
भक्तपुर: भारतको अघोषित नाकाबन्दीका कारण कृषकले सिचाइँका लागि मट्टितेल नपाएपछि वैकल्पिक उपाय अपनाउन थालेका छन् ।
कृषकले विद्युत्बाट चल्ने पम्पबाट सिचाइँ गरी तरकारी उत्पादन गर्न थालेका हुन् । उपत्यकामा परम्परागत राजकुलो चल्न छोडेको वर्षौँ भइसकेको छ । राजकुलोको विकल्पमा कृषकले मट्टितेलबाट चल्ने पम्पको सहायताले सिचाइँ गर्दै आएका थिए ।
मट्टितेल पाउन छाडेपछि विद्युत्बाट चल्ने पम्पबाट सिचाइँ गर्न थालेका मध्यपुर थिमि नगरपालिका–१६, लोकन्थलीका कृषक भाइराम हेकाले बताए । “हरियो तरकारीमा हप्ता दश दिनमा नै सिचाइँ आवश्यक पर्छ होइन भने तरकारी बारीमै सुकेर जान्छ”, हेकाले भने, “खेर फाल्नुभन्दा उत्पादन गरेर बजार लान पाए केही आम्दानी हुने आशामा विद्युतीय पम्प जडान गरी सिचाइँ गर्न थालेका छौँ ।” कृषकको समूह बनाई रु ५० हजारको लागतमा सिचाइँको लागि वैकल्पिक उपाय अपनाएको उनको भनाइ छ ।
त्यस्तै लोकन्थलीकै अर्का कृषक राजु प्रजापति ९माईला दाई०ले एकल लगानी मै विद्युतीय पम्प जडान गरेको बताए । उनले घरदेखि ५०० मिटरको दुरीमा रहेको खेतसम्म विद्युत् लाइन विस्तार गरी सिचाइँ गर्न थाल्नुभएको छ । छरछिमेकका कृषककोसमेत सिचाइँ गरिदिने र त्यसका लागि प्रतिघण्टा रु २०० लिने गरेको उनले बताए । “खेतसम्म तार बिच्छ्याउन मात्र रु १० हजार खर्च भएको छ”उनले भने“मेसिनलगायतको खर्च जोड्दा रु ४० हजारभन्दा बढी खर्च भइसकेको छ ।”
कृषकले सिचाइँका लागि सरकारले विद्युत्को व्यवस्था गरिदिनुपर्ने माग गरेका छन् । उनीहरुले सरकारले किसानको समस्या समाधानमा चासो नदिएको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन् । हरियो तरकारी उत्पादक किसानलाई सिचाइँका लागि मट्टितेलको व्यवस्था गर्नुपर्ने त्यसो नभए सरकारले खेत–खेतमा विद्युत् वितरण गर्ने व्यवस्था गर्नुपर्ने कृषक प्रजापतिले माग गरे ।
जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत सम्झना कोइरालाले मलका समस्या लिएर किसान आएपनि सिचाइँका समस्या लिएर नआएको बताए। “किसानका लागि विद्युत् मिटर सहयोग गर्ने कार्यक्रम रहेको छ” उनले भने ।
रासायनिक मलको हाहाकार
गहुँ छर्ने र आलु रोप्ने बेलामा कृषकलाई मलको अभाव भएको छ ।
नाकाबन्दीका कारण कृषक मल नपाएर गहुँ छर्ने वा नछर्ने दोधारमा छन् । किसानले हरियो तरकारीमा मलको विकल्पमा विभिन्न खालका पौष्टिक तत्व प्रयोग गर्न थालेका छन् । मलको दाँजोमा सस्तो भएका कारण पनि किसान त्यस्ता पौष्टिक तत्वप्रति आकर्षित हुन थालेको मल बिक्रेता बताउँछन् ।
“मल नभएपछि तरकारी उत्पादन हुँदैन, त्यसैले मलको विकल्पमा विभिन्न खालका पौष्टिक तत्व बिक्री गर्न थालेका छौँ” भक्तपुर सानो थिमिस्थित नाट्यश्वर बीउबीजन पसलका सञ्चालक सन्मान मन्तासिरले भने ।
कृषि कार्यालयको मल ल्याएर वितरण गर्ने कार्यक्रम नरहेको तर कृषि सामाग्री केन्द्रबाट मल ल्याउन सहकारी तथा कृषक समूहलाई सिफारिस दिने कार्य गर्दै आएको योजना अधिकृत कोइरालाले जानकारी दिए । “ करिब २० सहकारी र समूहलाई दुई हजार बोराको हाराहारीमा मलको लागि सिफारिस दिएका छौँ” उनले भने ।
यसैबीच जिल्ला सहकारी सङ्घलगायत जिल्लाका केही सहकारी मल लिन विरगन्ज पुगेका छन् । कृषि सामाग्री बिक्री केन्द्रले मल ल्याउन नसकेपछि सहकारीको एक टोली विरगन्ज गएको जिल्ला सहकारी सङ्घका कार्यालय सचिव मेघनाथ घिमिरेले जानकारी दिए । सोमवार ६३ टन युरिया र २१ टन डिएपी मलका लागि बिल भुक्तानी गरिसकेको उनले बताए । “मङ्गलबारसम्म मल ल्याउन सके बुधबारबाट वितरण गर्छौँ” उनले भने ।
जिल्लामा मलको हाहाकार भएपछि कालोबजारीसमेत मौलाएको छ । सहकारीले मल ल्याउन नसकेको मौका छोपी विभिन्न बिक्रेताले युरिया मल एक बोराको रु दुई हजार ५०० देखि रु तीन हजारसम्म बिक्री वितरण गरिरहेको पाइएको छ ।
वि.सं.२०७२ मंसिर ९ बुधवार १२:२३ मा प्रकाशित