
कपडाको एउटा ब्राण्ड जारा हामी सबैलाई याद भएको ब्राण्ड हो । जिन्स होस् या सर्ट हामी जारा पाए अरु खोज्दैनौं । अरु कुरा नभए पनि जिन्स लगाउने सबैलाई जाराको नाम पक्कै याद छ तर जारा कम्पनीका मालिकको कथा हामीमध्ये कमैलाई थाहा हुन सक्छ । उनी गरिबको कोखमा जन्मिए तर फोब्र्स म्यागजिनले निकालेको विश्वकै पाँचौं धनीमा पर्न सफल भएका छन् ।
अमान्सीयो ओर्टेगा, एउटा रोलको बाटो बनाउने कर्मचारी बुवा र अर्काको घरमा काम गर्नेको आमाको छोराका रुपमा सन् १९३६ मा जन्मिएका थिए । । स्पेनका यी धनी अहिले फेशन उद्योगमा चलेका नाम हुन् । तर यहाँसम्म आइपुग्न उनले धेरै संघर्ष गरे र आफ्नै बलबुतामा धनी बन्न पुगे ।
घरको आर्थिक अवस्था कमजोर भएपछि उनले १३ वर्षकै उमेरमा कपडा उद्योगमा सामान ओसार पसार गर्ने केटोको रुपमा काम सुरु गर्न थाले । उनी धनी व्यक्तिहरुलाई बनाइएको सर्ट उनीहरुको घरमा पुर्याउने काम गर्दथे । पछि उनले कपडा सिलाउनेको सहायकको रुपमा काम गर्न सुरु गरे ।
त्यो समयमा नै उनले एउटा सामान्य कपडालाई डिजाइन र सिलाई दिइएपछि त्यसबाट पैसा कमाउन सकिन्छ भन्ने कुरा उनले नजिकबाट जाने । सामान ओसार पसार गर्ने केटोको रुपमा काम गर्दा नै ओर्टेगाले अरु माध्यमको सहयोग बिना नै गाहकसँग सिधै सामान पु¥याउनु कत्तिको महत्वपूर्ण हुन्छ भन्ने कुरा जानेका थिए ।
सन् १९६०को सुरुवातमा नै उनी एउटा स्थानीय कपडा उद्योगको म्यानेजर हुन सफल भएका थिए । त्यहाँ उनले केही धनाढ्यहरुले मात्र महंगा लुगा किनेर लगाउन सक्ने देखे । यही कुरालाई ध्यान दिँदै उनले सस्तो मुल्यमा बेच्नका लागि त्यस्तै प्रकारका लुगाहरु बनाउन सुरु गरे । मध्यम वर्गका मानिसहरु आफ्नो आम्दानी अनुसारको लुगा किन्न सकुन् जुन धनीले लगाउने जस्तै देखियोस् भन्ने मागहरु लिएर उनी भएको ठाउँमा आउन थाले ।
यसका लागि उनले सस्तो कपडाहरु किन्ने, हातले नै डिजाइनहरु काट्ने गर्न थाले । त्यसपछि उनले स्थानीय पसलहरुमा आफूले तयार पारेका लुगाहरु बेच्न थाले, यसबाट आएको नाफालाई उनले आफ्नो कम्पनी स्थापना गर्न प्रयोग गरे । सन् १९६३ मा २७ वर्षको उमेरमा उनले आफ्नो पहिलो उद्योग स्थापना गरे ।
करिब १३ वर्षपछि उनले सन् १९७५ मा जारा नाम दिएर पहिलो पसल खोले, पछि उनले बिस्तारै यसका शाखाहरु पनि खोल्न थाले । यसका लागि उनले बजारको राम्रो भाग रोज्ने गर्दथे जहाँ मानिसहरुको चहलपहल हुन्थ्यो, जहाँ मानिसहरुले सजिलै लुगाहरु देख्न सक्थे । सन् १९८९ सम्म आइपुग्दा ओर्टेगाले स्पेन भरी सयवटा आफ्नो जाराका शाखाहरु खोलिसकेका थिए ।
ओर्टेगा आफ्नो नितान्त निजीपनले गर्दा रहस्यमयी व्यक्तित्वका रुपमा चिनिएका थिए । उनी कहिल्यै पनि मिडियालाई अन्तरवार्ता दिने गर्दैनन् भने उनका कम्पनीले पनि उनको बारेमा अत्यन्त न्यून जानकारी दिने गर्दथ्यो । दशकौंसम्म ओर्टेगाको एउटा फोटोमात्र मिडियामा छाइरहेको थियो । कम्पनीले सन् १९९९ मा उनको कम्पनीले आफ्नो वार्षिकोत्सव मनाउने क्रममा मात्र उनको नयाँ फोटो देखियो ।
ओर्टेगा कुनै सामाजिक कार्यक्रमहरुमा पनि त्यति देखिँदैनन् । अत्यन्त साधारण शैलीमा कर्मचारीसँग प्रस्तुत हुने उनलाई अत्यन्त मृदुभाषी र असल मालिकका रुपमा उनका कामदारहरु उनको बयान गर्ने गर्छन् ।
करिब ८० वर्ष उमेर पुग्न लागेका ओर्टेगा विश्वको पाँचौं धनी भएर पनि उनमा कुनै पनि घमण्ड नआएको र उनको जीवन जिउने शैलीमा कुनै परिवर्तन नआएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।
सन् २००७ मा विश्वका आठौं धनीमा पर्न सफल ओर्टेगा अहिले पाँचौं धनीमा पर्न सफल भएका छन् ।
अहिले विश्वको ८८ देशका ६ हजार ५ सय शहरमा जाराका शाखाहरु रहेका छन् ।
उनी अझै पनि आफ्नो फुर्सदको समयमा गाउँको जग्गामा कुखुरा फार्मिङ गरेको हेर्न जान्छन् ।
उनको सफलताको कथाबाट हामीले कहाँबाट सुरु गर्यौं त्यो महत्वपूर्ण हैन तर हामी कहाँ पुग्छौं त्यो महत्वपूर्ण हो भन्ने जान्न सकिन्छ ।
प्रस्तुती : इरादा पहाडी, एजेन्सीको सहयोगमा
११ फागनु, २०७२, ३.००
वि.सं.२०७२ फागुन ११ मंगलवार १४:५५ मा प्रकाशित