
काठमाण्डौं । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले पानी बोक्ने ट्यांकर वर्गीकरण गर्ने तयारी गरेको छ । खानेपानी, निर्माण सामग्रीका लागि पानी एउटै ट्यांकरबाट ढुवानी र वितरण हुन थालेपछि विभागले यस्तो तयारी गरेको हो ।
विभागका अनुसार केही दिन अघिको परीक्षणमा ट्यांकरबाट वितरण हुने पानीमा एमोनिया भन्ने तत्व फेला परेको थियो। ‘खानेपानी, सरसफाइ र निर्माणका लागि एउटै ट्यांकरबाट ढुवानी गर्दा उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड भएको पाइयो,’ विभागका बजार अनुगमन शाखा अधिकृत हरिनारायण बेल्बासेले भने, ‘त्यसैले पानीको स्रोतको नियमन गरेर गुणस्तरअनुसार ट्यांकर वर्गीकरण गर्ने छौं।’
अहिले उद्योगीले आफूखुसी बोरिङबाट पानी निकालेर ट्यांकरबाट उपभोक्तको घररघरमा पुर्याउँदै आएका छन्। बोरिङबाट निकालिएको पानी पिउनयोग्य भन्दै जार र बोटलमार्फत बिक्री हुँदै आएको छ। तर, पानीमा एमोनियाको मात्रा धेरै भेटिएको विभागको भनाइ छ। स्वास्थ्यकर्मीका अनुसार एमोनियायुक्त पानी पिउँदा टाउको दुख्ने, झाडा पखाला लाग्ने, पेट दुख्नेजस्ता समस्या हुन्छन्।
नदी किनारको दुई सय मिटरभन्दा बोरिङ र डिप ट्युबवेल जडान गर्न नहुने नीति भए पनि उपत्यका पानीको स्रोत नदी किनारमै छन्।
विभागका अनुसार वाग्मती, विष्णुमती, धोबीखोला, जोरपाटी, मनमैजु, चाल्नाखेल, गोदावरी लगायतका नदी किनारमै बोरिङ गरिएका छन्। त्यहाँकै पानीमा एमोनियाको मात्रा देखिएको हो। भूमिगत स्रोतबाटै पानीमा एमोनियाको मात्रा मिसिएको विभागले जनाएको छ। बेल्बासेका अनुसार आज एक अनुगमन टोली तयारी पारिने छ । सोही अनुसार ट्यांकर, जार र बोटलमा अनुगमन गरिने जनाएको छ।
यस्तै अहिले ट्यांकर, जार र बोतलमार्फत बिक्री वितरण हुने पानीको मूल्य र बोतल तथा जारको प्लास्टिकको बारेमा पनि अध्ययन गरेर आवश्यक मापदण्ड निर्धारण गर्ने जनाएको छ। ‘अहिले सबैखाले ट्यांकरको पानीको मूल्य एउटै राखिएको छ,’ उनले भने, ‘पानीको लागत खर्च पनि अध्ययन गरेर मूल्यमा एकरूपता ल्याउने छौं।’
जार र बोतलको पानीमा स्रोत नखुलेको, पर्याप्त मात्रामा प्रशोधन नगरेकोका भेटिएमा सीधै कालोबजारी ऐनअन्तर्गत उद्योगमा मुद्दा दायर गर्ने जनाएको छ। बेल्बासेका अनुसार प्रशोधन गरी पानी बिक्री गर्ने उद्योगले जार, बोतलमा कम्पनीको नाम अनिवार्य अंकित गर्नुपर्छ। अहिले उद्योगले कागजको स्टिकरमा उद्योगको नाम छापेर टाँस्ने गरेका छन्।
प्रकाशित: कान्तिपुर दैनिक, माघ १९, २०७२/ १०.००
वि.सं.२०७२ माघ १९ मंगलवार ११:३१ मा प्रकाशित