काठमाडौं । स्वर्गीय पूर्वराजा वीरेन्द्र शाहको नाममा झापा, गोरखा, लमजुङ, रुपन्देही र दाङ जिल्लामा कुनै सम्पत्ति भेटिएन ।
नेपाल ट्रष्ट कार्यालयले आव २०७२/०७३ मा खोजी सुरु गरेका १० जिल्ला मध्ये ती जिल्लामा उनको नाममा कुनै पनि सम्पत्ति नभेटिएको कार्यालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए ।
उनले भने, ‘ती जिल्लाका मालपोत कार्यालयमा गई सम्पत्ति खोज्यौँ तर भेट्टाउन सकिएन ।’
उनले बर्दिया र बाँके जिल्लामा सम्पत्ति खोजी जारी राखेको तथा कैलाली, कञ्चनपुर र बारा जिल्लामा केही समयपछि खोजी गरिने बताए । सचिव उपाध्यायले काठमाडौं उपत्यकामा अझै स्व वीरेन्द्रको नाममा सम्पत्ति हुन सक्ने हुँदा खोजी जारी राखिने उल्लेख गरे ।
ट्रष्टको कामका बारेमा आम नागरिकलाई जानकारी दिन वृत्तचित्र तयार पारी विभिन्न टेलिभिजनबाट प्रशारण समेत गरिएको तथा स्व वीरेन्द्रको सम्पत्तिलाई शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्रयोग गरिने उनले जानकारी दिए ।
२०७२ फल्गुन ३
वि.सं.२०७२ फागुन ३ सोमवार १६:०९ मा प्रकाशित