
काजी श्रेष्ठ
काठमाडौं । ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल (टान) ले आयोजना गरेको ‘टान ल्होसार’ सम्पूर्ण तयारी पुरा गरेको छ ।
यस वर्ष फेब्रुअरी १९ (शुक्रबार) ह्यात रिजेन्सीमा आयोजना गरिएको ल्होसार विशेष साँस्कृतिक कार्यक्रमको साथमा उपराष्ट्रिपति नन्दबहादुर पुनले उद्घाटन गर्ने टानका अध्यक्ष चन्द्रप्रसाद रिजालले जानकारी दिए । तामाङ, गुरुङ र शेर्पा समुदायको प्रमुख पर्वलाई भव्यता दिन उक्त समुदायका साँस्कृतिक कला प्रर्दशनी गरिने छ । यी समुदायले भिन्न भिन्न रुपमा भिन्न भिन्न समय ल्होसार मनाउँदै आएपनि विगत चार वर्षदेखि टानले संयुक्त रुपमा मनाउँदै आएको छ ।
पर्यटन संग सम्बन्धित संघ/संस्थाका प्रमुख, नेपाल सरकारकार उच्च पदस्थ अधिकारी, विभिन्न देशका राजदुत, विदेशी पर्यटक, पर्यटन व्यवसायीहरुलाई निमन्त्रणा गरिसकेको कार्यक्रम संयोजक तेजबहादुर गुरुङले जानकारी दिए । विगतमा ल्होसार मनाउँदा घाटा व्यहोर्दै आएको टानले यस वर्ष आय आर्जन समेत गर्ने गुरुङले बताए । ल्होसार कार्यक्रमबाट केही नाफा निकाली पर्यटन प्रवद्र्धन कार्यक्रममा खर्च गरिने गुरुङ बताउँछन् ।
ल्होसार तयारी बारे यसो भन्छन् टानका पदाधिकारी
अन्तराष्ट्रिय क्षेत्रमा टुरिजम प्रडक्टको रुपमा सन्देश फैलाउनेछौं
चन्द्र प्रसाद रिजाल
अध्यक्ष, टान
टानले विगतदेखि गर्दै आएको यो परम्परा हो । ल्होसारलाई टुरिजम्को प्रडक्टको रुपमा मनाउँदै आएका छौं । शुक्रबार साँझ पाँच बजे उपराष्ट्रपति नन्दबहादुर पुनबाट ह्यात रिजेन्सिमा उद्घाटन गर्ने कार्यक्रम तय गरेका छौं ।
समग्रमा सबै तयारी सकिएको छ । विभिन्न देशका राजदूतहरुलाई पनि खबर गरेका छौं । केही दूताबासबाट निश्चित भैसकेका छन् । पर्यटकको गतिविधिलाई अगाडी बढाउनको लागि शुरुवात गरेका हौं । विगतमा इनडोर र आउटडोर दुबै गर्यौं । यसपटक पर्यटकको पनि कमी, व्यवसायीको आर्थिक पाटोपनि कमजोर र टिम्सको रकम पनि नआएको हुनाले आर्थिक समस्या भएको हुँदा टिकट बिक्रि गरेर, व्यानर स्पोन्सर गरेर २/४ लाख भएपनि नाफा गर्ने योजना बनाएका छौं ।
विगतको ल्होसार घाटामा चल्थे यो वर्ष नाफामुलक हुनेछ । १५ सय टिकट बिक्रि हुने अपेक्षा गरेका छौं । प्रचारप्रसारको काम भोलीसम्म पनि चल्नेछ । ल्होसारमा तामाङ, गुरुङ र शेर्पाको साँस्कृतिक कला प्रदर्शनीको साथमा सांगितक कार्यक्रम र प्रहशन देखाउनेछौं । अन्तराष्ट्रिय क्षेत्रमा पनि ल्होसारलाई टुरिजम प्रडक्टको रुपमा प्रचार प्रसार गरेर सन्देश फैलाउनेछौं ।
पर्यटकहरुलाई ल्होसारको बारेमा जानकारी दिने छौं । पर्यटकलाई बढी उत्साहित बनाउने पर्वको रुपमा अगाडि बढाउने अभिप्रायले कार्यक्रम गर्दैछौं । यस पटकको ल्होसार मितव्ययी हुनेछ । विगतमा सडकमा कार्यक्रम गर्दा ७/८ लाख घाटामा गएको पनि देखियो तर यस पटक पाँचतारे होटलमै गर्दा पनि नाफामा लैजाने छौं । सहभागिले व्यवस्थित तबरले रमाईलो गर्न पाउने छन् । समग्र सहभागीलाई इनडोर भित्र राखेर कल्चर देखाउने र डिनर गराएर बिदा गराउने छौं ।
साँस्कृतिक कार्यक्रमको साथमा तीनवटै जातिको संस्कृति र ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती हुनेछ
तेजबहादुर गुरुङ,
प्रथम उपाध्यक्ष एवं ल्होसार कार्यक्रम संयोजक
विशेष गरी टानले गुरुङ, तामाङ र शेर्पा समुदायको संयुक्त ल्होसारको रुपमा विगत ४ वर्षदेखि मनाउँदै आएको छ । माउण्टेन टुरिजममा शेर्पाहरुको विषेश भूमिका रहने भएकाले टानले शेर्पाहरुको ल्होसारलाई ‘टान ल्होसार’को रुपमा मनाउँदै आएको थियो । अन्य समुदायको पनि उत्तिकै सहभागिता, योगदान भएको हिसाबले संयुक्त रुपमा मनाउँदै आएका हौं ।
तीन वटै जातिको एक आपसमा सम्बन्ध कायम गर्नको लागि पनि यो ल्होसार संयुक्त रुपमा मनाउँदै आएका हौं । ल्होसारलाई भव्य र सभ्य रुपमा मनाउनेछौं । यसपटको ल्होसार विषेश आर्कषणको साथ मनाउनेछौं । विगतका भन्दा बढी सहभागीता रहने छन् । विभिन्न साँस्कृतिक कार्यक्रमहरु राखेका छौं । तीनवटै जातिको साँस्कृतिक कार्यक्रम छन् । ख्यातिप्राप्त कलाकारहरुको साथमा कमेडीका कार्यक्रम पनि छन् । डिजेको पनि व्यवस्था छ ।
अनुमानित बजेट १८ देखि २० लाख राखेका छौं । ल्होसारलाई सहयोग गर्ने विभिन्न संघ संस्था आएका छन् । सकेसम्म आर्थिक संकलन अभियानको रुपमा लिएका छौं । थोरै भए पनि फाईदामा जानेछ ।
भूकम्प पछिको पर्यटन बारेमा छलफल हुने अपेक्षा छ
कर्णबहादुर लामा
महासचिव, टान
शेर्पा, तामाङ र गुरुङले भिन्न भिन्न तरिकाले भिन्न भिन्न समयमा ल्होसार मनाउँछन् । टानले ल्होसारलाई टुरिजमको प्रकडक्ट बनाउनु पर्छ भनेर वर्षेनी मनाउँदै आएका छौं । पर्यटकलाई पनि सहभागी गराउनु पर्छ भनेर संयुक्त रुपमा मनाउँदै आएका हौं ।
आम्दानीको स्रोत पनि होस् र पर्यटन प्रवद्र्धनको निम्ति सदुपयोग गर्न सकियोस् भन्ने हिसाबले ल्होसार मनाउँदै आएका हौं । टुरिजम प्रडक्टसंगै यसलाई सहकार्य गर्दै अगाडि बढ्नको निम्ति भाईचारा सम्बन्ध विकास गर्नको निम्ति अहिलेको ल्होसार गतिविधिलाई जोड्न चाहेका हौं ।
विभिन्न निकायहरुलाई निम्त्याएका छौं । ६/७ वटा देशका राजदूतहरु आउनु हुन्छ । बर्मा, श्रीलंका, फ्रेन्चका राजदुत आउने पक्का भैसकेको छ । अस्ट्रेलियाका कार्यबाहक आउनेछन् । अन्य देशहरुको पनि आउने छन् । ल्होसार पर्व पर्यटन व्यवसायीहरुको जमघट हुने थलो हो ।
भूकम्पले थिलो थिलो भएको पर्यटन क्षेत्रमा के कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारेमा पनि छलफल हुने अपेक्षा गरेका छौं । हामीले इनडोर मात्र होईन क्षेत्रगत रुपमा पनि ल्होसार मनाउने योजना छ ।
६ फागुन २०७२ / ८:१५
वि.सं.२०७२ फागुन ६ बिहीवार २०:३७ मा प्रकाशित