
काठमाण्डौं । विनाशकारी भूकम्प गएको ९ महिनापछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको लागि ६ खर्ब ८९ अर्ब रुपैयाँको कार्ययोजना तयार पारेर मन्त्रिपरिषदमा प्रस्तुत गरेको छ ।
प्राधिकरणले तयार पारेको कार्ययोजना अनुसार विभिन्न चारवटा संरचनामार्फत पुनर्निर्माण गरिने छ। पुनर्निर्माण प्राधिकरण ऐनले प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्य आफैं नयाँ संरचाना स्थापना गरी वा अन्य निकाय तोकी कार्यान्वयन गर्न सक्ने अधिकार दिएको हुनाले प्राधिकरणले ग्रामीण आवास, बस्ती विकास, सार्वजनिक भवन तथा सहरी पूर्वाधार पुनर्निर्माण सम्बन्धी कार्यान्वयन संरचना, ग्रामीण आवास अनुदान तथा ग्रामीण पूर्वाधार पुनर्निर्माणसम्बन्धी कार्यान्वयन संरचना, शिक्षा क्षेत्रसँग सम्बन्धित पुनर्निर्माणसम्बन्धी कार्यान्वयन संरचना र संस्कृति तथा पर्यटनसम्बद्ध पुनर्निर्माणसम्बन्धी संरचनाको अवधारणा तयार पारेको प्राधिकरणले जनाएको छ।
अर्थ मन्त्रालयद्वारा एकमुष्ट बजेट प्राधिकरणमा पठाउने र प्राधिकरणले बजेट निकासा एवं अख्तियारी सिधै सम्बन्धित आयोजना कार्यान्वयन एकाइलाई दिने फास्ट ट्र्याक अवधारणा पनि कार्ययोजनामा छ।
ग्रामीण आवास पहिलो प्राथमिकतामा राख्दै कार्ययाजनो फागुन १२ गते दोलखा जिल्लाको एक स्रोत केन्द्रबाट ग्रामीण आवास पुनर्निर्माण सुरु गरिने बताएको छ।
माघ २१, २०७२/ ८.००
वि.सं.२०७२ माघ २१ बिहीवार ११:२० मा प्रकाशित