काठमाडौं । राजधानीमा आयोजित नेपाल अडिटर्स एशोसियशन (अडान) को चौथो महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले देशमा आर्थिक अनुशासन कायम राख्न लेखापरिक्षकको महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताए । देशलाई आर्थिक अनुशासनमा राख्ने कुरामा अडिटर्सहरुले संस्थाको हित गर्ने नाममा श्रेस्ताको हित नबिर्सिन समेत ओलीले आग्रह गरेका छन् ।
चार्टर्ड एकाउण्टेण्ट ऐनमा भएको विभेदकारी व्यवस्थाका कारण नेपाल चार्टर्ड एकाउण्टेण्ट संस्थाको केन्द्रीय समितिमा अडानको प्रतिनिधित्व हुन नसकेकाले ऐन संशोधन गरी विभेदकारी व्यवस्था हटाउन अडानका अध्यक्ष मोहनराज रेग्मीले माग गरेका थिए । यस मागका सम्बन्धमा प्रधानमन्त्री ओलीले सरकारले जायज मागको सुनुवाई गर्ने तर माग पूरा गराउने नाममा नारा जुलुस र आन्दोलन जस्ता गतिविधि नगर्न सुझाव दिए ।
उद्घाटन कार्यक्रममा अडानका जिल्लाका सदस्यहरुबाट संकलित रकमको एकमुष्ट रू. ६ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई दिइएको र ‘मेरो धरहरा मै बनाउँछु’ अभियानका लागि पनि अडानले सहयोग गर्ने बताइएको छ । रजिस्टर्ड अडिटर्सको चौथो महाधिवेशनको बन्द सत्र शनिबार र आइतबार राजधानीमा चल्नेछ ।
प्रकाशितः २०७३ जेठ २२
वि.सं.२०७३ जेठ २२ शनिवार १४:१३ मा प्रकाशित