
काठमाडौं । चीनले सिमाना जोडिएका भूकम्प प्रभावित पाँच जिल्लामा राहत स्वरुप छुट्टै सहयोग उपलब्ध गराउने भएको छ । भूकम्प प्रभावितका लागि अत्यावस्यक सामाग्रीहरु सोलार, जस्तापातालगायत सामुदायिक पूर्वाधार विकासका सामग्री पठाउन थालेको छ ।
नेपालका उत्तरवर्ती १५ जिल्लासँग चीनले सुरु गरेको पूर्वाधार विकास र खाद्यान्नका आयोजनाअन्तर्गत गोरखा, सिन्धुपाल्चोक, रसुवा, दोलखा र मुस्ताङलाई ती सामग्री सीमामा पठाएको हो ।
नेपालले दोस्रो वर्षका लागि भूकम्प प्रभावित जिल्लालाई प्राथमिकता दिन आग्रह गरेपछि सबैभन्दा बढी आवश्यकता भएका सामग्रीको सूची पठाउन भनेको थियो ।
पाँचै जिल्लाले भूकम्प पीडितका लागि जस्तापाताको माग सबैभन्दा बढी गरेका थिए । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वैदेशिक सहयोग समन्वय शाखाका प्रमुख प्रकाश दाहालले पाँचमध्ये गोरखा र मुस्ताङका लागि जस्तापाता, सोलारलगायत सामग्री सीमामा ल्याइपुर्याइएको जानकारी दिए ।
दाहालका अनुसार गोरखाले जस्तापाताका अतिरिक्त सोलार सेट र मुस्ताङले जस्तापाताका अतिरिक्त सिमेन्ट, सोलार, रड, केराउ र चिनी माग गरेका थिए ।
मन्त्रालयले ल्हासामा रहेको नेपाली महावाणिज्य दूतावासमार्फत गरेको पत्राचारपछि चीन सरकारले तिब्बतमार्फत मुस्ताङलाई सीमानाकासम्म सामग्री पठाइसकेको छ ।
गोरखाका स्थानीय विकास अधिकारी प्रेम गिरीले भने, जस्तापाता, सोलारका साथै खानेपानीका लागि जीआई पाइपसमेत माग गरिएको जानकारी दिए । मुस्ताङका स्थानीय विकास अधिकारी हरि बास्तोलाले सामुदायिक कबर्ड हल, सोलार आदिको माग बढी भएकाले सोहीअनुसार काम भइरहेको जानकारी दिए ।
चीनले नेपालका सीमासँग जोडिएका उत्तरी १५ जिल्लामा गत वर्षदेखि पूर्वाधार विकास र खाद्यान्न प्रदान गर्ने आयोजना सञ्चालन गरेको छ ।
सन् २०१४ देखि २०१८ सम्म पाँच वर्षका लागि चीन सरकारले ती आयोजना सञ्चालन गर्न बर्सेनि १६ करोड रुपैयाँ खर्च गर्दैछ । यसमा खासगरी सामुदायिक प्रकृतिका पूर्वाधार विकासका काम गर्ने सहमति भएको हो ।
अन्नपुर्ण पोष्ट
वि.सं.२०७२ माघ १२ मंगलवार १२:२३ मा प्रकाशित