
रौतहट । पर्याप्त मात्रामा उखु नभएपछि श्रीराम सुगर मिल्स बन्द भएको छ ।
किसानले उखु नदिएपछि गत वर्ष २१ लाख क्विन्टल क्रसिङ गरेको चिनी मिल्सको उत्पादन बन्द भएको हो । यस वर्षको फागुनसम्म यो कारखानाले नौ लाख क्विन्टल मात्रै उखु क्रसिङ गर्न सकेको छ ।
विगतका वर्षहरुमा जेठ महिनासम्म चल्ने चिनी मिल्स अहिले उखुको अभावमा बन्द गर्नुपरेको मिल्सका उखु प्रबन्धक सियाराम साहले बताए ।
गत वर्षको बाँकी रकम भुक्तानी नगरेको भन्दै कृषकले अन्य मिल्सलाई उखु बिक्री गरेपछि यस्तो समस्या आएको हो । गत मङ्सिर २५ गतेदेखि उखु क्रसिङ गर्न सुरु गरेको मिल्सले चालु आर्थिक वर्षमा २० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको थियो ।
गत वर्षको किसानको रु ४५ करोड भुक्तानी समयमै नदिएका कारण किसानले अन्यत्र उखु दिएका हुन् । यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल रु ४४८ तोकिएको थियो ।
उक्त मिल्सले तत्कालै भुक्तानी नदिएका कारण अन्य मिल्सलाई उखु बिक्री गरिएको र श्रीराम मिल्समा उखु अभाव भएको उखु उत्पादक सङ्घ रौतहटले जनाएको छ ।
वि.सं.२०७२ फागुन २५ मंगलवार १८:१० मा प्रकाशित