काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका प्रमुख कार्यकारी अधिकृतको तलब वृद्धिले मात्र मुलुकलाई फाइदा नहुने बताउनुभएको छ ।
ग्लोबल आइएमई बैंक र जनता बैंक गाभिएर एकीकृत सेवा शुभारम्भ समारोहलाई सम्वोधन गर्दै अर्थमन्त्री खतिवडाले सीईओको तलब वृद्धिका विषयमा सोच्ने बेला आएको बताउनुभएको हो ।
‘हिजो ५० हजार खाने सीईओहरु १ लाख, २ लाख, ५ लाख, १० लाख भन्दा धेरै खान थालिसक्नुभएको छ’ उहाँले भन्नुभयो, ‘त्यसरी सीईओहरुको तलब बढिरहेको छ, तर बैंकर समृद्ध भएर मुलुकमा समृद्धि आउदैन यस विषयमा सोच्नुपर्छ ।’
अर्थमन्त्री खतिवडाले बैंकिङ क्षेत्रमा पछिल्लो समय देखिएको चोरीको घटना निकै दुखद् रहेको बताउनुभयो । बैंकका कर्मचारीहरु सबै राम्रो सोचाइका नहुने भन्दै उहाँले बैंक व्यवस्थापनले त्यसतर्फ सोच्नुपर्ने बताउनुभयो ।
बैंकलाई ग्राहक पहिचान फारम (केवाईसी) सँगै कर्मचारी पहिचान फारम (केवाईयी) समेत भराउन अर्थमन्त्री खतिवडाले सुझाव दिनुभयो ।
बैंककै कर्मचारीको लापरबाहीका कारण बैंक खाताको रकम लुटिनुमा बैंकले आफ्ना कर्मचारी नचिन्नु प्रमुख कारण रहेको समेत उहाँले बताउनुभयो ।
जनता बैंकलाई आफूमा समाहित गरेर सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको ग्लोबल आइएमईलाई अब जनताको मन जित्नुपर्ने चुनौती रहेको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।
२०७६ मंसिर २० गते प्रकाशित
वि.सं.२०७६ मंसिर २० शुक्रवार १५:०६ मा प्रकाशित