
काठमाण्डौं । कांग्रेसले १३औं महाधिवेशन सम्पन्न गर्न ४ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ । कार्यवाहक सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको महाधिवेशन तयारीसम्बन्धी बैठकमा अर्थ समितिका संयोजक रामशरण महतले अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
उनले आर्थिक संकलनको स्रोत र खर्चका बारेमा बैठकमा जानकारी गराएका थिए । करिब २ करोड रुपैयाँ महाधिवेशन प्रतिनिधिहरूको प्रवेश शुल्कबाट उठ्ने र नपुग रकमका लागि स्वेच्छिक चन्दा अभियान थाल्ने कांग्रेसले जनाएको छ ।
कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशनसम्बन्धी तयारीका बारेमा मात्रै बैठक केन्द्रित भएको बताए । उनका अनुसार महाधिवेशनको उद्घाटन सत्र खुलामञ्च र बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने भएको छ ।
बैठकमा तयारीसम्बन्धी समितिका संयोजक, पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको सहभागिता थियो । महाधिवेशनको तयारी अघि बढाउन कांग्रेसले मूल समारोह समितिका अतिरिक्त १३ वटा समिति गठन गरेको थियो ।
बैठकमा कार्यवाहक सभापति पौडेलले पार्टीको नीति तथा कार्यक्रमको प्रारिम्भिक मस्यौदा अध्ययनका लागि पेस गरेका थिए । सुझावसहित केन्द्रीय कार्यसमितिले पास गरेपछि पार्टीको नीति तथा कार्यक्रम औपचारिक रूपमा सार्वजनिक गर्ने कांग्रेसको योजना छ । बैठकमा सहभागी एक सदस्यले भने नीति तथा कार्यक्रममा कुनै नयाँपन नरहेको बताए ।
बैठकमा विधान मस्यौदा समितिले संशोधित मस्यौदा प्रस्तुत गरेको छ । समितिका संयोजक आनन्द ढुंगानाले तीन उपसभापति बढाउने प्रस्तावसहितको मस्यौदा प्रस्तुत गरेका छन् । विधान मस्यौदामा अब अञ्चलको साटो प्रदेशबाट तीनरतीनजना केन्द्रीय सदस्यको प्रतिनिधित्व गराउने प्रस्ताव गरिएको छ । पदाधिकारी थप गर्ने विषयमा विधान समितिकै वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका सदस्यहरूले फरक मत राखेका छन् । फरक मतसहित ढुंगानाले मस्यौदा बुझाएका हुन् । देउवा पक्षको असहमतिका कारण पदाधिकारी थप गर्ने प्रस्ताव पारित हुने सम्भावना कम छ ।
बैठकमा महाधिवेशनको व्यवस्थापन, निर्वाचन, स्वयंसेवक लगायतका विषयमा छलफल भएको र महाधिवेशन उद्घाटनको एक साताअगावै सबै तयारी सम्पन्न गर्ने गरी काम गरिने निर्णय भएको केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जानकारी दिए । सभापति सुशील कोइरालाको आकस्मिक निधनले केही दिन महाधिवेशन तयारीका काममा बाधा पुगे पनि यही फागुन २० गते उद्घाटन गर्न भ्याउने गरी काम अघि बढेको कांग्रेसले जनाएको छ ।
महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मीनेन्द्र रिजालले वालपेन्टिङ र पोस्टर नटाँस्ने बताएका छन् । उनले केही ठाउँमा ब्यानर राखिए पनि काठमाडौंको सुन्दरताका लागि वालपेन्टिङ र पोस्टर नटाँस्ने निर्णय लिइएको बताए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री सिटौलाले महाधिवेशन सबैको सहमतिमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।
प्रकाशित: कान्तिपुर, ३ फागुन, २०७२ / ७.००
वि.सं.२०७२ फागुन ३ सोमवार १०:२५ मा प्रकाशित