back
NMB ad

झलनाथ खनालसँग मेरो कुनै नाता सम्बन्ध पर्दैन …

Kumari bank ad

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको जन्म धादिङ जिल्लाको तत्कालिन गजुरी राक्सिङ पञ्चायत र हालको गजुरी गाविस, छेवाङ गाउँमा भएको हो । सामान्य खान लगाउन पुग्ने परिवारमा २०१७ साल भदौ ९ गते जन्मिएका पाण्डेले गाउँबाटै प्राथमिक शिक्षा हासिल गरेका थिए ।
गाउँमा प्राथमिक विद्यालय मात्र भएकाले त्यसपछिको पढाईको निरन्तरताका लागि २०२६ सालमा चितवनको भण्डारामा गएर कक्षा जम्प गरी ७ कक्षामा एक वर्ष पढे । २०१७ सालदेखि चितवन र धादिङ दुवै क्षेत्रमा पाण्डेको परिवारको बसोबास रहँदै आएको थियो । उनका बुबा ६ महिना पहाड ६ महिना चितवनमा बस्ने गर्दथे । भण्डारामा पनि बाँकी पढ्ने अवस्था नभएपछि फेरी कक्षा ८,९, १० शिक्षा धादिङको गजुरी, आदर्श माविबाट सके । १३ वर्षको कलिलो उमेरमै २०३० सालमा उनले एसएलसी काठमाडौबाट दिए । त्यसपछि उनी २०३१ सालमा काठमाडौमा कलेज पढ्थे ।

नेपाल बैंकको जागिर छोडेर भूमिगत भएँ …

कलेज पढ्दा पढ्दै २०३१ सालमै सिक्किम काण्ड भयो । त्यसबेलादेखि नै म बामपन्थी राजनीतिमा सक्रिय भएँ । मेरो राजनीतिक यात्रासँगै पढाईको जीवन भने प्रभावित बन्यो । राजनीति गरेर हिंड्ने छोरालाई घरबाट बुबाले पैसा पठाउन सक्ने स्थिति नभएपछि शिक्षण पेशामा आबद्ध भएँ । धादिङकै नलाङ र ताल्तीमा एक÷डेढ वर्ष पढाएँ । त्यसपछि नेपालगञ्ज तिर गएर नेपाल बैंकको जागिरे भएँ । २०३४ सालसम्म नेपाल बैंकको जागिर गरेपछि जागिरे जीवन छोडेर भूमिगत भएको हुँ ।

त्यसपछि विभिन्न भूमिगत जीवन व्यतित गर्दै २०४६ सालमा बहुदल आउँदा बिराटनगरबाट सार्वजनिक भएको हुँ । २०४६ सालमा काठमाडौमा पार्टीको काम हेर्ने गर्थें। त्यतिबेला म काठमाडौको सचिव थिएँ । त्यतिबेलाको समयमा काठमाडौँका ५ सय मान्छेलाई पूर्णकालिन सदस्य बनाउन सकियो । २०४६ सालमा नै मलाई पार्टीले कोसी पठायो । त्यहिबेला बहुदल आउँदा हो म बिराटनगरबाट सार्वजनिक भएको ।

त्यसपछि पार्टीले मलाई कर्णाली खटायो । त्यहाँ साँढे दुई वर्षजति काम गरेँ । २०४७ सालमा नै नेकपा एमालेको केन्द्रिय सदस्य भएँ । म, विष्णु पौडेल र युवराज ज्ञावाली एकै दिन एउटै बैठकबाट केन्द्रिय कमिटिमा आएका हौं । त्यो समयदेखि लगातार केन्द्रिय कमिटिमा छु ।

कर्णालीबाट फर्किसकेपछि म बाग्मतीको इञ्चार्ज भएँ । बाग्मतीपछि बिद्यार्थी, कर्मचारी, शिक्षक संगठन, उपत्यका लगायत कमिटिलाई नेतृत्व गर्ने काम गरेँ । २०५४ देखि ६० सम्म राष्ट्रिय सभाको सदस्य भएँ । फेरी २०६४/६५ देखि संविधान सभामा समानुपातिक सभासदको रुपमा संबिधानसभामा आएँ । त्यहिबीचमा २० महिना अर्थमन्त्री बनेँ । त्यसपछि २०७० को चुनावमा पहिलो पटक निर्वाचनमा होमिएर चितवनबाट प्रत्यक्ष निर्वाचित भएर सभासद सँगै संबिधान लेखनपश्चात् म अहिले रुपान्तरित व्यवस्थापिका संसदको सांसद छु ।

surendra pandey 2

भूमिगत राजनीति गर्दा बालबाल बचेँ…

भूमिगत कालमा साह्रै दुःख भोगेको सम्झना ताजै छ । कतिपय साथीहरुलाई भूमिगतकालमा खान, बस्न नै संकट परेको भएपनि आफूलाई त्यस्तो संकट कहिल्यै परेन । पुलिसको निगरानी हुन्थ्यो, तर बस्ने कहाँ, सुत्ने कहाँ ! एकचोटि घटना के भयो भने युवराज कार्की पनि संगै काम गर्नुहुन्थ्यो । म भन्दा अगाडीको सचिव हुनुहुन्थ्यो । उहाँको बस्ने सेल्टर नै भएन । नभएपछि मैले एउटा साथिकोमा लगेर एक हप्ताको लागि उहाँलाई राख्नुस् । त्यसपछि स्थाई व्यवस्था म गर्छु, है भनें । अब मेरो सिनियरलाई मैले सेल्टर खोज्दिनु पर्ने त थिएन । तर मलाई त्यो खालको समस्या कहिल्यै पनि परेन । कहाँ खाने, कहाँ बस्ने, मेरो सेल्टर कुन भन्ने समस्या मलाई कहिल्यै पनि परेन ।

बिभिन्न मान्छेलाई म हेर्थे राम्रो क्वालिटी भएको मान्छे अलिकति भावना भएको मान्छेलाई ल तपाईँ/तपार्इँ दुई जना मिल्नुस् र एक जना साथीलाई पाल्नुस् है भनेर भन्थेँ । त्यसैगरी म पनि पालिन्थ्यें । विद्यार्थी कर्मचारीहरुलाई ल्याएर त्यसरी राख्ने काम गरिन्थ्यो । कतिपय ठाउँमा करिब करिब पक्राउ पर्ने ठाउँबाट हामी उम्केका छौं ।

अब एक चोटि के भईदियो भने झलनाथ खनाल महासचिव हुनुहुन्थ्यो । पार्टीको हेर्डक्वाटर काठमाडौमा थियो । हेर्डक्वाटरसम्म सिआईडी पुग्यो । झण्डै झण्डै गिरफ्तारीमा परेको थियौं र सारा सामान चाहीँ गिरफ्तारी हुने सम्भावना थियो । त्यो पछि मैले थाहा पाएँ । थाहा पाएपछि ती सामानहरु सबै गुप्त रुपले ट्रान्सफर गराएँ । म आफु पनि गएँ र एउटा सानो टोली बनाएर मजदुरहरुको एउटा स्क्वाड बनाएँ । त्यो स्क्वाडले चाहीँ त्यो सामानहरुको एकदम छापामार शैलीमा अन्तै सा¥यौं । सबै सामानहरु हामीले सुरक्षित ग¥यौं । कोही मान्छे गिरफ्तारीमा परेनन् । हेर्डक्वाटर भन्ने वित्तिकै देशभरका कमिटी पार्टीका सेन्ट्रल कमिटीदेखि सबै मान्छेका बिबरणसम्म खुल्न सक्ने कागजातहरु त्यो हेर्डक्वाटरमा थियो । त्यो त ठुलो नोक्सान हुन सक्थ्यो ।

तीन वर्षे बच्चाको गोप्य सूचनाले …

अरु कतिपय घटनाहरु पनि छन् । बढो इन्टेस्ट्रिङ घटनाहरु, भयो के भने एउटा घटना असाध्यै मार्मिक छ । कुरा अलि अगाडीकै कुरा हो, मलाई एकजना साथीले एकदमै इमर्जेन्सी भयो र भेट्नु प¥यो । एकदम जिम्मेवार मान्छेसँग मात्र भेट्छु र अरुसँग म भेट्दिन भनेर खबर पठाउनु भयो र म गएँ । त्यो शिलशिलामा थानकोटको प्रहरी चौकिबाट माथितिर जाने बाटो छ । त्यहिँनेर ठ्याक्कै कर्नरमा एउटा दोकान रहेछ रामकृष्ण दुवालको । खवर गर्ने साथी पनि उनै थिए । दुवाललाई मैले पहिले पनि चिनेको थिएँ । किनभने ३२/३३ साल अघि उहाँ पनि सक्रिय हुनुहुन्थ्यो । त्यसबेलामा केस पनि लागेको थियो । त्यसैबेलादेखि नै चिन्थेँ ।

अनि उहाँले खबर गर्नुभएको रहेछ, म उहाँको दोकानमा पुगेँ । दोकानमा गईसकेपछि एउटा ठुलो मोटो फाईल उहाँले मेरो हातमा राखिदिनु भयो । त्यसमा एउटा पत्र चाहीँ पट्याएको रहेछ । मैले उहाँकै सामु त्यो पट्याएको पत्र  खोलेर हेरें । के लेखिएको रहेछ भने त्यसमा झापालीहरुको नक्सलाईड गु्रपका निम्नलिखित व्यक्तिहरु केन्द्रिय सदस्य भन्ने बुझिएको र निम्नलिखित ठाउँमा आतेजाते गर्ने भन्ने पनि बुझिएको हुँदा प्रधानमन्त्री, मन्त्री, के, के, गृहमन्त्री हुँदै आईजिपि फलानो फलानो हुँदै यसरी निर्देशन भएको हुनाले निजहरुलाई गिरफ्तार गरी बुझाउनु भनेर लेखेको पत्र रहेछ । यसमा सात जना मानिसको नाम थियो । ती सबै केन्द्रिय कमिटीको सदस्य थिए । त्यतिबेला हाम्रो पार्टीको केन्द्रीय समितिको सदस्य नौ जना थिए । र क–कसको नाम थियो भन्दा माधव नेपाल, जीवराज आश्रित, मदन भण्डारी, ईश्वर पोखरेल, बामदेब गौतम, नेत्रलाल पौडेल, सहित मैले अरुको नाम बिर्सिएँ । त्यो सहितको पत्र थियो । अनि त्यहाँ के लेखेको थियो भने म अहिले पनि सम्झन्छु, यी मानिसहरु कहाँ कहाँ आवत जावत गर्छन् भन्दा शुशिल अमात्यको घर पाटन ढोका, बिष्णु चित्रकार काठमाण्डौं, केपि चित्रकार एण्ड कम्पनीको एकाउन्ट फर्म, शान्ति शितल लज बिराटनगर, थान्के दाईको घर बुटवल आदि । देशैभरका लोकेशन सहित दिएको यि यि ठाउँमा आउँछन् भनि लोकेशन सहित दिईएको चिठी पाईयो । त्यसपछि मैले त्यो सिङ्गै फाईल बोकेर आएँ । हाम्रो यि सबै आउने जाने सेल्टरहरु नै थिए । आएपछि हामीले इमिडियट्ली त्यसलाई सुरक्षित गर्यौं ।

कसरी यो तपाईको हात लाग्यो त ! भनेर मैले सोधें रामकृष्ण जीलाई सोधें । अनि उहाँले भन्नुभयो, पुलिस थानकोटको चौकीमा एउटा टुलमा फाईल राखेर बस्दो रहेछ । अनि पुलिसलाई पिसाब गर्न मन लाग्यो वा के भयो उ फाईल त्यहीँ छोडेर निस्किएर हिड्यो । उहाँको ३ बर्ष जतिको टुकुटुकु हिँड्ने बच्चा हिँड्दै गएछ र त्यो फाईल उसले केही बुझेर होईन कि त्यत्तिकै बोकेर ल्याएछ । अनि बाबु चाहीँ राजनीतिकर्मी भएको हुनाले के ल्याएछ छोराले भनेर यसो पल्टाएर हेर्ने बित्तिकै जम्मै यस्ता वारेन्ट लेटर नै भरिपुर्ण थियो त्यहाँ । शिक्षक आन्दोलनको वारेन्ट, विद्यार्थीलाई वारेन्ट, टंक कार्कीलाई वारेन्ट जम्मै वारेन्ट नै वारेन्टले भरिपुर्ण रहेछ । अरु कुरा त केही थिएन खुला थिए ति मान्छे तर पार्टीमा पनि भेटेको हुनाले उनले चाहीँ यहाँ बुझाए । पछि दुःखद कुरा त्यही बच्चा चाहीँ बितेछन् । यसरी ठुलो क्षति हुनबाट जोगिएको छ ।

surendra pandey 3

मदन भण्डारीलाई असुरक्षित पार्ने तीन पन्ने कागज …

अर्को एउटा घटना सम्झल्छु, त्यसैगरी एकजना विद्यार्थी थिए अस्कल क्याम्पस पढ्ने । अहिले उनी आर्मीको कर्णेल छन् । उनले त्यसैगरि जिम्मेवार कमरेडसँग भेट्नुप¥यो भने अनि म गएँ । म गएपछि उनले एउटा कागज दिए । तीन पन्नाको त्यो कागजमा के थियो भने मदन भण्डारी, स्वेत शार्दुल, एस.एस.बि.बी.आर, सागर भन्ने नाम गरेको मदन भण्डारी झट्ट हेर्दा पन्जावी जस्तो देख्ने यो चाहीँ यो–यो ठाउँमा बस्छ र कोसी अञ्चलको सबै जिल्लाको सम्भवत पार्टीका जिल्ला सदस्यहरु यी–यी छन् भन्ने सहितको विवरणको ३ पन्नाको कागज त्यहाँ रहेछ । अनि फलानो ठाउँमा सम्भवत हतियार राखेको छ भन्नेसम्मको पनि सेल्टरको बिबरण त्यहाँ रहेछ । त्यो कागज उनले मलाई दिए ।

अनि कसरी यो कागज तपाईले हात लगाउनु भयो भन्दा एकजना पदम चुडाल भन्ने मान्छे मोरङको सचिव थिए । त्यो मान्छे चाहीँ बिग्रिएछन र यहाँ आएर जो विद्यार्थी साथी छन् उनी चाहीँ उनको मीत भाई रहेछन् । त्यो मीत भाईको डेरामा बसेर उनले लेखेछन् र सफाई गरेको चाहीँ उता कतै बुझाए होला । रफ गरेको चाँही त्यहीँ छोडेछन् । पदम चुँडाल त्यो भन्दा इमिडेट पास्ट मोरङ सचिव हो । त्यसपछि त्यो तुरुन्त मैले पाएपछि यहाँ आएर त्यतिखेर झलनाथ महासचिव, माधव नेपाल पनि काठमाडौ भ्यालि नै हेर्नुहुन्थ्यो । प्रदीप नेपालहरु पनि हुनुहुन्थ्यो । हामी बस्यौँ,अब के गर्ने भनेपछि हामी त प्लेनमा जान सक्ने स्थिती थिएन । एकजना कर्मचारी साथीलाई प्लेनको टिकट दिएर तुरुन्त हामीले भोलिपल्ट बिहान फस्ट फ्लाईटमा बिराटनगर पठायौं । अब त्यहाँ कागज दिएर पठाउने  स्थिती भएन । प्लेनमा चेक गर्ने खोज तलासी गथ्र्यो । अनि यस्तो–यस्तो भेटिएको छ, तुरुन्तै सुरक्षित हुने भनेर मदन भण्डारी सहित सबैलाई सुरक्षित हुन भनेर हामीले पठायौं । त्यति खेर मदन भण्डारी कोसी अञ्चलको इन्चार्ज हुनुहुन्थ्यो । कोसी सगरमाथाको पोलिटव्यूरो सदस्य हुनुहुन्थ्यो । त्यसपछि पदम चुडाल भन्ने मान्छे सबै यहाँ आफ्नो रिपोर्ट बुझाएर बिराटनगर पुग्दा हामीले सेल्टर सुरक्षित गरिसकेका थियौं । उसले भनेको जस्तो सामान पनि त्यहाँबाट हटाईसकेका थियौं । आउने जाने पनि बन्द भईसकेको थियो । उ भन्दा हामी फस्ट भयौं र त्यसरी हामीले सुरक्षित गरेका थियौं ।

त्यो घटनाको साक्षी म । पछि म आफैं कोसी जानु प¥यो ।  बहुदल आउने बित्तिकै मदन भण्डारीकै भाईले त्यो मान्छे पार्टीमा प्रवेश गर्छु भनेको छ फेरी भनेर उहाँले ल्याउनु भयो । अनि त्यसले त्यसो गरेको हो कि होईन भन्दा म आफैं साक्षी छु बाबा ! कागज पाउने पहिलो मान्छे नै मै हुँ भनेर त्यतिखेर उसलाई पार्टीले गम्भिर कारबाही गर्ने फैसला गर्यो, कारबाही गर्ने जिम्मा पनि मलाई नै दिएको थियो ।

कर्णालीमा खीरमा पाकेको झिंगा खाएँ …

बहुदल आएपछि पनि म पूर्व, पश्चिम धेरै ठाउँमा, धेरै जिल्लामा, धेरै अञ्चलमा घुम्ने नेता मध्येको एक हुँ । म जसरी कार्यक्षत्र बदलेर हिँड्ने मान्छे कमै छन् । मेरै खुसीले कार्यक्षेत्र बदलेर हिँडेको होईन, पार्टीले नै पठाएको हो । धेरै ठाउँमा म गएँ त्यसकारणले एउटा स्टे«न्थ पनि दिएको छ के भन्दा धेरै ठाउँका मान्छेहरु म चिन्छु । त्यो ठाउँको लोकेसन चिन्छु, किनभने म त्यो ठाउँमा गएको छु, बसेको छु, त्यहाँ कमिटी बैठकहरु चलाएको छु । त्यो आफैंमा कठिन काम हो ।

बहुदल आएपछि म कणाली गएँ । कर्णाली जाँदा सुर्खेत हुँदै हुम्ला पुग्नलाई १४ दिन लगाएर हिँडे । हामी लेकमा जाँदै थियौँ । लेकमा गोठालाहरुले दुध दोहीरहेका रहेछन् । एउटा घटना कस्तो भयो भने कर्णाली जाँदा जुम्लाको एक ठाउँमा संगैका साथीले खीर खाने हो कमरेड भने ! गोठालाहरुले दुध दोहीरहेको परैबाट देखिन्थ्यो । त्यहाँ पुगिसकेपछि खीर खाने भनेपछि भाँडोमा ल्याएर दुध हाल्ने सिलसिलामा त्यो दोएर झुन्ड्याएको गोबुवा हुन्छ नि ! त्यो त कुनै देख्दै देखिँदैनथ्यो । माथिबाट झिँगाले टन्न पर्दा लगाएको जस्तो । अनि जालीमा हाल्दा त झण्डै झण्डै दुई मुठी जति झिँगा रहेछ । दुध भाँडामा हालियो, हालेपछि झिँगा देखेरै कसरी खाने जस्तो लाग्यो । अनि म झिँगा टिप्दै फाल्दै थिएँ । चिसो छउन्जेल त म टिपेर फाल्दै थिएँ । अब लेकमा नपाक्ने भएर त्यो चलाएको चलाई गर्नुपर्छ । एकजना साथी चलाएको चलाई छन् म चाहीँ टिपेर फाल्दै छु । जब तातो हुन थाल्यो । त्यो गलेर भित्र गईहाल्यो । त्यसपछि ल यो नखाई सुखै छैन भनेर घुम्न गएँ । पछि नखाए भोकै परिने डरले त्यहि झिँगै झिँगा भएको खीर पनि खाईयो । त्यहाँ झिँगा नखाई सुखै छैन, कर्णालीमा त्यस्तो छ ।

बच्चाको दिसा र कुकुरले चाटेको तरकारी खाँदा…

अर्को मुगुको सेंडा भन्ने गाउँमा कस्तो चलन छ भने बच्चाहरुको कट्टुको जाङको भाग चाहीँ सबै पुरै खुल्ला हुन्छ । दिसा ग¥यो भने पनि फ्यात्तै भुईँमा झर्ने, धुने भन्ने चलनै छैन । एउटा महिला बसेर सिमी केलाईरहेकी रहेछिन्, केलाउँदै प्रेसर कुकरमा हाल्दै थिईन् । त्यहाँ फेरी प्रेसर कुकर घरै पिच्छे हुन्छ । अनि त्यति बेलामा तरकारीमा नै पर्ने गरी बच्चाले दिसा ग¥यो ।

चेई चेई भनेर कुकुरलाई बोलाईन् र कुकुरले मज्जासँग दिसा चाट्यो । चाटेपछि एकदम सफा देखियो नि सिमी, त्यहि दिसा गरेको सिमी टिपेर ती महिलाले फेरी प्रेसर कुकरमा हालिन् । खानु छ त्यहि बेलुका हेर्नुस् ! अब यस्तो खालको जीवनमा अब कतिले भोगेका छन् । म अलि घिन कम मान्ने भएको हुनाले त्यसलाई अपनाएँ । नत्र भनेँ त्यहाँ मलाई दुई दिन पनि बस्नलाई गाह्रो पर्थ्यो है !

कर्णालीमा खानलाई त्यत्तिकै कठिनाई, बास बस्नलाई त्यत्तिकै कठिनाई, एकचोटि जाँदा झण्डै हिउँले खाईदिएको थियो । हिउँको पहिरोमा पर्ने खतरा, ति जम्मैबाट हामी बचेर यहाँसम्म आईयो । त्यहाँ जानु मेरो केहि स्वार्थ थिएन । कर्णाली अहिले पनि कर्मचारी पैसा खाएर त जान तयार छैनन् । हामी पार्टीको त्यहाँको संगठनकर्ता त्यसरी काम गथ्र्यौँ । त्यसको परिणाम पाँचै जिल्ला एमालेले जितेको थियो ।

मनमोहन अधिकारी ७० वर्षमा बल्ल साँसद…

अहिलेको जेनेरेसनले त्यो खालको दुःख भोगेको छैन । अहिलेको मान्छेको यसो हे¥यो भने यति बर्ष भईसक्यो म प्रतिनिधि भएको छैन भन्छ । मनमोहन अधिकारी ७० बर्षमा सांसद हुनुभयो । ७० बर्षसम्म त सिङ्गै आन्दोलन नै बिताउनु भयो नि । त्यस कारणले अहिलेको यो जेनेरेसनले पार्टी राजनीतिमा अलि बुझ्नुपर्नेछ । उनीहरुको लगानीको आधारमा योगदानको आधारमा उनीहरुलाई प्रतिफल हुनुपर्छ भन्नेमा हामी पनि सचेत नै छौं ।

दाजु बनेर माधव नेपालले केटी नमागिदिएको भए…

अन्तरजातिय विवाहलाई अझैसम्म पनि पूर्णरुपमा समाजले पचाईसकेको छैन । तर हामीले (पूर्णशोभा चित्रकार) उतिबेला नै अन्तरजातीय विवाह गर्यौं । मलाई विवाहको कुराले कहिल्यै फरक पारेन । किनभने मैले आफैंले निर्णय गरेर बिहे गरेको हुँ, पार्टीले नै हामीलाई अन्डस्र्टाण्डिङ गरिदिए । हाम्रो लभ म्यारिज होईन । कतिलाई के हुन्छ भने यो अन्तरजातिय भएपछि लभ म्यारिज हो कि भन्ने विश्वास हुन्छ । पार्टीले नै तिमीहरु दुईजना विवाह गर्छौ भनेर प्रस्ताव ग¥यो, हुन्छ भन्यौं । त्यस मानेमा हाम्रो एरेञ्ज म्यारिज (मागी विवाह) हो ।

हामीले डिसाईड गरेर विवाह ग¥यौं र बिहे गरिसकेपछि मेरो परिवारलाई मैले कन्भिन्स गर्न सक्छु भन्ने नै थियो । मेरो बुबा अलिकति त्यस्तो कन्जरभेटिभमा बिश्वास गर्नुहुन्न थियो । बुबा पुरेत्यार्इँ गर्नु हुन्थ्यो । तर पुरानो खालको सोचमा उहाँलाई बिश्वास थिएन । हामी पढेर घर जाँदा कमजोर भएका छन् स्वास्थ्य ख्याल गर्नुपर्छ भनेर कुखुराको अन्डा ल्याईदिनुहुन्थ्यो । उहाँ जस्तो ब्राह्मण अरु कसैले गर्दैन नि, हैन ! मलाई परिवारबाट कुनै समस्या रहेन । ससुराली तर्फ पनि त्यस्तो हामीलाई केही पनि भएन ।

ससुरालीमा हामीले मागेर नै बिहे गरेको हुनाले मेरो बिहे गर्न केटी माग्न जाँदा मेरो दाजु बनेर माधव नेपाल जानु भएको थियो । र मेरो जन्तीमा हामी पाँच जना गएका थियौं । माधव नेपाल, बिष्णु चित्रकार (झलनाथको जेठान) उहाँ त्यतिखेर हाम्रो पार्टीको उपत्यका कमिटीको सदस्य हुनुहुन्थ्यो  । त्यसपछिको मान्छे भनेको बिष्णु शर्मा म जुन सेल्टरमा बस्थ्येँ त्यो सेल्टरको साथी, चौँथो मदन थेवे भन्ने उनी पनि म बस्ने सेल्टरकै साथी अहिले अमेरिका बस्छन् र म । पाँच जना हामी गएका थियौं ।

यसको पनि एउटा रोचक प्रसंग के छ भने बिहे गर्ने कुरा गरियो अब कसरी जाने भन्दा क्षेत्रपाटीमा उभिईरहेको थिएँ । सबै जम्मा भएर एउटा ट्याक्सी खोजेर स्वयम्भु आइयो । अब नेवारहरुको चलन कस्तो हुँदो रहेछ भने केटीलाई अन्माएर पठाउँदा त कहीँ छोडिदिनु पर्ने ! केटाको घर सम्म पु¥याइदिनुपर्ने । हाम्रो त घर नै छैन कहाँ लाने ! न डेरा छ, भुमिगत मान्छे । त्यो त्यहीँ हामीले एकछिन सोचेर कहाँ जाने त भन्दा शुसीलचन्द्र अमात्यको घर पाटनढोका थियो । त्यही हो घर भनेर हामी त्यहाँ गयौं र माईतीको मान्छेलाई फिर्ता पठाईदियौं । हामी त्यहाँबाट अन्तै लाग्यौं । त्यहाँ बस्ने कुरा नै थिएन । जहाँ हाम्रो सेल्टर थियो त्यहीँ गयौं ।

surendra pandey 1

झलनाथ खनालसँग मेरो कुनै नाता सम्बन्ध पर्दैन …

ससुरालीमा उनको एकजना माईली भाउजु राजनीतिक समर्थक हुनुहुन्थ्यो । अरु दाजुभाईहरु गैरराजनीतिक व्यक्ति नै भए । उनीहरु चार जना दाजुभाईमा जेठो बितिसक्नुभयो, माईलो हुनुहुन्छ, साँईलो बितिसक्नुभयो, कान्छो हुनुहुन्छ । जेठी दिदी बितिसक्नुभयो माईली पनि बितिसक्नु भयो, साइँली र यिनी कान्छी चार जना हो ।
एउटा तपाईलाई भनिहालौंं, कतिपय मान्छेले त प्रचार पनि गरे झलनाथ र म साढुदाई र सढुभाई भनेर, तर हाम्रो केहि पनि नाता पर्दैन । चित्रकार चित्रकारको बीचमा बिहे हुन्छ । उनीहरु उनीहरुको बीचमा पनि बिहे हुन्छ । हाम्रो कुनै नाता छैन । उही चित्रकार भएकाले साढुभाई साढुदाई भनिदए ।

एकचोटी मैले केन्द्रिय कमिटिमा नै जोक गरेर भनेको थिएँ । यो साढुदाई साढुभाई भन्छौ त्यसो हो भने यहाँ तीन साढुदाई साढुभाई बसिरहेका छन् । अमृत बोहोरा, केपी ओली र शंकर पोखरेल, तिमीहरुले शाक्य बिहे गरेका छौ । तिमी तीन भाई साढुभाई साढुदाई त यहिँ छौ नि भनेको थिएँ ।

पूर्वअर्थमन्त्री समेत रहेका नेकपा एमाले स्थायी समिति सदस्य पाण्डेसँग अर्थतन्त्रका लागि रामेश्वर कार्की र हरिशरण न्यौपानेले गरेको कुराकानीमा आधारित  ।

प्रकाशित मिति २१ असार २०७३  / ९ : १८ : ३८ 

वि.सं.२०७३ असार २४ शुक्रवार २१:२९ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...