
काठमाडौँ । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले पूर्वराष्ट्रपति रामवरण यादवलाई चिकित्सा क्षेत्रमै फर्कन सुझाव दिएका छन् ।
नेम्वाङले राजनीतिज्ञले पेसा व्यवसाय छाड्न नहुने बताए । ‘म त पूर्वराष्ट्रपति रामवरण यादव पनि चिकित्सा क्षेत्रमै फर्कनुस् भन्ने मान्यता राख्छु,’ उनले भने, ‘राजनीति गर्नेको कुनै न कुनै पेसा व्यवसाय हुनैपर्छ ।’
नेम्वाङले बिना पेसा, व्यवसायका राजनीतिज्ञ देशका भार हुने उल्लेख गरे । ‘आफ्नो पेसा, व्यवसाय जे छ राजनीति गर्ने हामीहरुले त्यो छाड्नुहुँदैन,’ उनको भनाइ छ, ‘अन्यथा पार्टी, देश र जनताको भार हुनुपर्छ ।’
नेम्वाङ पहिलो संविधानसभा विघटन भएपछि आफ्नो ल फर्ममा फर्किएका थिए । ‘अहिले त्यो अवस्था रहेन, सभामुखबाट राजीनामा दिएपछि पार्टीले स्थायी कमिटी सदस्य बनायो, संसदीय दलको उपनेता बनायो,’ तत्काल ल फर्ममा फर्कने सम्भावना नरहेको उल्लेख गर्दै उनले भने, ‘तर, मेरो ल फर्ममा मेरो कोठा र मेरो कुर्सी सुरक्षित छ ।’नेम्वाङले अबका दिनमा एमालेको पार्टी राजनीतिमै सक्रिय हुने बताएको इकान्तिपुरमा खबर छ ।
प्रकाशित मिति : २०७२/१०/१३/६:००
वि.सं.२०७२ माघ १३ बुधवार १७:४४ मा प्रकाशित