रोबाट च्याउ खेती शुरु गरेका थिए । विसं २०५६ मा च्याउ खेती शुरु गर्नुभएका केसी अहिले छ कट्ठामा च्याउ लगाउनुहुन्छ । साइकलमा च्याउ डुलाउनुहुन्थ्यो, अहिले गाडीमा हिँड्छन् । च्याउ बेचेरै जग्गा जमिन समेत जोडिसके ।
कन्ने र गोब्रे च्याउ लगाउँदै आएका उनले दैनिक औसत १०० किलो च्याउ उत्पादन गर्छन्। ‘यहीँ हो विदेश, यहीँ छ कमाइ,’ केसीले भने – ‘मेहनत गरे जुन पेशाबाट पनि कमाइ हुन्छ ।’ कहिलेकाहीँ दिनमा ४०० केजीसम्म उत्पादन हुन्छ ।
विसं २०५६ मा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले जंगलमा मानवीय चाप घटाउन गाउँका स्थानीयवासीलाई आयआर्जनका लागि च्याउखेती तालीम दिएको थियो । वन्यजन्तु संरक्षण गर्नु यसको मुख्य उद्देश्य थियो । शुरुमा केसीसहित १० जनाले तालीम लिएका थिए ।
त्यो बेला ग्रामीण कृषक समूह गठन गरेर च्याउ खेती शुरु भएको केसी सम्झनुहुन्छ । उक्त समूहमा अहिले मासिक ३०० बचत गर्नुहुन्छ उहाँ ।सामान्य खेती किसानी गरेर जीविका चलाउन उहाँलाई पहिले निक्कै समस्या थियो । त्यो बेलाको खेती पनि वन्यजन्तुले खाइदिन्थ्यो । अहिले आफ्नो जीवन फेरिएको छ ।
च्याउबाट खर्च कटाएर मासिक रु १ लाख न्यूनतम कमाई हुने उहाँको भनाइ छ । उनले प्रतिकिलो रु १२० मा थोकमा च्याउ बेच्छन् । बजारमा खुद्रा मूल्य प्रतिकिलो रु २०० देखि २५० सम्म पर्छ । विगतमा भारतमा मजदुरी गरेको अनुभव केसीसँग छ । त्यसपछि नेपाल आएर जग्गा नापीमा समेत काम गरे उनले ।
‘जब च्याउ खेती शुरु भयो दुःखका दिन गए,’ केसीले भने – अहिलेको पेशाबाट निक्कै आनन्दित छु ।’ उहाँले खेती शुरु गरेदेखि पछि फर्कनु परेको छैन ।झुप्रोबाट खेती शुरु गर्नुभएका उनको अहिले च्याउका ६ वटा ठूला घर छन् । विस्तार गर्दै उनले अहिले ६ कट्ठामा च्याउ खेती गरिरहेका छन् ।
उनलाई पत्नी सीता केसीले सघाउनुहुन्छ । ‘उहाँले बजार हेर्नुहुन्छ, यहाँको व्यवस्थापन म स्वयं गर्छु,’ सीताले भनिन् । च्याउको मौसमका बेला १२÷१५ जनासम्म कामदार राख्ने गरिन्छ । अहिले व्यावसायिक च्याउ खेतीका सफल किसानको रुपमा केसी परिवार छन् । च्याउ बेचेर गाडी, मोटरसाइकल सहित रु ५० लाखमा ३ कट्ठा जग्गा समेत जोडिसकेका छन्।
विसं २०५६ मा जब राष्ट्रिय प्रकृति संरक्षण कोषबाट तालीम लिएपछि उहाँले तीन प्याकेट च्याउको बीऊ र रु १० हजार बराबरको सामग्री पाएका थिए । झुप्रोमा च्याउ खेती गर्दा पहिलो पटक ३५ किलोग्राम उत्पादन भयो । ‘त्यो बेलाको खुशीको सीमा नै भएन,’ केसीले भने । विस्तारै उनले खेती बढाउन थाले । शुरुमा उनसँग एउटा साइकल मात्र थियो । त्यही साइकलमा उनले उत्पादित च्याउ बोकेर गाउँ शहर डुलाउथे।
बुटबल र हेटौँडासम्म साइकलमा च्याउ लगेर बेचेको अनुभव छ । नारायणगढसम्म साइकलमा जाने, साइकलसहित च्याउ गाडीमा राख्ने, बुटबल पुगेपछि झार्ने अनि साइकलमा डुलाउने । केही वर्ष यसरी बिताए उनले। साइकलको सहारामा च्याउ बेचेर कमाएको पैसाले उनले खेती विस्तार गर्न थाले ।
‘मैले साइकलमा १० वर्ष च्याउ बेचें,’ केसीले भने – त्यो साइकल अझै माया लागेर झुण्ड्याएर राखेको छु ।’ च्याउ घरभित्रै सिलिंगमा साइकल खिया लागेको अबस्थामा अझै झुण्डिएको छ । कमाइ बढेपछि उनले साइकल छाडेर मोटरसाइकल किने । त्यसमै राखेर च्याउ बेचे ।
अहिले उनले कारमा च्याउ लैजान्छन् । पहिले साइकलमा गाउँगाउँ डुलाउने उनलाई अब त्यसरी दुःख गर्नुपर्दैन । घरमै लिन आउँछन् । नभए थोक पसलमा लगेर छोडेहुन्छ । सरकारी सहयोग भने अहिलेसम्म एक रुपैयाँ पनि नपाएको गुनासो केसीको छ ।
अहिले केसी च्याउको बीऊसमेत उत्पादन गर्छन् । बीउ उत्पादन गर्न १२÷ १४ हजार प्याकेट बीऊ लाग्छ । अरु बाँकी उत्पादित बीऊ बेध्छन् । विभिन्न स्थानबाट बीऊ लिन उनकहाँ आउने गरेको शुरुको सहयोगी संस्था राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत सन्तोष भट्टराई बताउछन् । लागत अनुसारको मूल्य नपाउँदा भने उहाँ दुःखी छन् ।
च्याउखेती सिकेर उहाँले सीप समेत बाँडे । अहिले एकसय जनालाई च्याउ खेत गर्ने सीप सिकाइसकेको केसीले बताए । जिल्लाकै च्याउ खेतीका नमूना किसानको रुपमा उहाँ परिचित हुनुहुन्छ ।
रासस
२०७४ फागुन २७ गते प्रकाशित
वि.सं.२०७४ फागुन २७ आइतवार १८:२५ मा प्रकाशित