
काठमाडौ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले नातागोतालाई भूकम्पपीडितका नाममा चीन पठाउनु गल्ती भएको भन्दै आत्मालोचना गरेका छन् । सोमबार एमाओवादी केन्द्रीय समितिमा आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै बस्नेतले गल्ती स्विकारेका हुन् ।
‘खासमा मलाई सबै जानकारी थिएन, सचिवालयले छलफल गरी नाम सिफारिश गरेको रहेछ,’ केन्द्रीय समितिमा बस्नेतले भने, ‘तर जे–जसरी हुन गएको भए पनि जरुर गल्ती भएको छ । ममाथि अनावश्यक शंका नगरियोस् । जनताकै माझमा राजनीति गरेर आएको हुँ । अब सच्चिन्छु ।’
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका चार नातिनीसहित बस्नेतले आफ्ना नातागोतालाई भूकम्पपीडितका नाममा चीनको अवलोकन भ्रमणमा पठाएको खुलेपछि मंसिर १५ गतेदेखि जारी एमाओवादी केन्द्रीय समितिको बहस मोडिएको थियो । अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि बोल्ने क्रम सकिनै लाग्दा केन्द्रीय सदस्यहरुले बस्नेतको ‘मनोमानी’ पार्टी आचारसंहिताविपरीत भएको भन्दै छुट्टै एजेन्डाका रुपमा छलफल गराउन माग गरेका थिए । सोमबार बोल्ने सदस्यहरुमा देवी खड्का, झक्कुप्रसाद सुवेदी, शालिकराम जमरकट्टेल, उर्मिला अर्याल, सन्तु दराई, गिरिराजमणि पोखरेल थिए । उनीहरुले बोलिसकेपछि गृहमन्त्री बस्नेत र त्यसपछि अध्यक्ष दाहालले बोलेका थिए ।
दाहालले प्रतिवेदनमाथि बहस सकिएपछि गृहमन्त्रीको बारेमा छलफल गरिने भनी थुम्थुम्याउन खोजे पनि केन्द्रीय सदस्यहरुले बहस गर्न नपाए मतदानको प्रक्रियाबाट भए पनि बस्नेतलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाउने निर्णय गराएरै छाड्ने चेतावनी दिएका थिए । पछिल्ला दुई बैठकमा बस्नेतमाथि निरन्तर प्रश्न उठेपछि दाहाल सोमबारको बैठकमा यसलाई छुट्टै एजेन्डाको मान्यता दिलाउन बाध्य भएको बैठक स्रोतले बतायो ।
‘गृहमन्त्रीको बारेमा बैठकमा बहस भएपछि उहाँले आत्मालोचना गर्नुभएको छ, त्रुटि सच्याउने भन्नुभएको छ,’ बैठकपछि प्रवक्ता दीनानाथ शर्माले भने, ‘मन्त्रीहरुको क्रियाकलाप जनताको चासोभित्र पर्नु स्वभाविक भएकाले उहाहरु जवाफदेही बन्नैपर्छ भन्ने पार्टीमा साथीहरुले आवाज राख्नुभयो । पार्टीले उहाँलाई गल्ती सच्याउने मौका दिएको छ ।’
यद्यपि केही केन्द्रीय सदस्यले भने गृहमन्त्रीले गल्ती स्वीकार्दैमा यो विषय अन्त्य नहुने, उनलाई फिर्ता बोलाउनैपर्ने माग यथावत् राखेका छन् । विवाद बढेपछि दाहालले पुस ४ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
वि.सं.२०७२ मंसिर २९ मंगलवार ०७:०७ मा प्रकाशित