काठमाडौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले २८ करोड ६७ लाख रुपैया बराबरको हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले माघ १५ गतेदेखि ८३ प्रतिशत हकप्रद जारी गर्ने भएको छ । फाइनान्सले १० बराबर आठ दशमलव तीन कित्ताको अनुपातमा २८ लाख ६७ हजार २२५ दशमलव ६२ कित्ता सेयर हकप्रद जारी गर्न लागेको हो ।
फाईनान्स कम्पनीको सेयर विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । हकप्रदमा आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट ७५ जिल्लाबाटै आवेदन गर्न सकिन्छ ।
चालु आवको प्रथम त्रैमासिक विवरण अनुसार श्री फाइनान्सको चुक्ता पूँजी ३४ करोड ५४ लाख रुपैयाँ रहेको छ । ८३ प्रतिशत हकप्रद जारीपश्चात फाइनान्स कम्पनीको चुक्ता पूँजी ६२ करोड २१ लाख रुपैयाँ नाघ्नेछ । फाइनान्सलाई राष्ट्र बैंकले तोकेको पूँजी कायम गर्न फाइनान्सले थप १७ करोड ७९ लाख आवश्यक पर्नेछ ।
हकप्रद जारी गर्न कम्पनीले पुस ३० गते आईतबार सेयरधनी किताब बन्द गर्ने मिति तोकेको छ । यसअनुसार पुस २६ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रदमा आवेदन गर्न सक्नेछन् । हकप्रद भर्ने अन्तिम दिन फागुन २० गते रहेको छ ।
त्यसैगरी, बिक्री प्रबन्धकको कार्यालय नक्साल काठमाडौं तथा श्री इन्भेष्टमेन्ट फाइनान्सको केन्द्रीय कार्यालय डिल्लीबजार काठमाडौंसहित शाखा कार्यलयबाट पनि हकप्रद सेयर भर्न सकिनेछ । नेपाल धितोपत्र बोर्डले फाइनान्सलाई मंसिर १८ गते हकप्रद विक्री गर्न अनुमति प्रदान गरेको थियो ।
चालु आवको प्रथम त्रैमासमा फाईनान्सले एक करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६१ पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३८५ रुपैयाँमा कारोबार भएको छ ।
२०७४ पुष २७ गते प्रकाशित
वि.सं.२०७४ पुस २७ बिहीवार ०९:२८ मा प्रकाशित