काठमाण्डौं । नेकपा माओवादीले नेपाल विद्युत् प्राधिकरणले गरेको साउन १ गतेबाट लागु हुने गरी २२ प्रतिशतसम्म विद्युत् महसुल बढाउने निर्णयको विरोध गर्दै उक्त निर्णय फिर्ता लिन माग गरेको छ भने फिर्ता नगरे देशव्यापी संघर्षमा जाने बताएकोछ ।
पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्धारा हिजो आइतबार जारी विज्ञप्तिमा उक्त निर्णय कार्यान्वयन भए देशव्यापी सङ्घर्षमा जाने उल्लेख गरिएको हो । विज्ञप्तिमा ‘नेपाली उपभोक्ताको टाउकोमा गिर खेल्ने सरकारको यो निर्णय तुरुन्त फिर्ता गर्न हाम्रो पार्टी सरकारलाई कडा चेतावनी दिन्छ, यदि यो निर्णय फिर्ता लिइएन भने पार्टी देशव्यापी रुपमा यसका विरुद्ध कडा सङ्घर्षमा जाने विषय अवगत गराउँदछ’ भनिएकोछ ।
प्राधिकरणले हालै घाटा र सेवा शुल्क कारण देखाई आगामी साउन १ गतेबाट लागू हुने गरी विद्युत् महसुलमा ११.२५ देखि २२.१५ प्रतिशतसम्म मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो।
२० असार २०७३, ९.००
वि.सं.२०७३ असार २० सोमवार १०:३२ मा प्रकाशित