काठमाडौं । कुमारी बैंकले पुस १४ गतेदेखि तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १०.२५ प्रतिशत ब्याजदरमा सर्वसाधारणको लागि एक अर्ब २० करोड रूपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको हो ।
बैंकले प्रति डिबेन्चर एक हजार रूपैयाँ दरमा १२ लाख कित्तामध्ये ६ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी एक अर्ब ८० करोड रूपैयाँको ऋणपत्र बैंक आफैंले प्राइभेट प्लेसमेन्टबाट बिक्री गर्नेछ ।
लगानीकर्ताहरूले छिटोमा पुस १७ गतेसम्म र पहिलो चरणमा बिक्री नभए ढिलोमा माघ १४ गतेसम्म बिक्री खुला गर्नेछ ।सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्मको लागि आवेदन दिन सक्ने छन ।
इक्रा नेपालले गरेको क्रेडिट रेटिङअनुसार मध्यम किसिमको जोखिम जनाउने ‘इक्रा एनपी एल ट्रीपल बी प्लस’ प्राप्त गरेको छ । लगानीकर्ताले आस्वा सुविधा प्रदान गर्ने सम्पूर्ण बैंक तथा वित्तीयबाट आवेदन दिन सक्ने छन्।
ऋणपत्रधनीले अर्धवार्षिक रूपमा तोकिएको ब्याज प्राप्त गर्नेछन । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ । राष्ट्रिय स्तरको वाणिज्य बैंक कुमारीको चुक्ता पुँजी ८ अर्ब ६८ करोड रूपैयाँ छ ।
२०७६ पुस ०६ गते प्रकाशित
वि.सं.२०७६ पुस ६ आइतवार ११:३० मा प्रकाशित