
परमेश्वर बर्तौला
हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा आजदेखि हेटौंडा–४, हुप्रचौरमा राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७२ सुरु भएको छ । मेलाको आज उपप्रधान,परराष्ट्र, संघिय मामीला तथा स्थानीय विकास मन्त्री कमल थापाले उद्घाटन गर्नेछन् ।
संघ अध्यक्षसमेत रहनुभएका मेला मूल आयोजक समिति संयोजक राजकुमार न्यौपानेले मेलामा तीन सय ९२ वटा स्टल रहने जानकारी दीनुभएको छ । न्यौपानेका अनुसार १५ वटा विशेष, २१ वटा उद्योग, पाँच वटा बैंक तथा बीमा, छ वटा हस्तकला, ५० वटा जुत्ता तथा विविध, कृषि क्षेत्रका लागि २० वटा, विज्ञान प्रविधि क्षेत्रका २६ वटा र अटो क्षेत्रका १७ वटा स्टल छ । मेलाको एक प्रमुख आकर्षणको रुपमा रहेको वैष्णोदेवी मन्दिर, चिडियाघर र डाइनोसरको प्रतीक अवलोकनका निमित्त छुट्टै स्टल छ ।
मेलाका प्रमुख आकर्षणमा हेलिकोप्टरबाट सिटी टुर, एकल गायन प्रतियोगिता, हेटौंडा आइडल, पञ्चैबाजा प्रतियोगिता, बालमेला, मोबाइल तथा इलेक्ट्रोनिक्स सामान र खाना महोत्सव छन् ।
अध्यक्ष न्यौपानेले उद्योगी र उपभोक्ताबासीले सोझो सम्पर्क स्थापना गर्न, स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरणमा सहयोग गर्न, अन्य राष्ट्रमा बिक्री सुरु भएका उच्चतम प्रविधि हस्तान्तरण र औद्योगिक पर्यटनलाई बढावा दिएर सूचना केन्द्र सञ्चालनको उद्धेश्य राखी मेला आयोजना गरिएका जानकारी दिए ।
संघ महासचिव तथा मेलाका प्रवक्ता महेन्द्र राउतले मेला अवधिभर कृषि संसारका नाममा विशेष प्रदर्शनी, आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन, निकासीयोग्य वस्तुको पहिचान र प्रवद्र्धनमा सहयोग तथा एक गाउँ, एक उत्पादनअन्तर्गत् मकवानपुरको चिनारीका रुपमा रहेको किबी फल प्रवद्र्धन गर्ने उद्धेश्य मेलाले लिएको बताए ।
मेलामा जिल्ला विकास समिति र हेटौंडा उपमहानगरपालिकाले आयोजक तथा शिवम् सिमेन्टले मुख्य प्रायोजनको भूमिका निभाउने छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, घरेलु तथा साना उद्योग कार्यालय मेलाका प्रवद्र्धक छन् भने प्रायोजकमा एनसेल छ । ३० गतेसम्म हुने मेलालाई छिमेकी जिल्लाबाट समेत गरी करिब छ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ ।
करिब ८० लाख खर्चेर आयोजित मेलामा गाडीको शहरका रुपमा परिचित हेटौंडाका सवारीधनीबाट खरिद गरिने सवारीसाधनसहित करिब ५० करोड रुपियाँ बराबरको कारोबार हुने महासचिव राउतले जानकारी दिए ।
मेला अवधिभर स्थानीय होटलमा आवासमा २० प्रतिशत छुट उपलब्ध गराइने भएको छ । मेला अवलोकनका लागि विद्यार्थीलाई ५० प्रतिशत छुट व्यवस्था मिलाइएको छ ।
मेलामा आस्था राउत, भाग सानी भाग चलचित्रको टोली, बद्री पंगेनी, इन्दिरा जोशी, माण्डवी त्रिपाठी, रोमा न्यौपाने, प्रमोद खरेल, कोमल ओली, नवराज घोरासैनी, सुगम पोखरेल, दमन रुपाखेती, जिरे खुर्सानी टोली, ज्योति मगर, शिव परियार र सालु गौतमलगायत चर्चित कलाकारले मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाएको छ ।
मेला अवधिभर स्वास्थ्यकर्मीबाट निःशुल्क स्वास्थ्य परीक्षण र एम्बुलेन्सको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
२० फाल्गुन २०७२, १.००
वि.सं.२०७२ फागुन २० बिहीवार १३:१९ मा प्रकाशित