हाम्रो देश आफैंमा एउटा पर्यटन विश्वविद्यालय हो । तर यसलाई संस्थागत गर्ने र वैधानिकता दिने काम राज्य पक्ष र व्यवसायीले गर्न नसकेको अवस्था छ । मेरो बुझाईमा यहाँ धेरै विदेशीहरु पढ्न, थेसिस गर्न आउँछन् । उनीहरु यहाँ आउनुको पछाडी हाम्रो प्रकृति, वातावरण र सम्पदा देखेर आएका हुन् । र उनीहरुले सोध कार्य पुरा गरेर आफ्नै देश फर्कन्छन् । हामीले यसलाई संस्थागत गर्ने कुरा गरेनौं, राज्यले यस विषयमा ध्यान दिन सकेन । चीनले त्यो जमानामा ग्रेट वाल बनाउने, हङकङले नानलियन पार्क, ओसिएन पार्क बनाउने, स्वीजरल्याण्ड, थाइल्याण्ड, मलेसिया लगायतका मुलुकले पर्यटकीय गन्तब्यका निम्ति त्यत्तिका ठाउँ बनाउँदा हामीले कल्पनै गर्न नपाउने त हैन ।
मेरो भनाई र बुझाई केहो भन्दा विश्वमै राम्रो र नमुना पर्यटकीय विश्वविद्यालय नेपालमा बनाउनु पर्छ भन्ने हो । यो मेरो कल्पना हो । यो किसिमको योजना अघि सार्नु पर्छ । हामी सबै नेपाली मिलेर राज्यको ध्यानाकर्षण गराउनु पर्छ । यो संभव छ भन्ने मेरो बुझाई हो ।
मेरो कल्पनाको पर्यटन विश्वविद्यालय एउटा कोठाभित्र थुनेर सैद्धान्तिक ज्ञान घोकाएर हैन, खुल्ला वातावरणमा अनुभव संगाल्दै सिक्न पाउने खालको होओस । पढ्दा पढ्दै पर्यटनसंग जोडिएका सबै ज्ञान हासिल गर्न सकोस, त्यो किसिमको अनुभव प्राप्त गर्न सक्ने होओस् । नेपालको विषयमा उसको आँखाले देखेरै सिक्दा जहाँ गएर पनि वर्णन गर्न सकोस् ।
पर्यटकलाई चाहिने सबै किसिमको गतिविधि र विषय त्यहाँ समावेश हुनु पर्छ । कम्तिमा ५० वटा इनडोर आइस क्लाइम्विङ, कम्तिमा ५० वटा स्कि खेल्ने ठाउँ इनडोरमै, स्केटिङ गर्ने ठाउँ, आउटडोर रक क्लाइविङ गर्ने ठाउँ, हाइकिङ, ट्रेकिङ गाइडदेखि एक्सिपिडिसन गाइड, क्यानोनिङ, ¥याफ्टिङ, स्काइ फ्लाइङ जस्ता सबै किसिमका पर्यटनसंग सम्बन्धित सबै तालिम त्यस भित्र हुनु पर्छ ।
त्यहाँ संसारभरीको पर्यटन क्षेत्र कसरी चलेको छ, पर्यटन गुरु योजना कसरी निर्माण गरियो, जस्ता विषयहरु समेटेर विश्व विद्यालय खोल्नु पर्छ । यो किसिमको सिक्ने वातावरण नेपालमै बनाउनु पर्छ । त्यो विश्वविद्यालय नेपालको कुनै पनि कलेज पढ्ने विद्यार्थीले दुई महिना त्यहाँ गएर पढ्नै पर्ने नियम लागु गर्ने र त्यहाँ एउटा विषयमा लाइसेन्स लिएर निस्कनु पर्ने व्यवस्था गर्नु पर्छ ।
मेरो बुझाइमा एक लाख नेपालीमा पनि पर्यटनको विषयमा राम्रो ज्ञान छैन । यो विश्वविद्यालयको अवधारणा नै नेपालको कुल जनसंख्याको १० प्रतिशतले पर्यटन बारे ज्ञान हासिल गरेको हुनु पर्छ भन्ने हो । त्यसो हुन सके मात्र नेपालले पर्यटन क्षेत्रमा फड्को मार्न सक्छ । यही ज्ञानको माध्यमले अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन सकिन्छ । जसले पर्यटनको बारेमा ज्ञान हासिल गरेको छ, उसले निर्धक्क भएर आफ्नो देशको पर्यटकीय गन्तव्यको बारेमा बोल्न सक्छ । त्यसो हुन सके मात्र राज्यको नीतिबाट पर्यटन तान्न सकियो भन्ने सन्देश जान्छ । नभए अहिले नेपामा आएका पर्यटक विदेशी आफैंले गुगल सर्च गरेर, कुनै व्यक्तिसंग सम्बन्ध , सम्पर्क भएर आएका हुन् ।
राज्यको नीति नै पर्यटक ल्याउने किसिमको छैन
अहिले आठ लाख पर्यटक भित्रिएको कुरा गरेर हामी रमाइरहेका छौं । यत्तिमै हाम्रा नेता मन्त्रीहरु यस्तो देश, उस्तो देश भनेर भाषण गर्ने गर्छन् । हमी व्यवसायी पनि यत्तिमै रमाउनु हाम्रो लागि दुर्भाग्य हो । थाइल्याण्ड दुई करोड पर्यटक भित्र्याउँछ ऊ रमाउन सकेको छैन । चाइनाको एउटा प्रान्त (मुस्ताखाता भन्ने एउटा हिमाल भएको)ले वार्षिक दुई करोड पर्यटक भित्र्याउँछ ऊ रमाएको छैन ।
हाम्रोमा विश्वको सर्वाच्च शिखर सगरमाथा छ । आठ हजार मिटर भन्दा माथिका आठ वटा हिमाल छ, संसारको सबैभन्दा उचाइमा रहेको सुन्दर तिलिचो ताल छ, तिलिचो वरीपरी घुम्ने जो कोही चकपटक रुन्छ त्यहाँको सुन्दरता देखेर । त्यसलाई प्रचारप्रसार गर्न नसकेर, अन्तर्राष्ट्रिय बजारमा पु¥याउन नसकेर पछाडी परेको छ । हाम्रो सरकारी निकाय, संघसंस्थाका प्रतिनिधीहरुमा विदेश जाने र त्यहाँको बारेमा हेर्ने, त्यही नै प्रवद्र्धन होकी भन्ने बुझाइ रहँदै आयो । मैले, पर्यटन बोर्ड र टानमा बारम्बार भन्ने गरेको छु की विदेशमाम गएर दुई तीन करोड खर्च गर्नु छभने, त्यो रकम यहीँ आफ्नै मुलुकमा प्रवद्र्धन गरौं । विदेशका चर्चित ट्राभलर, क्लाइबरहरलाई ल्याएर ठुला ठुला सम्मेलन र महोत्सवहरु गरौं । यसो गर्दा उसको साथमा मिडिया, उसको परिवार, साथिहरु आउँछन् । ऊ एक जनालाई स्पोनसर गरिदिए पुग्छ, अरु पर्यटककै रुपमा आउँछन् । यसले यहाँको प्रचार र प्रवद्र्धन हुन्छ ।
हामी नेपालीसंग युरोपको मेलामा गएर पर्यटक ल्याउने त्यति ठुलो क्षमता छैन । त्यो किसमको शिक्षा हामीसंग छैन । त्यो किसिमको विज्ञ पनि छैन । त्यसैले पर्यटन विश्वविद्यालय नेपालमा आवश्यक छ । यो काम राज्यले जसरी पनि गर्नु पर्छ । यसका लागि ६०/७० अर्व खर्च लाग्न सक्छ । यो लगानी गर्ने पैसा नेपालमा आउने पर्यटन भिषा फिको जम्मा पाँच प्रतिशत रकम राज्यले विश्वविद्यालयलाई दिए पुग्छ । १०/१२ अर्व मोडेल तयार पार्न छुट्याए पुग्छ । यतिले त प्रोजेक्ट सुरु भै हाल्छ । राज्यले खास खास भौतिक संरचना बनाउने हो बाँकी संरचना त निजि क्षेत्रले नै बनाउन थाल्छन् । केवलकार, माउण्टेन बाइक सञ्चालनका लागि ठाउँ तयार गर्ने काम राज्यको हो ।
खुल्ला विश्वविद्यालय भनेको तालिम मात्र दिने हैन की त्यहाँ भित्र पाँचतारे होटेल र रिर्सोटहरु खोल्ने हो । कम्तिमा पनि ३/४ लाख पर्यटकलाई बस्ने खाने व्यवस्था भएका नयाँ पर्यटकीय शहर बनाउने । यसरी विकास गर्न सकिए संसारको नमुना बन्न सक्छ । तर त्यहाँ आवासीय घरहरु निर्माण हुनु भएन ।
ककनीदेखि नगरकोटसम्म पर्यटन विश्वविद्यालय उपयुक्त
काठमाडौंको वरीपरी हेर्दा नगरकोटदेखि ककनीसम्मको रेञ्ज यस्तो सुन्दर छ । पारी हिमाल वारी काठमाडौं शहर देखिन्छ । यो ठाउँ नै युरोपका उत्कृष्ट भनेर प्रचार गरिएका ठाउँ भन्दा सुन्दर छ । केही निकुन्ज, केही गुठीको जग्गा परेका होलान्, केही व्यक्तिका जग्गा होलान तर राज्यले चाह्यो भने संभव छ नि । यो किसिमको योजना बनाएर राज्य अगाडी बढे पुग्छ । यो रेन्जमा ककनीदेखि नगरकोट केवुलकार, माउण्टेन बाइक चलाउन मिल्ने र पर्यटकीय सिटी विकास गर्ने र खुल्ला विश्वविद्यालयका लागि आवश्यक संरचनाहरु निर्माण गरेर संसारका राम्रा प्रोफेसरहरुलाई यहाँ ल्याउन सक्छौं । यहाँ संसरभरीका पर्यटन विषयमा पढ्न चाहने विद्यार्थी ल्याउनु पर्छ । उनीहरु पनि पर्यटक नै हुन् । अहिले हामी हाम्रा छोराछोरीलाई राम्रो पढाउन विदेश पठाइरहेका छौं अव यसको विपरित हाम्रोमा पनि विद्यार्थीहरु आउन सकुन् । यसरी विकास गर्ने हो भने पर्यटन विश्वविद्यालय अत्यन्तै जरुरी छ । हाम्रोमा आठ लाख पर्यटक भित्रिँदा रमाउनु जरुरी छैन । हामीसंग यति धेरै संभावना छ, हाम्रो शिक्षाकै कमजोरीका कारण पछाडी परेका हौं ।
हाम्रोमा पढाई नभएको पनि हैन । घर भित्र वा बन्द कोठामा घोकाइने सैद्धान्तिक कुराले मात्र सबै ज्ञान हुन सक्दैन । त्यसैले व्यवहारिक शिक्षाका लागि खुल्ला विश्वविद्यालय आवश्यक छ । हाम्रो माटो र हावापानी सुहाउँदो र घुलमिल हुन सक्ने किसिमको शिक्षा दिन आवश्यक छ ।
हिमाली भू–भागमामा शाखा खोलौं
नेपाल आफै विश्वविद्यालय हो । यसलाई संस्थागन भएन भन्ने मेरो मान्यता हो । हिमाली भेगम यस्ता थुप्रै स्थलहरु छन् जहाँ स्कि, क्लाइविङ, क्यानोनिङ, आइसट्रेनिङ, रक क्लाइविङ गराउन सकिन्छ । त्यस क्षेत्रमा विश्वविद्यालयको शाखा बनाएर राम्रो तालिम दिन सकिन्छ ।
पोखराका व्यवसायीले हिमाली समथर भूमिमा पर्यटकीय सिटी बनाउनु प¥यो भनेको कुरा सञ्चारमाध्यममा पढ्न पाउँदा खुसी लाग्यो । मैले यो विषय पनि सोच्दै आएको कुरा हो । मुस्ताङ, मनाङको एरिया यति राम्रो छ, त्यहाँ हामीले केही गर्न सकेका छैनौं । त्यहाँ हिमाली शहर बनाउने हो भनेदेखि यति राम्रो कि विश्वको नमुना शहर बन्न सक्छ । यस्ता ठाउँहरु नेपालमा थुप्रै छन् । जहाँ विश्वविद्यालयको शाखाहरु खोल्न सकिन्छ ।
खासगरी पर्यटकलाई कसरी आकर्षित गराउने भन्ने कुरा हामीले योजना बनाउनु पर्छ । आन्तरिक पर्यटकलाई पनि पुर्वकालाई पश्चिम, पश्चिमकालाई पुर्व लैजाने काम गर्न आवश्यक छ । यसका निम्ति प्रत्येक जिल्लालाई वार्षिक एक करोड दिएर एउटा पर्यटकीय गन्तव्य बनाउन लगाउने हो भने पनि धेरै संरचना निर्माण हुन्छ ।
सरकारले यस्तो किसिमको विकास गर्न नक्सा कोरिदिए पुग्छ, निजि क्षेत्र त्यसको विकास र विस्तारमा दौडिइहाल्छ । म संखुवासभाको मान्छे डोल्पा जाँदा राज्यले कस्तो बनाएको रहेछ हेरौं न त भन्दै त्यहाँ पुग्न मन लाग्छ । त्यहा पर्यटकको चहलपहल सुरु भए पछि निजि क्षेत्र पनि जुर्मुराउन थाल्छ र खाने, बस्ने घुम्ने साधनहरुको जोहो गर्नतिर लाग्छन् । राज्यले यो किसिम नीति बनाउनु पर्छ । राज्यले वास्तवमा पर्यटन भनेकै बुझोको छैन नेपालमा । नबुझेकै कारणले पनि अहिले हामी कमजोर भएका हौं ।
नेताहरु भाषण गर्दा आर्थिक क्रान्ति भन्छन् । म त आर्थिक क्रान्ति भन्ने शब्द नै गलत ठान्छु । आर्थिक त विकास हो नि । उद्योग बचाउन क्रान्ति हुनु प¥यो आर्थिक विकास गर्नु प¥यो । व्यवसायिक क्रान्ति भए मात्र आर्थिक विकास हुन्छ । आर्थिक विकासले नै देशमा समृद्धि ल्याउँछ । विना योजना आर्थिक क्रान्ति भन्छन् । । राजनीति गर्ने मानिसले यस्तो गलत बोल्नु हुँदैन ।
नेपालमा पर्यटक नआएर हैन, हामीसंग राम्रो परिचालन र प्रवद्र्धन गर्ने हो भने, विमानस्थल ३/४ ठाउँमा हुनु प¥यो । यहाँ प्रशस्तै संभावना छ । पर्यटन मात्रै यस्तो उद्याग हो यसबाट मात्रै नगद आयात गर्छौं । अरु उद्योगबाट नगद आर्जन सकिन्न ।
नेपालमा यस्ता अरु पनि छन संभावना
नेपालमा धार्मिक पर्यटनको झन ठुलो संभावना छ । बुद्धको जन्मस्थल लुम्विनी । यसलाई सहि प्रचार गर्ने हो भने नेपालको पर्यटन क्षेत्र यसैले कभर गर्छ । संसार भरीका बुद्धिष्ट यहाँ आउँछन् । यसलाई हिमालदेखि तराईका भूभाग समेटेर मिनी लुम्विनी बनाउन आवश्यक छ । एयरपोर्टकै नजिक पनि मिनी लुम्विनी बनाउनु पर्छ । यस्तो खालको सन्देश दिन सके धार्मिक पर्यटनको लागि नेपाल असाध्यै राम्रो देखिन्छ ।
अहिले नेपालमा आउने पर्यटक खास गरेर पहाड चढेर हिमाल हेर्ने पर्यटक आउने गरेका छन् । यहाँ मनोरञ्जन गर्छु, होलिडे मनाउन नेपाल जान्छु भन्ने पर्यटक छँदै छैन । यहाँ आउने कुल पर्यटकको २० प्रतिशत त कुटनितिज्ञ नै हुन् । बाँकी पर्यटक पनि ९० प्रतिशत बढी पहाड चढेर हिमाल हेर्न आउँछन् । थोरै मात्र संस्कृतिसंग सम्बन्धित पर्यटक आउने गरेका छन् । त्यसलाई प्रचार गर्न धार्मिक पर्यटनमा बुद्धिष्ट पहिलो नम्बरमा आउन सक्छ । हामीसंग जे संभाव छ त्यो हेर्नु पर्छ ।
माउण्टेनियरिङ हाम्रो पर्यटकीय गहना
हामी माउण्टेनिरिङमा सफलता पाउन सक्छौं । संसारका जुनसुकै ठाउँमा नेपाली माउण्टेनियर्सको सम्मान छ । तर विडम्बना नेपालकै माउण्टेनियर्सहरुलाई सरकारले संरक्षण गर्न सकेको छैन । २१ पटक सगरमाथा आरोहण गर्ने आप्पा शेर्पा अहिले अमेरिकामा बस्छन्, ६ पटक आरोहण गर्ने लाक्पा डोल्मा शेर्पा अमेरिकामा बस्छन्, शेर्पा भएर हिमाल चढेका तेन्जिङ शेर्पाका सबै सालिकदेखि विभिन्न संघ संस्था भारतको दार्जलिङमा छ । अझै पनि देशमा नामुद आरोहीहरु छन्, तिनिहरु समस्यामा गुज्रिरहँदा पनि राज्यले देख्दैन ।
आङरिता शेर्पा यहीँ छन् । जसलाई विश्वभरी स्नोलियोपार्ड भनेर चिन्छन् । सरकाले विहान बेलुका एक छाक खाना दिन सकेको छैन उनलाई । बुढेसकालमा काम गर्न सक्दैनन् । उमेरमा संसारभरी नाम फैलाए, पैसा कमाउन सकेनन् । अहिले ति व्यक्ति बौद्ध तिर हिँडिरहेका हुन्छन् । उनलाई राज्यले देखेकै छैन । उनलाई अमेरिकाले लैजान नचाहेको हैन । उनी आफैं जान मानेनन् ।
मेरै परिवारमा मेरो दुई जना दाजु मध्य एक जना संसारमा १४ वटा आठहजार मिटर भन्दा माथिका हिमाल माध्ये पहिलो एसियन १४औं पिक समिटर हुन् । मेरै दाई योङग्यस्ट १४ औं पिक समिटर पनि हो । एउटा दाइले १४ वटा हिमाल चढ्ने पहिलो साउथ एसियन हुन सफल हुनुभयो मिङमा शेर्पा । अर्को संसारको १४ वटा हिमाल ३०÷३१ वर्षको उमेरमा चढेर सबैभन्दा कान्छो आरोहीको नाम दर्ज गर्नु भयो दावा शेर्पाले । हामी त परिवार मिलेर व्यापार ग¥यौं र चलिरहेका छौं । उल्टै दुई तीन सय जनालाई रोजगारी पनि दिएका छौं । तर राज्यले अहिलेसम्म यो प्रकारको मान्छे पनि यहीँ छन् है भनेर कहीँ खोजेको छैन । उहाँहरु फष्ट ब्रदर इन द वल्र्ड पनि हो । एउटै आमाबाबुले जन्माएको पहिलो दाजुभाई आरोही । न्याशनल जियोग्राफीमा लेखिएको छ, विदेशका विभिन्न म्यागजिनहरुमा लेखिएको छ तर नेपालमा चाहीं छैन ।
यहाँ पर्यटन प्रवद्र्धन गर्ने हो भने माउण्टेनियर्सलाई चिन्नु पर्छ । माउण्टेनियर्स नै नेपालको किङ हो पर्यटनमा । एक पटक सगरमाथा चढ्दा ऊ एक्लै चढ्दैन । उसले दुई तिन जना विदेशीलाई संगै चढाएको हुन्छ । त्यो विदेशी एक जनाले राज्यलाई ११ हजार डलर रोयल्टि तिरेको हुन्छ । उसले ३०/४० हजार डलर लिएर यो देशमा खर्च गर्छ । यो सबै गराउने आरोहीको यहाँ कुनै लेखा जोखा छैन । यो देशको गहना भनेकै आरोही हो ।
प्रस्तुती : रामेश्वर कार्की
(शेर्पासंग कुराकानीमा आधारित) २४ फागुन २०७२ / ७:५७:३९
वि.सं.२०७२ फागुन २४ सोमवार २०:०० मा प्रकाशित