
काठमाडौं । भूकम्प पीडितको घर निर्माणमा ढिलाइ हुने कारण देखाउँदै सरकारले पीडितले सरकारी अनुदानमा बनाउने घर तोकिएकै नक्शाको बनाउनुपर्ने व्यवस्था हटाएको छ ।
आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले यसबारे जानकारी दिएका छन् । यसअघि सहरी विकास मन्त्रालयले तयार गरेको नक्शाकै आधारमा घर बनाउने प्रावधान राखेको थियो । यो व्यवस्था हटेसँगै भूकम्प पीडितले सरकारी अनुदान लिएपछि भूकम्प प्रतिरोधी तर आफुले चाहेजस्तो घर बनाउन पाउने भएका छन्।
भूकम्प प्रतिरोधी र सुरक्षित घरका लागि निर्धारित मापदण्ड (चेक लिस्ट) लाई आधार मानेर पहिलो किस्ताको रकम हस्तान्तरण गरिने पनि उनले सो क्रममा जानकारी दिएका छन् । भूकम्प पीडितले अनुदान लिएपछि घर निर्माण सुरु गर्दा सरकारले सार्वजनिक गरेको नक्शाजस्तै घर बनाउन पनि सक्ने, त्यसमा कोठा र तला परिवर्तन गरेर पनि बनाउन सक्ने र आफ्नै डिजाइनमा छुट्टै भूकम्प प्रतिरोधी घर पनि बनाउन सक्ने पनि उनले जानकारी दिए ।
२३ फागुन २०७२, ४.००
वि.सं.२०७२ फागुन २३ आइतवार १६:५० मा प्रकाशित