
बजारमा कालोबजारी बढ्दै गएपछि यसलाई नियन्त्रण गर्नको लागि नेपाल राष्ट्र बैंकले भारतीय मुद्रा सटहीमा कडाई गरेको छ। बजारमा अन्य सामानको कालोबजारी बढ्दै गएको समयमा भारतीय रुपैयाँको समेत कालोबजारी बढ्न लागेको भन्दै राष्ट्र बैंकले भारतीय मुद्रा सटहीमा कडाई गरेको हाे ।
भारतमा गएर सामान खरिद गर्नको लागि भारतीय मुद्रा खरिद गर्न लागेपछि बजारमा भारतीय रुपैयाँको कालोबजारी बढेको हो। अब एक ब्यक्तिले एक हप्तामा २५ सय भारतीय रुपैयाँ मात्रै खरिद गर्न पाउनेछन्। तर औषधि खरिद तथा उपचारमा जान लागेका मानिसहरुको लागि भने यो हदबन्दी लागु नहुने नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिए।
एकै ब्यक्तिले दिनमा दुईदेखि तिन पटक सम्म भारतीय रुपैयाँ खरिद गर्ने कार्य बढ्न थालेकोले समेत हदबन्दी तोकिएको पंगेनीले जानकारी दिए। त्यस्तै राष्ट्र बैंकले ५ सय र १ हजार भारतीय रुपैयाँ विनिमयमा पनि प्रतिबन्ध लगाएको छ ।
भारतीय मुद्रा खरिद गरि भारतबाट तस्करीहरुले सामान खरिद गर्ने प्रक्रिया बढ्न थालेपछि राष्ट्र बैंकले भारतीय रुपैयाँको सटहीमा हदबन्दी तोकेको हो । तर राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनी भने भारतीय मुद्राको सटहीमा कडाई गरेको नभई कालोबजारी रोक्नको लागी मात्रै हदबन्दी घोषणा गरेको बताउँछन्।
उनले भने ‘कालोबजारी बढ्न थालेपछि अनावश्यक रुपमा भारतीय रुपैयाँ बजारमा किन जान दिने भनेर मात्रै हदबन्दी घोषणा गरेका हौ, औषधि उपचार तथा अन्य प्रयोजन खुल्ने देखेमा हामीले हदबन्दी लगाउँदैनौ। ’
भारतको अघोषित नाकाबन्दी र मधेस आन्दोलनको कारण भारतबाट आयात हुने सामान नाकामै रोकिएका छन्। नाकाबन्दीका कारण बजारमा पेट्रोलियम पदार्थ र ग्यासको अभाव भएको छ । साथै बजारमा यसको कालोबजारी समेत बढेको छ। तस्करीहरुले भारतीय मुद्रा उच्च मूल्यमा खरिद गरी भारतबाट अवैध बाटाको प्रयोग गरी सामान आयात गर्न थालेका छन्।
वि.सं.२०७२ मंसिर ६ आइतवार १४:१० मा प्रकाशित