
काठमाडौं । सरकारले उत्तरी कोरला नाका खोल्ने तयारी तीव्र बनाएको छ । नाका खोल्ने पूर्वतयारीस्वरूप लोमान्थाङमा सैनिक ब्यारेक, प्रहरी, सशस्त्र प्रहरी, भन्सार र अध्यागमन कार्यालयका लागि जग्गा छनोट गरिएको छ । नाकाको सुरक्षार्थ नेपाली सेनासमेत तैनाथ हुने भएको छ ।
यो नाका खोल्ने पूर्वतयारीका रूपमा स्थानीय प्रशासनले काम थालेको र पहिल्यै भएका कार्यालयमा जनशक्ति थप्ने योजनाअनुरूप जग्गा नापजाँच गरिएको प्रजिअ गणेश अधिकारीले बताए । ‘अब दोब्बर संख्यामा प्रहरी र भन्सारका कर्मचारीसमेत थपिने छन्,’ उनले भने ।
नाका सुरक्षार्थ लोमान्थाङमा ब्यारेक राख्नका लागि पनि उपयुक्त जग्गा छनोट गरी नापी र नक्सांकनको काम गरिएको छ ।
ब्यारेक राख्न जग्गाको नक्सांकनका लागि नापी कार्यालयका कर्मचारीसहित जिल्ला सुरक्षा समितिका संयोजक प्रजिअ सहितको टोली लिएर सेना गत साता कोरला आएको थियो । लोमान्थाङको समथर सरकारी १ हजार रोपनी जग्गाको गत बुधबारदेखि शुक्रबारसम्म नक्सांकन गरिएको हो । नापी कार्यालयले तयार गरेको जग्गाको नक्सा भीमदल गण जोमसोम र जिल्ला प्रशासन कार्यालयलाई बुझाइसकेको छ ।
यसैका आधारमा रक्षा र गृह मन्त्रालयले जग्गा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि यहाँ नाकापारि चिनियाँ सेना देखिए पनि नेपालतर्फ सेनाको गतिविधि थिएन ।
सेना बस्ने ब्यारेक कोरला नाकाभन्दा ३० किलोमिटर वर लोमान्थाङमा पर्छ । यो उपल्लो मुस्ताङको प्रमुख व्यापारिक केन्द्र पनि हो । चीन सरकारले आफ्ना सेनालाई कोरला नाकाभन्दा केही पर मात्र राखेको छ । सीमानाका गतिविधिबारे जानकारी लिन चीनले आफ्नोतर्फको भूभागमा सीसी क्यामेरासमेत जडान गरेको छ । चीनको उपस्थिति सिमानामा भएकाले नेपालका तर्फबाट पनि ब्यारेक राख्न धेरै पटक माग उठेको थियो । सिमानामा नेपालको सुरक्षा अंगको उपस्थिति शून्य हुँदा कोरला नाकामा नेपालीको चहलपहल खासै हुन सकेको थिएन ।
‘लोमान्थाङ र छोसेर गाविसमा इलाका प्रहरी कार्यालय छ । तर, यी कार्यालयलाई आन्तरिक सुरक्षा मामिला मात्र हेर्ने अधिकार छ । सेना बसेपछि सिमानाको सुरक्षा मात्र नभई यहाँको नाकामा नेपालीको आउजाउलाई सहज बनाइदिने स्थानीयले विश्वास गरेका छन् ।
जाडो कम हुनेबित्तिकै तारबार, भवन निर्माण, बगैंचालगायत संरचना बनाइने सैनिक स्रोतले बताएको छ । ‘सुरक्षाका दृष्टिकोणले उपल्लो मुस्ताङमा सेनाको उपस्थिति आवश्यक भएकाले ब्यारेक राख्ने पहल भएको हो,’ प्रजिअ अधिकारीले भने, ‘जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम नै ब्यारेक बस्ने छ ।’
पोखरादेखि कोरलासम्मको सडक खुलिसकेको हुनाले चीनतर्फको सिमानामा सेनाको उपस्थिति आवश्यक भएकाले ब्यारेक राख्न लागिएको जानकारी उनले दिए । सेनाले स्थानीयसँग हातेमालो गर्न उपल्लो मुस्ताङमा सडक निर्माणदेखि अन्य विकासका काम गर्ने योजना अघि सारेको छ । मरुभूमिजस्तो भिरालो जमिनलाई सम्याएर स्याउ रोप्ने कार्यक्रम पनि ल्याउने भीमदल गण स्रोतले जनाएको छ । ब्यारेक निर्माणदेखि आन्तरिक व्यवस्थापनको खर्चका लागि सैन्य मुख्यालयमा सबै प्रतिवेदन पेस भइसकेको स्रोतको भनाइ छ ।
कोरला नजिकै नेचुङमा सशस्त्र प्रहरीका लागि ३० रोपनी, भन्सार कार्यालयका लागि १ सय, अध्यागमन कार्यालयका लागि १०, इलाका प्रहरी कार्यालयका लागि १० रोपनी नापजाँच गरिएको छ ।
सशस्त्र प्रहरी र अध्यागमन कार्यालय रहने स्थानबाट कोरलासम्म यो सडक १२ किमि लामो छ । ‘सरकारले अलिअलि पैसा दिओस्, हामी सडक फराकिलो बनाउन तयार छौं,’ स्थानीय समाजसेवी राजु गुरुङले भने, ‘तर जसरी पनि यो नाका खुलाउनु पर्यो ।’ कान्तिपुर
३ फागुन २०७२
वि.सं.२०७२ फागुन ३ सोमवार १०:२४ मा प्रकाशित