
काठमाडौं । सरकारले जलविद्युत् आयोजना निर्माणमा अवरोध गर्नेलाई सार्वजनिक अपराधमा मुद्धा चलाउने भएको छ । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले जलविद्युत् आयोजना निर्माणमा कसैले अवरोध गर्न नसक्ने बताउँदै कसैले अवरोध गरेमा सार्वजनिक अपराधमा मुद्दा चलाइने बताएका हुन् ।
जलविद्युत् आयोजनामा अवरोध भए सुरक्षा निकायसमेत परिचालन गरिने जानकारी दिँदै उनले आवश्यक परेको खण्डमा नेपाली सेनासमेत परिचालन गर्न सकिने बताए ।
आगामी वर्ष ऊर्जाको क्षेत्रमा उथल पुथलको वर्ष हुने भन्दै उर्जा मन्त्रीले सौर्य ऊर्जा उत्पादनमा विशेष जोड दिइने बताए । उनले आन्तरिक उत्पादनलाई बढावा दिने र भारतबाट पनि उल्लेख्य मात्रामा विद्युत् आयात गरेर विद्युत्भार कटौती अन्त्य गरिने जानकारी दिए ।
मुलुकको जलविद्युत् क्षेत्रको विकासका लागि सरकारले दशवर्षे कार्ययोजना अगाडि सारेको बताउँदै उनले एकाध बर्षभित्रै जलविद्युत क्षेत्रमा उल्लेख्य प्रगति हुने बताए ।
एसियामा नै पहिलो पटक नेपालमा जलविद्युत् आयोजना सुरु भए पनि १०५ वर्षसम्म उस्तै अवस्था रहेको भन्दै उनले अब विजुलीको समस्या नहुने दावी गरेका हुन् ।
हालै निर्माण सम्पन्न भएको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत ८० मेगावाट विद्युत् आयात हुने बताउँदै उनले यो विद्युत्बाट करिब दुई घन्टा विद्युत्भार कटौती कम हुने दावी गरे । रासस
वि.सं.२०७२ फागुन ८ शनिवार ११:५९ मा प्रकाशित