
अलिको डाङगोटे अफ्रिकाकै सबैभन्दा धनी व्यक्ति हुन् । नाइजेरियाको पैसाको मूल्यांकन कम भएको समयमा पनि उनी फोब्र्स म्यागजिनले निकालेको सूचिमा विश्वका ६७औं धनी मध्ये पर्दछन् । फोब्र्सका अनुसार उनको कुल सम्पत्ति १५ दशमलव ३ अर्ब अमेरिकी डलर रहेकोछ । उनको सम्पत्तिले अफ्रिकाकै अर्थतन्त्रमा २.९ प्रतिशत योगदान पु¥याएकोछ ।
डाङगोटे ग्रुपका मालिक उनी पीठो र चिनीको व्यापारबाट धनी बन्न सफल भएका हुन् । दुई कक्षामा हुँदा नै डाङगोटेले मिठाईको एउटा बक्सा किनेर त्यसलाई नाफा खाँदै बिक्री गर्ने उनलाई सानैदेखि व्यापारमा रुचि भएको प्रष्ट देखिन्थ्यो ।
नाइजेरियाको कानो भन्ने ठाउँमा जन्मिएका उनलाई स्तानक अध्ययनपछि उनका हजुरबुवाले केही रुपैयाँले व्यवसाय सुरु गर्न सल्लाह दिएका थिए । त्यही सल्लाह अनुसार उनले आफ्नो काकासँग ३ हजार अमेरिकी डलर ऋण लिएका थिए ।
त्यो पैसाले उनले होलसेल मुल्यमा चिनी, पिठो र सिमेण्ट किन्ने र त्यसलाई बजारमा चलेको भाउमा बिक्री गर्न थाले । यो नै उसले आफ्नो परिवारमा देखेको व्यापार थियो, त्यसैले उनले नयाँ केही नगरी त्यही व्यापारलाई अंगाले जुन क्षेत्रमा उनी जानकार थिए ।
यसरी आयात र निर्यात गर्दागर्दै उनी यस क्षेत्रमा पोख्त भइसकेका थिए । व्यापारमा उनको मुख्य ध्येय गाँस बाँस र कपास थियो । आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने मान्यता राखेका उनले आफ्नै स्थानीय स्तरमा उत्पादन हुने चिनी र पीठोको व्यापारलाई रोजे । उनी आज पनि भन्ने गर्छन्, यदि तिमी मलाई ५ अर्ब दिन्छौं भने पनि म विदेशमा गएर त्यो पैसालाई लगानी गर्दिन, बरु स्वदेशमै गर्छु र सबैसँग मिलेर काम गर्छु ।
मानविकी संकायमा स्नातक गरेका उनले व्यापार सम्बन्धी कुनै तालिम लिएका छैनन् । तीन बच्चाका पिता डाङ्गोटे हाल आफ्नो परिवारका साथ नाइजेरियाको लागोसमा बस्ने गर्छन् ।
केही वर्ष अगाडि मात्र उनले सिमेण्ट कारखानामा पनि खोलेका छन् । गत वर्ष उनले खोलेको डाङ्गोटे सिमेण्ट उद्योग अफ्रिकाकै सबैभन्दा ठूलो सिमेण्ट उत्पादन गर्ने कम्पनी बनेकोछ । आज उनको व्यापार १५ वटा अफ्रिकन राष्ट्रहरुमा फैलिएको छ ।
व्यापारमा सफल बन्न उनले पाँच मन्त्र लिने गरेका छन् :
१. त्यसमा लगानी गर जुन कुरामा तिमी जानकार छौ,
२. त्यस्ता कम्पनीहरु पत्ता लगाउ जसले तिम्रो काम वा व्यापारलाई सघाउँछन्,
३. एउटा ब्राण्ड तयार पार र त्यसलाई फस्टाऊ,
४. पैसा कहाँ खर्च गर्ने भन्नेबारेमा विश्वस्त बन,
५. विकल्पहरुलाई अंगाल ।
प्रस्तुती : इरादा पहाडी, एजेन्सीको सहयोगमा
७ फागुन २०७२ / ११ : ००
वि.सं.२०७२ फागुन ७ शुक्रवार १०:४९ मा प्रकाशित