देवप्रकाश त्रिपाठी
हरेक सन्तानका निम्ति मातापिता सर्वाधिक प्रिय, पूजनीय, माननीय र मननीय हुन्छन्, अपवादका घटना सन्दर्भबाट प्रभावित नभईकन बन्ने–बनाइने मान्यता यही नै हो । यदाकदा कुनै पुत्र या पुत्रीले आफ्ना मातापितालाई सताएको या हत्यासम्म गरे–गराएको पीडादायी समाचार सुनिन्छ । यस्ता दुर्लभ घटनालाई आधार बनाएर सन्तानसँग आमाबाबुको सधैँ वैरभाव रहन्छ भन्ने निष्कर्षमा पुग्न सकिँदैन । स्वस्थ र सन्तुलित दिमागले आफ्ना पितामाताप्रतिको प्ेरम र सम्मानभावमा कहिल्यै कञ्जुस्याइँ गर्दैन । हो, कुनै पनि व्यक्तिको प्रगतिमा धेरैबाट अनेकौँ प्रकारको सहयोग रहनसक्छ र सहयोगको मात्राका आधारमा कोही कसैका निम्ति विशेष महत्त्वका व्यक्ति बन्न सक्छन् । तर, प्रगति मानिस जन्मिएपछि मात्र हुने कुरा हो, जन्मचाहिँ आमाबाबुले मात्र दिन सक्छन् । त्यसैले व्यक्तिको जीवनमा जो, जसले, जस्तो प्रकारले योगदान पुर्याएका भए पनि मातापिताबराबर कसैको कुनै योगदानलाई मानिँदैन ।
देशको सन्दर्भमा पनि यस्तै मान्यता रहन्छ, देशको स्थापना गर्ने व्यक्ति मातापिताबराबर सम्मानति र प्रिय हुन्छन् । बिस्मार्क, नेपालियन र चङ्गेज खाँदेखि पृथ्वीनारायणसम्मले प्राप्त गरेको सम्मान उनीहरू योद्धा भएकोले मात्र नभई देशको एकीकरणमा विशेष योगदान पुर्याएकोले पनि हो भन्ने बुझ्नुपर्छ । देश भएकोले यहाँ प्रजातन्त्र प्राप्तिका आन्दोलन भए, विभिन्न आकार–प्रकारका मानिसले मन्त्री, प्रधानमन्त्री, सभामुख र राष्ट्रपतिसम्म बन्ने अवसर प्राप्त गरे । संयुक्त राज्य अमेरिकाको स्थापनामा जर्ज वासिङटनको भूमिका र योगदान सर्वाधिक महत्त्वपूर्ण भएकोले उनको नाम बेग्लै ढङ्गले स्मरणीय बन्न पुगेको छ । एघारौँ शताब्दीका योद्धा चङ्गेज खाँले आफ्नो जीवनकालमा जुनस्तरको हिंसात्मक क्रियाकलाप गरेका थिए त्यसनिम्ति उनी हजार वर्षसम्म सर्वाधिक घृणाको पात्र बनिरहे । तर, २१औँ शताब्दीको प्रारम्भमा आएर मंगोलियाले चङ्गेज खाँलाई राष्ट्रिय एकीकरणमा महान् योगदान पुर्याएको भन्दै राष्ट्रिय विभूतिको रूपमा सम्मान दियो । व्यक्ति जस्तोसुकै भए पनि निजको भूमिकाले देशलाई उच्चतम् लाभ पुर्याएको हुन्छ भने त्यस्ता मानिसलाई देशले सम्मान दिन कञ्जुस्याइँ गर्दैन, गर्नुहुँदैन ।