काठमाडौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफैंले फेल गराएको बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताएका छन् ।
अर्थमन्त्री महराले पत्रकार सम्मेलन गरि राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकलाई पारित गरेर अगाडि बढ्ने तयारी भएको बताए ।
राजनीतिक अविश्वासका कारण बजेटका आश्रित विधयेक असफल भएको बताउँदै उनले भने, “अविश्वासका कारण विधेयक असफल भएको हो, गल्ती भएर होइन । अब राजनीतिक पूर्वाग्रह राखिन्न ।”
सरकारको मुख्य काम संविधान कार्यान्वयन भएको स्पष्ट गर्दै अर्थमन्त्री महराले संविधानमा अधिकतम सहमति गरेर अगाडि बढ्ने बताए । महराले भूकम्पपछिको पुनःनिर्माणलाई द्रुतगतिमा अगाडि बढाउने विश्वास समेत दिलाए ।
अर्थमन्त्री महराले आर्थिक क्षेत्रसँग सम्बन्धित सबै ऐन तथा कानुनलाई अगाडि बढाउन आफूले पहल गर्ने बताउँदै अभिसन्धि ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनलाई अगाडि बढाउने जानकारी दिए ।
प्रकाशित मितिः २०७३ भदौ १४
वि.सं.२०७३ भदौ १४ मंगलवार १८:२३ मा प्रकाशित