
काठमाडौ । सन् २०१५ मा एक करोड ६० लाख भन्दा धेरै बालबालिका युद्ध क्षेत्रमा जन्मिएका छन् । संयुक्त राष्ट्रसंघीय बालकोषले गरेको एक अध्ययनले सन् २०१५ मा विश्वभर गरी युद्ध क्षेत्रमा एक करोड ६० लाख भन्दा धेरै बालबालिकाको जन्म भएको देखाएको छ ।
विश्वमा जन्मिने हरेक आठ शिशुमा एक जना युद्ध क्षेत्रमा जन्मिने गरेको युनिसेफले जनाएको छ । यसले विश्वमा बालबालिकोको अवस्था कस्तो छ भन्ने कुरा प्रष्ट हुने युनिसेफका कार्यकारी निर्देशक एन्थनी लेकले बताएका छन् । यता युनिसेफले पनि विश्वमा जन्मिने धेरै बालबालिकाको अवस्था सामान्य नरहने गरेको जनाएको छ ।
युद्धक्षेत्रमा जन्मिएका धेरै बालबालिका पाँच वर्षसम्म जीवित रहनेमा नै आशंका रहेको भन्दै युनिसेफले चिन्ता व्यक्त गरेको छ । जीवित रहने पनि अभाव र तनावको जीवन बिताउन बाध्य हुने अवस्था रहेको भन्दै यसतर्फ चासो व्यक्त गरिएको छ ।
द्वन्द्वग्रस्त इराक, दक्षिणी सुडान, सिरिया, यमन सहितका देशमा नवजात शिशु र आमाको अवस्था भयानक रहेको युनिसेफले जनाएको छ । धेरै गर्भवतीले स्वास्थ्य सुविधा पनि नपाउने गरेको भन्दै युनिसेफले सबैको ध्यानाकर्षण पनि गराएको छ ।
यस्तै यो वर्षको पहिलो ९ महिनामा दुई लाख भन्दा धेरै बालबालिकाले युरोपियन युनियनका देशमा शरण मागेका छन् । यसअघि सन् २०१४ मा झण्डै तीन करोड बालबालिकोले युद्धबाट बच्नका लागि घर छोडेका थिए ।
– एजेन्सीको सहयोगमा
वि.सं.२०७२ पुस २ बिहीवार १६:२६ मा प्रकाशित