काठमाडौ। सडकका खम्बामा अव्यवस्थितरूपमा टाँगिएका केबल र टेलिफोनका तारलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले तार काट्न शुरु गरेको छ । सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले माइतीघरस्थित खम्बामा टाँगिएका अव्यवस्थित तार काटेर त्यसको शुरुवात गरे ।
बस्नेतले भने, ‘एशियन डेभलभमेन्ट बैंकको सहयोगमा ऊर्जा मन्त्रालयले जमिनमुनि तार विछ्याउने प्रयास अगाडि बढाइरहेको छ र सडक फराकिलो बनाउनेबारे पनि छलफल भइरहेको छ ।’ यसअघि सञ्चार मन्त्रालयले सम्बन्धित निकायलाई बोलाएर तार पहिचान गर्न र व्यवस्थित गर्न भने पनि व्यवस्थित भएको थिएन । वैधानिकताको दायराभित्र नआएसम्म तार काट्ने अभियानलाई देशैभरि सञ्चालन गर्ने मन्त्री बस्नेतको भनाइ छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले तार एकै ठाउँमा गन्जागोल हुँदा धेरै ठाउँमा असुरक्षा हुने, बाटोमा मोटरसाइकल तथा गाडी हिँड्दा बेरिएर दुर्घटना हुने भएकाले पनि केबल र टेलिफोनका तार हटाउनुपरेको बताए । तार काटेर एकै ठाउँमा व्यवस्थित गर्ने र भविष्यमा त्यसलाई जमिनमुनिबाट व्यवस्थित गर्ने प्राधिकरणको योजना रहेको छ । रासस
प्रकाशित मितिः २०७४ भदौ १८
वि.सं.२०७४ भदौ १८ आइतवार १३:४६ मा प्रकाशित