back
NMB ad

सिलवाल र चन्दको लडाइँबीच कसरी बने अर्याल प्रहरी महानिरीक्षक ?

Kumari bank ad

काठमाण्डौं । डिआइजी नवराज सिलवाल र जयबहादुर चन्दबीचको करिब २ महिना लामो संघर्षबीच प्रकाश अर्याल नेपाल प्रहरीको महानिरीक्षक भएका छन् । यसअघि नै भइसकेको कार्यसम्पादन मूल्यांकनको अध्ययन गरी प्रतिवेदन पेस गर्न बनेको समितिले दिएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले अर्याललाई प्रहरी प्रमुख बनाएको हो ।

वरिष्ठतामा दोस्रो नम्बरमा रहे पनि कार्यासम्पादनमा पहिलो नम्बरमा रहेका अर्यालले आफ्नो दाबी भने जोडदार रूपमा प्रस्तुत गरेका थिएनन् । गत २ फागुनमा सरकारले जयबहादुर चन्दलाई आइजिपी नियुक्ति गर्दा उनी ट्राफिक प्रहरी प्रमुखको रूपमा राजधानीको ट्राफिक जाम व्यवस्थापनमै व्यस्त थिए ।

चन्दलाई आइजिपी बनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएर कार्यसम्पादन मूल्यांकन नम्बर पेस गर्न निर्देशन दिएपछि मात्रै अर्याल आइजिपी बढुवाको प्रतिस्पर्धामा प्रवेश गरे । कार्यसम्पादन मूल्यांकनमा आफ्नो नम्बर सबैभन्दा धेरै रहेको सूचना उनले पाएका थिए, सोही आधारमा कार्यसम्पादन मूल्यांकनका आधारमा आफूलाई आइजिपीमा बढुवा गर्न माग गर्दै उनले सर्वोच्च अदालतमा रिट पनि हाले । समकक्षी डिआइजी सिलवाल र अधिवक्ता कपिलदेव ढकालले दायर गरेको मुद्दामै जोडेर आफ्नो रिटमाथि फैसला हुने उनको अपेक्षा थियो ।

तर, ८ चैतमा सर्वोच्चले कार्यसम्पादनमा धेरै नम्बर हुनेलाई नै आइजिपी बनाउन परमादेश जारी गर्दै सिलवालको नै धेरै नम्बर रहेको ठहरसमेत ग¥यो । सर्वोच्चले रद्द गरिसकेकाले चन्दलाई नै आइजिपीको फुली लगाउन नसक्ने अवस्थामा पुगेको सरकारले मध्यवर्ती बाटो खोज्न थाल्यो ।
तर, सर्वोच्चले कार्यसम्पादन मूल्यांकनमा अगाडि रहेका व्यक्तिलाई आइजिपी बनाउन परमादेश दिएको थियो । जसमा सबैभन्दा धेरै अर्यालकै थियो ।

अर्याललाई आइजिपी बनाउनमा निवर्तमान आइजिपी उपेन्द्रकान्त अर्याल र राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको महत्वपूर्ण भूमिका थियो । उपेन्द्रकान्तले सुरुदेखि नै प्रकाशको पक्षमा पृष्ठभूमि बनाएका थिए । चार डिआइजीमध्ये प्रकाश नै उनका सबैभन्दा निकट थिए । त्यही भएर कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा धेरै नम्बर उनले प्रकाशलाई नै दिएका थिए । त्यही नम्बरका आधारमा अर्याललाई आइजिपी बनाउन सकिन्छ भन्ने निश्चित भएपछि सरकारले आफ्नो गृहकार्य सुरु गर्यो ।

मन्त्रिपरिषद् बैठक सोमबार दिउँसो ३ बजेका लागि तय थियो । पौने ४ बजे मात्रै बैठक सुरु भयो । बरियता विवादका कारण उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि उपस्थित नभएको बैठकको सुरुमै आइजिपी नियुक्तिको एजेन्डामा छलफल भयो । प्रतिस्पर्धामा रहेका चार डिआइजीहरू नवराज सिलवाल, प्रकाश अर्याल, बमबहादुर भण्डारी र जयबहादुर चन्दको कार्यसम्पादन मूल्यांकन अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेर बैठक स्थगित भयो ।

महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठको संयोजकत्वमा कानुनसचिव कमलशाली घिमिरे, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टंकमणि शर्मा, गृहसचिव लोकदर्शन रेग्मी र निमित्त प्रहरी महानिरीक्षक डा। दिनेशचन्द्र पोख्रेल रहेको समितिले तत्कालै काम सुरु गर्यो । चारै डिआइजीको कार्यसम्पादन मूल्यांकनको फाइल गृह मन्त्रालय, लोकसेवा आयोग र प्रहरी प्रधान कार्यालयबाट मगाएर अध्ययन भयो । झन्डै तीन घन्टा अध्ययन गरेर समितिले प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद् बैठक बस्यो । समितिको प्रतिवेदनअनुसार कार्यसम्पादन मूल्यांकनमा एक नम्बरमा रहेका अर्याललाई मन्त्रिपरिषद्ले आइजिपीमा नियुक्त गर्ने निर्णय गर्यो ।

नवनियुक्त आइजिपी प्रकाश अर्याललाई सोमबार राति नै करिब ११ बजे गृहसचिव लोकदर्शन रेग्मीले फुली लगाइदिएका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा फुली लगाएपछि अर्याल मध्यराती प्रहरी प्रधान कार्यालय नक्साल पुगेर पदभार ग्रहण गरेका छन् ।

को हुन् अर्याल ?
दाङको त्रिभुवन नगरपालिका–११ मा २०२० असार १४ गते जन्मिएका प्रकाश अर्याल २०४४ चैत १९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका हुन्। दैलेख, तेह्रथुम, रुपन्देही, मकवानपुर, कास्कीमा उनी प्रहरी प्रमुख भएर काम गरे। उनी अञ्चल प्रहरी कार्यालय रुपन्देही र मध्य क्षेत्रीय प्रहरी कार्यालय प्रमुख पनि भए। प्रहरीमा अर्याल कडा स्वभावका अधिकृतका रूपमा गनिन्छन्। उनले स्नाकोत्तरसम्मको अध्ययन गरेका छन्। उनी २०६९ साल पुस ४ गते एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए। महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख हुँदा उनले मिटर चलाउन नमान्ने, मनपरि भाडा असुल्ने, लेन मिच्ने चालकलाई कारबाही गर्ने अभियान चलाएका थिए।

तालिम लिने प्रहरी अधिकृतहरूमध्ये अर्याल पहिलो नम्बरमा पर्छन्। उनले अमेरिकामा एफबिआई तालिम लिएका छन्। त्यस्तै, सिनियर प्रहरी कमान्डो, विशेष व्यक्तिको सुरक्षा, मानवअधिकार, अपराध अनुसन्धान, अपराध व्यवस्थापन, प्रति आतंकवाद कमान्डो तालिम लिएका छन्।
विपत व्यवस्थापन, प्रशिक्षक, प्रशिक्षण, जघन्य अपराधसम्बन्धी तालिम लिएका अर्यालले सिनियर म्यानेजमेन्ट र आतंकवाद अपराध अनुसन्धान र घटनास्थलसम्बन्धी तालिम पनि लिएका छन्।
उनले जागिरको अवधिमा अहिलेसम्म दुर्गम सेवा पदक, दैवीप्रकोप उद्धार सेवा, संयुक्त राष्ट्र संघ पदक पाइसकेका छन्। गद्धी आरोहण रजत पदक, प्रदेश सेवा पदक, प्रहरी सेवा पदक, गोरखा दक्षिणबाहु चौथो र वीरेन्द्र ऐश्वर्या सेवा पदक पनि उनले पाएका छन्।

उनी सिआइबीमा रहँदा ३५ किलो सुन काण्डमा भने मुछिएका थिए। प्रहरी सेवामा रहँदा उनीमाथि लागेको दाग यही एउटा हो।

२९ चैत २०७३, पत्रपत्रिकाको सहयोगमा, ७।००

वि.सं.२०७३ चैत २९ मंगलवार ०८:१३ मा प्रकाशित

You can share this post!

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:४२

त्रिवेणी (नवलपरासी), १२ वैशाख : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली...

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...