
काठमाण्डौं । लामो समयदेखि अवरुद्ध भन्सार विन्दु सहज भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको वार्षिक लक्ष्य पूरा गर्ने रणनीतिसहित क्रियाशील भएको जनाएको छ ।
तराई मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण अवरुद्ध नेपाल भारत नाका शुक्रबारदेखि सञ्चालनमा आएपछि विभागले दुई खर्ब पाँच अर्ब रुपैयाँको चालु आवको वार्षिक लक्ष्य पूरा गर्ने रणनीति तयार गरेको हो । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयबाट चालु आवमा एक खर्ब तीन अर्ब राजस्व सङ्कलन गर्न लक्ष्य दिएको छ ।
भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले भारतसँग जोडिएका १९ वटै नाका सहजरुपमा सञ्चालन भएको बताए। भन्सार विन्दुबाट सङ्कलन हुने राजस्व लक्ष्य पूरा गर्ने प्रयत्नका साथ विभाग क्रियाशील रहेको उनको भनाइ छ ।
‘माघ महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुन्छ । अगामी दिनमा वार्षिक लक्ष्य पुर्याउने कोषिश सहित कार्यक्रम बनाएर अगाडि बढ्ने छौं,’ ढुङ्गानाले भने। रासस
२६ माघ, २०७२, १०।००
वि.सं.२०७२ माघ २६ मंगलवार ११:०० मा प्रकाशित