back
NMB ad

एउटै रुखबाट ६१ लाख टिपेपछि काभ्रेलीहरु दिनरात रुख कुर्दै ! (स्थलगत रिपोर्टिङ)

Kumari bank ad

हरिशरण न्यौपाने, काभ्रे ।  कसैले पैसा मागेमा के मेरो घरमा (बारीमा) पैसाको बोट छ र ! भन्दै झर्किने गरेका नेपालीहरु अब एउटै बोटबाट लाखौं टिप्न थालेका छन् । नेपालबाट बिदेशी भूमिमा गएर पैसा पठाउनेहरुलाई पनि नेपालमा बस्नेहरु बिदेशमा बोटमै टपाटप पैसा टिपेर पठाउने गरेको जस्तो सम्झिन्छन् । घरपरिवार इष्टमित्र सबैले त्यस्तै सोच्छन् । तर विचरा ति लाहुरेले बिदेशमा कति धेरै दुःख गरेर धन कमाउँछन् भन्ने नेपालमा बस्नेलाई के थाहा ?

अब भने लाखका लाख पैसा फल्ने बोट नेपालमै पाईएपछि मानिसहरु त्यो रुख हेर्ने उत्सुकता राख्न थालेका छन् । तपाईलाई पनि उत्सुकता लाग्यो भने काभ्रेको तिमाल क्षेत्र पुगे हुन्छ । जहाँ स्थानीयहरु एउटै रुखमा लाखौं रुपैंयाको बुद्धचित्तको दाना फलाईरहेका छन् । तत्काल नगदमा परणत हुने बोट(रुख) कुरेर बसिरहेका छन् ।

सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर विश्वास गर्नुस् । आफ्नै आँखाले देखेपछि लेखेको हो । अब रुखमा पैसा फल्छ र ! भन्ने दिन गए । अब बिदेशमा होईन नेपालमै रुखमा फलेको फल ठाउँको ठाउँ नगदमा परिणत भईरहेको छ । मानौं पैसा नै फलेर मानिसहरु टपाटप टिपिरहेका छन् । यदि विश्वास लाग्दैन भने राजधानी काठमाडौबाट नजिकै रहेको काभ्रेको तिमाल क्षेत्र पुगेर आफ्नै आँखाले हेरेर फर्कंदा प्रमाणित हुन्छ । यतिसम्म कि काभ्रेमा एउटै रुखबाट ६१ लाख रुपैंया टिपिएको छ । तपाई आजै जान सक्नुहुन्छ, त्यहाँका स्थानीयहरु कोहि रुखमा चढ्दै छन्, कोहि आँगनीमा बसेर बुद्धचित्तको बोट कुर्दै छन् ।

BuddaChitta Arthatantra 2

आखिर के हो बुद्धचित्त अनि बोटमै लाखौं रुपैंया कसरी ? रुखलाई पनि किन कुर्नुपर्ने ? (अन्त्य सम्म पढ्दै जानुस् ।)

पौराणिक कथन र जनश्रुति अनुसार सातौं शताब्दीमा बौद्ध दर्शनका गुरु रिन्पोछेले विभिन्न क्षेत्रको समस्या समाधानका निम्ति भन्दै ध्यान, तपस्या गर्दै हिंड्दथे । त्यसैक्रममा उनी काभ्रेको तिमाल क्षेत्रमा ध्यान गर्न पुगे । तत्कालिन अवस्थामा तिमालका बासिन्दा र भूमि देवताहरुलाई एउटा राक्षसले दुःख दिने गर्दथ्यो । रिन्पोछेले त्यहाँ पुगेर ध्यान गरेर त्यस ठाउँको उद्धारका निमित्त विभिन्न गतिबिधि गरेर गए । त्यतिखेर ध्यान गरेर उनको आफ्नो उद्धार त भयो । तर तिमालमा भविष्यमा आउने सन्ततिलाई के गरेर उद्धार गर्ने त भनेर एक बुद्धचित्तको दाना छोडेर गएका थिए भन्ने कुरा बौद्ध ग्रन्थ मै उल्लेख गरिएको स्थानीयहरु बताउँछन् ।

BuddaChitta Arthatantra 3
आत्मकेन्द्रित भएर एक चित्त, एक मन गरेर आध्यात्मिक तरिकाले ध्यान गर्नुलाई बुद्धचित्त भन्ने जनाउँछ । त्यसपछि आत्मकेन्द्रित भएर ज्ञानप्राप्त गर्ने, बुद्धत्व प्राप्त गर्ने साधनका रुपमा बुद्धचित्तको दानालाई प्रयोग गर्न थालियो । त्यसको माला बनाएर प्रयोगमा ल्याइयो । तत्पश्चात् रिन्पोछेले भावी पिडीको उद्धारका लागि छाडेर गएको उपहार नै बुद्धचित्त बन्नपुग्यो । जति पनि बौद्ध गुरु छन्, उनीहरुले जप्ने माला भनेको बुद्धचित्त नै हो ।

बुद्धचित्तका बारेमा लामा गुरुहरुलाई भने पहिले देखि नै थाहा थियो । पछिल्लो समय व्यवसायीकरुपमा बुद्धचित्तको कारोबार हुन थालेपछि यसको हल्ली खल्ली सँगै स्थानीयले करोडौं आम्दानी लिन सफल भएका हुन् ।

राजा महेन्द्रको पालादेखि नै यसको व्यवसायीकरण

स्थानीयले बुद्धचित्तको माला बुद्धत्व प्राप्त गर्नका लागि प्रयोग गरिन्छ भनेर थाहा पाएको भर्खर ५/६ वर्ष भयो । तर यसको व्यवसायीकरण भने राजा महेन्द्रको पालादेखि नै भएको थियो । त्यतिबेला नै बुद्धचित्तलाई व्यवसायीक रुपमा अगाडि बढाउनुपर्छ भन्ने अबधारणा अगाडि आएको हो । महेन्द्रका पालामा मनाङका बासिन्दाहरुलाई बिदेशबाट सामानहरु आयात निर्यातमा भन्सार छुट दिईएको थियो । मनाङेहरुले भन्सार छुटमा सुन, लत्ताकपडा लगायत सामानहरु बिदेशबाट ल्याउने व्यवस्था थियो । तत्कालिन अवस्थामा जब मनाङका बासिन्दाहरु बिदेशमा सामान लिन जाँदा रकम चाहिन्थ्यो । एक त टन्न रकम भएपनि सिमित मात्रामा मात्र लैजान पाईन्थ्यो । थाईल्याण्ड, ताईवान, जापान, सिंगापुर जहाँ बौद्धमार्गीहरु छन् त्यस ठाउँमा नेपालबाट के सामान लैजान सकिन्छ र बेच्न सकिन्छ, अनि सुन लत्ताकपडा लगायत सामानहरु आयात गर्न सकिन्छ भन्ने विषयमा खोजी हुँदा बौद्धमार्गीहरुको आत्मकेन्द्रित ध्यान गर्ने माला बुद्धचित्त बिक्री गर्न सकिन्छ भन्ने भएपछि यसको व्यवसायीक सुरुवात भएको पाईन्छ । तिमालको माला बिदेशका गुम्बा बिहारमा बिक्री हुन थालेपछि यो मालाको व्यवसायीक/व्यापारिक कारोबार सुरु भएको पर्यटन व्यवसायी एवं स्थानीय कर्ण लामाले जानकारी दिए ।

काभ्रेको ८ वटा गाविसलाई तिमाल क्षेत्र भनि नामाकरण गरिएको छ । हिजो बुद्धचित्तका बारेमा धेरैलाई थाहा थिएन र यसका रुखहरुको संख्या थोरै थियो । अहिले व्यवसायीकता अनुसार धेरैले बुद्धचित्तका रुख रोपेका छन् । बिचमा राजनीतिक परिवर्तनका कारण बिदेशबाट सामानहरु आयात गर्नु पर्दा बुद्धचित्तको प्रयोग हुन छाडेपछि रोकिएको यो व्यवसाय र धेरैले बुद्धचित्तका रुखहरु पनि काटेका थिए । ४/५ वर्ष देखि अहिले भने चिनियाहरुले बुद्धचित्तको माला लिन गाउँमै आउन थालेपछि यसको बजार ह्वात्तै बढेको छ । बौद्धमार्गी र धर्मगुरुले जतिसुकै मूल्यमा किनेर भए पनि यो माला जप्ने गरेका छन् ।

एक परिवारले वर्षमा २ करोडसम्म कमाए

अहिले अधिकाँसले आफ्नो बारीमा बुद्धचित्तको विरुवा रोपेका छन् । त्यसबाट मनग्ये आम्दानी लिएका छन् । बुद्धचित्त बिक्रीबाट तिमालमा एउटै परिवारले एकै सिजनमा २ करोड रुपैंयासम्म कमाएको लामाले बताए । सामान्यत १/२ लाख रुपैंया सबैले लिने गरेका छन् ।

बुद्धचित्त, कुन महंगो ?, कुन सस्तो ?

बुद्धचित्तको जति धेरै दाना फल्यो त्यति धेरै आम्दानी हुने भन्ने होईन । दानाहरु १ मुखे, २ मुखे,… ५ मुखे,…७ मुखे लगायत फरक–फरक ब्राण्ड हुन्छ । धेरै फल्ने रुखमा भन्दा पनि सानो रुख जसमा तिनमुखे देखि ५,७ मुखेसम्मको र थोरै फलेपनि त्यसले धेरै मुल्य लिनसक्छ । तिमाल गाउँमा एउटै रुखबाट ६१ लाख रुपैंया सम्म आम्दानी लिएको रेकर्ड छ ।

दुई मुखे जप मालाका रुपमा प्रयोग गरिन्छ । त्यो १ सय ८ दानाको हुन्छ । यो जति सानो भयो उति बहुमूल्य हुन्छ । ३,४,५,६,७ मुखे भनेको त्यसको आकार अनुसार बहुमूल्य हुँदै जान्छ । तिमाल क्षेत्रमा यस्ता रुखहरु जम्मा २५/३० को हाराहारीमा छन् ।

एउटा दानाको ६ लाख भन्दा बढि पर्ने

दुई मुखेमा जति सानो त्यो बहुमूल्य हुन्छ । ३ देखि ६ मुखेसम्मको दाना जति ठूलो भयो त्यसको मूल्य बढ्दै जान्छ । ३ मुखे एउटा दानाको २००/५०० पर्दछ । ४ मुखे एउटा दानाको १ हजार देखि १५ सय, ५ मुखेको एउटा दानाको १० हजार देखि १५ हजार, ६ मुखे एउटा दानाको १ लाख रुपैंयासम्ममा बिक्री बितरण भएको छ । ६ मुखे बुद्धचित्त एउटा देविदेवताको प्रतिरुप जस्तै देखिन्छ । यता ७ मुखे भनेको सेतो तारा(ह्वाईट तारा)जस्तो हुन्छ । ह्वाईट तारा भन्ने बित्तिकै सात वटा आँखा हुन्छ । त्यसको खास मूल्य नै हुँदैन । किन्नेर बेच्नेबीचको सम्झौतामा मात्रै त्यसको मूल्य तय हुन्छ । सम्झौताअनुसार ५/६ लाख अथवा जति पनि हुनसक्छ । ह्वाइट तारामा निधारमा एउटा आँखा, अर्काे सजिव प्राणीकै जस्तै दुईवटा आँखा, हातमा दुईवटा आँखा र पाउमा दुई वटा आँखा गरि ७ वटा आँखा हुन्छ । त्यसको प्रतिरुप सात मुखे हो भनेर स्पष्टरुपमा बौद्धधर्मको ग्रन्थमा उल्लेख गरिएको लामाले बताए । त्यसको मुल्य नै हुँदैन, अमूल्य हुन्छ ।

BuddaChitta Arthatantra 4

रुख कुर्ने को– को ?

तिमालमा बुद्धचित्तको रुख हुनेले प्रत्यक्षरुपमा यसको आम्दानी गरेका छन् भने रुख नहुनेले बोट कुरेर आम्दानी लिने गरेका छन् । करिब १ हजार घरपरिवार यसबाट प्रत्यक्षरुपमा लाभान्वित छन् ।

त्यस्तै अधिकाँस चिनिया व्यापारीले रुख बुकिङ गरेका हुन्छन् । आफ्नो बारीमा बुद्धचित्तको बोट नभएको परिवारले भने अरुको रुख कुर्ने गरेका छन् । उसले रुख कुरेरै रोजगारी पाईरहेको छ । तर अर्काे कुरा के छ भने काभ्रे तिमालमा बुद्धचित्तको मालाको आम्दानीको आधा भाग भने उत्पादनशिल भन्दा पनि अनुत्पादक क्षेत्रमा र बिलासितामा खर्च हुने गरेको अनुमान गरिएको छ ।

बुद्धचित्तले ʽब्याक टू भिलेजʼ अभियान चलायो

तिमालका अधिकाँसहरु पर्यटन व्यवसाय, उद्यमशिलतामा संलग्न छन् । बुद्धचित्तको बोट बाट करोडौं आम्दानी हुने भएपछि यतिबेला उनीहरु ʽब्याक टू भिलेजʼ अर्थात् गाउँ फर्क अभियानमा लागेका छन् । आफ्नै पाखो पखेरो नै आम्दानीको दरीलो स्रोत बनेपछि उनीहरु यो अभियानमा लागेका हुन् । बाहिर अर्काको घरमा बस्नुपर्ने तर अहिले आफ्नै जमिनमा आफैं मालिक/उद्यमशिल बन्न सक्ने भएपछि उनीहरु यो अभियानमा जुटेका हुन् । परापूर्व काल देखि आफ्नो थापथलोको जमिनलाई उर्वर बनाउँदै कृषि र पर्यटनका माध्यमबाट गाउँको उत्थान गर्न सकिन्छ भनेर उनीहरु व्यक्तिगत र सामुहिक प्रयासमा जुटेका छन् । अहिले बुद्धचित्तलाई वन पैदावरको कृषि उत्पादन अन्तर्गत बन कार्यालयले टाँचा लगाएर बिक्रीका लागि पठाउने गरेको छ ।

बुद्धचित्तकै कारण धेरैको काठमाडौमा घर

आफ्नो उमेरभन्दा जेठो बुद्धचित्तको बोटको आम्दानी लिइरहेका काभ्रे, पोखरी नारायणस्थान– ९ का टेक बहादुर लामा काठमाडौको होटल साथीहरुको जिम्मामा छाडेर यतिबेला गाउँमा छन् । काठमाडौको बानेश्वरमा उनको ʽद बर्गर हाउसʼ भन्ने होटल संचालनमा छ । उनी खलमा मसला कुटेको जस्तै गरि गाउँमा बुद्धचित्तको बोक्रा निकाल्दै छन् । र आफुले बुद्धचित्तबाट आर्जन गरेको आम्दानी होटलमा लगानी गर्ने गरेका छन् । उनले आफुसँग भएको ४ बोटबाट वार्षिक ६ लाख रुपैंया सम्म आम्दानी गर्ने गरेको बताए ।

BuddaChitta Arthatantra 6
बुद्धचित्तकै आम्दानीबाट धेरैले काठमाडौमा घर बनाएको उनी बताउँछन् । त्यस्तै स्थानीयले आफुलाई फाईदा हुने क्षेत्रमा आम्दानीको सदुपयोग गर्ने गरेको लामा बताउँछन् । उनी भन्छन्, ʽयो ठाउँको आर्थिक परिवर्तनको मेरुदण्ड बुद्धचित्त बनेको छ । आर्थिक हिसाबले सबै सक्षम भएका छन् । यहि हिसाबले बुद्धचित्तको माग भएमा नेपालमा तिमाल क्षेत्र ठाउँ धनी ठाउँहरुको सूचिमा दर्ज हुनेछ । ʼ
त्यस्तै ठूलोपर्सेल–९ का स्थानिय विजय लामाले आफ्नो अंशमा भाग लागेको १४/१५ बोटबाट वार्षिक ३५/४० लाख रुपैंयासम्म लिंदै आएका छन् ।

BuddaChitta Arthatantra 7

झट्ट हेर्दा बयरको दाना जस्तो देखिने बुद्धचित्तको महत्व नजानेर सुरु–सुरुमा गाउँका बालबालिकाले गुच्चा खेल्ने गर्दथे ।

BuddaChitta Arthatantra Last

गाईवस्तुलाई राम्रो स्याउला पनि नहुने एकथरि रूखले वर्षेनी तिमाल क्षेत्रमा करोडौंको आम्दानी दिने गरेको छ । अर्थात् लेकको बारीको कान्लामा सप्रिने बुद्धचित्तको रूख काभ्रे तिमालबासीका लागि बरदान साबित भएको छ ।

प्रकाशित मिति : २०७३ साउन २६ गते, ४ः०० बजे

वि.सं.२०७३ साउन २६ बुधवार १६:२२ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...