काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल सोमवार विक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण जुटाउन यसपटक ९१ दिने अवधिकोे ट्रेजरी बिल विक्री गर्न लागेकोे हो ।
ट्रेजरी बिल मंसिर १६ गते सोमवार दिउँसो २ बजे अनलाइन बोलकबोलका आधारमा विक्री गरिने बैंकले जानकारी दिएको छ । ९१ दिने अवधिको ट्रेजरी बिल खरीद गर्नेले आगामी फागुन २० गते ब्याजसहित साँवा फिर्ता पाउनेछन् । ट्रेजरी बिलको निष्कासन मंसिर १७ गते मंगलवार गरिने छ ।
यसअघि मंसिर ९ गते नेपाल राष्ट्र बैङ्कले ट्रेजरी बिलको बोलकबोल गरेको थियो । सो दिन रू. २ अर्ब २३ करोड ३२ लाखकोे ९१ दिने ट्रेजरी बिल जारी गर्न बोलकबोल आह्वान गरेकोमा करीब रू. १२ अर्ब ७७ करोडको माग भएको थियो । सो रकम बराबरको ट्रेजरी बिल औसत १ दशमलव २४७१ प्रतिशत बट्टादरमा विक्री भएको थियो ।
यसैगरी, सो दिन १८२ दिने रू. २ अर्ब ४७ करोडको ट्रेजरी बिल जारी गर्न बोलकबोल आह्वान गरेकोमा करीब रू. ९ अर्ब ४६ करोडको माग भएको थियो । सो रकमबराबरको ट्रेजरी बिल औसत ३ दशमलव ४४०२ प्रतिशत बट्टादरमा विक्री भएको थियो ।
यस्तै, रू. ११ करोड कोे एक वर्षेे ट्रेजरी बिल जारी गर्न बोलकबोल आह्वान गरेकोमा करीब रू. ९६ करोडको माग भएको थियो । सो रकमबराबरको ट्रेजरी बिल औसत ३ दशमलव १९३५ प्रतिशत बट्टादरमा विक्री भएको थियो ।
२०७६ मंसिर १३ गते प्रकाशित
वि.सं.२०७६ मंसिर १३ शुक्रवार १७:१० मा प्रकाशित