१० फागुन २०७२

ललितपुर । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २०१२ मा वायु प्रदुषणका कारण विश्वका करिव ७० लाख मानिसले अकालमा ज्यान गुमाएका थिए, जसमा धेरैजसो विकासशील देशका थिए ।
नेपालमा सन् २०१३ मा वायु प्रदुषणकै कारण २५ हजारले अकालमा ज्यान गुमाए । दक्षिण एसियामा वायु प्रदुषणले बर्षेनी १७ लाख मानिसले अकालमा ज्यान गुमाउने गरेका छन्, जुन संख्याले विश्वमा वायु प्रदुषणले मर्ने मानिसको संख्याको तीस प्रतिशत हिस्सा ओगटेको छ । त्यसैगरी वायु प्रदुषणका कारण ओजन तहमा विनाश भइ विश्वव्यापी रुपमा वर्षेनी ११ करोड मेट्रिकटन बालीनाली नोक्सान हुने गरेको छ ।
यति ठूलो नोक्सानी हुने भएपछि यतिबेला वायु प्रदुषण वातावरण र सामाजिक समस्याका रुपमा बढ्दै गएको भन्दै यस क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् र सार्वजनिक बहसमा उत्रिन थालेका छन् । नेपाल साइन्स ओलम्पियाड र इन्ष्टिच्यूट फर एड्भान्स सस्टेनाविलिटी स्टडिज् (आइएएसएस)ले ललितपुरमा गरेको कार्यक्रममा सरोकारवालाले वायु प्रदुषणले मानव स्वास्थ्य लगायत वालीनाली, प्राकृतिक सन्तुलन र जलवायुमासमेत प्रतिकुल असर पार्ने भएकाले यससँग जुध्न सवैले ध्यानकेन्द्रीत गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा आइएएसएसका प्रवन्ध निर्र्देशक प्राध्यापक डा.मार्कजी लरेन्सले आफूहरुको अध्ययनबाट काठमाडौंको प्रदुषण विश्वको अति प्रदुषित सहर भारतको दिल्ली र चीनको बेइजिङसँगको हाराहारीमा भएको पुष्टि भएकाले यसले सामाजिक र वातावरणीय ठूलो समस्या सृजना गरेको बताए । उनले वायु प्रदुषण विश्वकै लागि चुनौति बनेकाले यसलाई घटाउन वायु प्रदुषणका श्रोतलाई नियन्त्रण गर्नुपर्ने बताए ।
सांसद रामेश्वर फुयाँलले वायु प्रदुषण नियन्त्रणका लागि नीति, नियम भएपनि कार्यान्वयन नभएका कारण समस्या भएको बताए । व्यवस्थापिका संसदको वातावरण समितिकी सदस्य जीवनकुमारी घिमिरेले वायु प्रदुषणका श्रोतहरुको पहिचान गरी नियन्त्रण गर्न थालेमा प्रदुषण घटाउन सकिने धारणा राखे ।
सवारी साधन, बाटो, इट्टा उद्योग र जलाइएका फोहरहरु वायु प्रदुषणको मुख्य कारकको रुपमा लिईन्छ ।
वि.सं.२०७२ फागुन १० सोमवार २२:३७ मा प्रकाशित